Skip to main content

इम्पेरियल वर्ल्ड स्कुलको ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ भव्य रूपमा सम्पन्न

| Media Coverage

इम्पेरियल वर्ल्ड स्कुलले आयोजना गरेको तेस्रो संस्करणको ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’ भव्यताका साथ सम्पन्न भएको छ। महोत्सवले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकसम्म सीमित नराखी सिर्जनात्मक सोच, बौद्धिक विमर्श र अभिव्यक्तिको अवसर प्रदान गरेको थियो। दुई दिनभरि कविता वाचन, कथा लेखन, साहित्यिक छलफल, र विभिन्न सिर्जनात्मक सत्रहरू सञ्चालन भए, जसले विद्यार्थीहरूमा लेखन र अभिव्यक्तिप्रति उत्साह र आत्मविश्वास बढाएको छ।

बिहीबार बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले दीप प्रज्वलन गर्दै महोत्सवको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवस प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार दिवसले कला र साहित्यले विद्यार्थीलाई संवेदनशील, सिर्जनशील र संस्कारित बनाउने उल्लेख गर्दै नयाँ पुस्तालाई मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका महत्वपूर्ण हुने बताए। दिवसले आफ्ना मौलिक सिर्जनासँग जोड्न यस्ता महोत्सवको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले साहित्यिक सिर्जनशीलतालाई प्राथमिकता दिनु भनेको मानवीय मूल्य र चेतनालाई सम्मान गर्नु हो भन्दै इम्पेरियलले थालेको सिर्जनात्मक अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले विद्यालयको प्रशंसा गर्दै भन्नुभयो, “इम्पेरियल वर्ल्ड स्कुलले केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सिर्जनात्मक क्षमता विकासमा गरेको लगानीले भविष्यमा देशलाई सक्षम र जिम्मेवार जनशक्ति दिने विश्वास जगाएको छ।”

विद्यालयका प्रिन्सिपल जुनिता कार्कीले महोत्सव विगत तीन वर्षदेखि विद्यार्थीहरूमा कला र साहित्यको महत्व बुझाउने र सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले निरन्तर आयोजना हुँदै आएको जानकारी दिनुभयो। उहाँले महोत्सवमार्फत विद्यार्थीहरूलाई सिर्जनशील सोच र अभिव्यक्तिको सशक्त मञ्च प्रदान गर्न सकिएको बताउनु भयो ।

महोत्सवको विशेष आकर्षणका रूपमा इम्पेरियलका विद्यार्थीहरूले सिर्जना गरेका तीन पुस्तकहरू—नेपाली कविता संग्रह ‘शब्द बगैंचा’, नेपाली कथा संग्रह ‘उडान’, र अंग्रेजी कथा संग्रह ‘माई पेन माई वर्ल्ड’—को औपचारिक विमोचन गरिएको थियो। यसले विद्यार्थीहरूमा लेखन संस्कारको विकास र आत्मविश्वास अभिवृद्धि गरेको छ।

पहिलो दिन संचालित सात वटा सत्रहरूमा कवितादेखि कथा वाचनसम्म विविध सिर्जनात्मक कार्यक्रम समावेश थिए। प्यानल छलफल ‘साहित्य : पुस्ताबाट पुस्तासम्म बोलिरहने जीवित स्वर’ विशेष आकर्षण रह्यो, जसमा लेखक र पत्रकारहरूले साहित्य कसरी पुस्तान्तरण हुँदै समाजलाई जीवित राख्छ भन्ने विषयमा गहिरो विमर्श गरेका थिए ।

महोत्सवको दोस्रो दिन शुक्रबार १२ वटा अन्तरक्रियात्मक सत्र र सिर्जनात्मक गतिविधिहरू सञ्चालन भए, जसले विद्यार्थी र अभिभावकमा कला र साहित्य प्रति नयाँ उत्साह र लगाव जगाएको थियो । छलफल सत्रहरु बाहेक विद्यार्थीद्धारा अन्य सिर्जनात्मक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो । महोत्सवको अवलोकन तथा विभिन्न सत्रहरूमा सहभागिता जनाउन दर्जनौँ अन्य विद्यालयका विद्यार्थीहरू पनि इम्पेरियल परिसर पुगेका थिए।

International World School Advertisement