इम्पेरियल वर्ल्ड स्कुलमा आयोजित महोत्सवमा कविता, नेपाली कथा र अंग्रेजी कथा संग्रह विमोचन हुनुका साथै विविध साहित्यिक गतिविधिहरू सम्पन्न भए ।
काठमाडौँ — काठमाडौंको हात्तिगौंडामा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो दुई दिने महोत्सवमा कला र साहित्यमाथि विभिन्न अन्तरक्रियात्मक कार्यक्रम समावेश छ ।
इम्पेरियल वर्ल्ड स्कुलमा आयोजित यो महोत्सवमा विद्यार्थीहरूद्वारा सिर्जित तीन साहित्यिक कृतिहरू-नेपाली कविता संग्रह ‘शब्द बगैँचा’ , नेपाली कथासंग्रह ‘उडान कथा’ र अग्रेजी कथासंग्रह ‘माई पेन माई वर्ल्ड’को विमोचन भयो । ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ शीर्षकको छलफलमा लेखकहरू नयनराज पाण्डे, केशव दाहाल, बिना थिङ तामाङ र कुमारी लामाले साहित्य कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा विमर्श गरे ।
महोत्सवमा कवितादेखि कथा वाचनसम्म सिर्जनात्मक गतिविधिहरू भए । साहित्यकार अभय श्रेष्ठले ‘काव्य साधना’मार्फत कविताको गहिराइ प्रस्तुत गर्दा नीलम नीहारिका कार्कीले ‘आवाजको जादु’ शीर्षकमा वाचन कलाको महत्वबारे प्रस्तुति दिए ।
महोत्सवको दोस्रो दिन शुक्रबार कला र साहित्यका विविध विधामा १२ अन्तरक्रियात्मक छलफल हुँदैछ ।