सहयोग
सुबर्ण तामाङ
एकादेशमा गाउँ थियो । त्यो गाउँ सुन्दरताले भरिएको थियो । त्यो गाउँमा धेरै मानिसहरु थिए । ती मानिसहरुमध्ये एकजना रामेन्द्र नाम गरेको किसान पनि थियो । रामेन्द्रले अन्न तथा फलफुलहरु उब्जाएर बेच्ने काम गथ्र्याे । यसबाट उसले महिनाभरिमा टन्नै पैसा कमाउँथ्यो ।
एकदिन ऊ आफ्नो खेतमा लटरम्म फलेका सुन्तला टिपेर बजारमा बेच्न पर्यो भनेर गयो । त्यहाँ पुगेपछि रामेन्द्र छक्क पर्यो । उसको बारीका धेरै सुन्तलाहरु चोरी भएछन् । उसले जताततै नजर दौडायो तर कतै पनि आफ्नो फलफुलहरु देखेन । चार पाँचवटा बोटमा मात्र थोरै सुन्तलाहरु बाँकी थिए । रामेन्द्र निकै आत्तियो । उसको वर्षभरिको मेहनत पानी बराबर भएको थियो । उसले निकै ठाउँमा खोजी गर्यो तर केही पत्तो लागेन ।
उसले टाढाबाट एउटा सानो सानो मानिसले केही लिएर भाग्दै गरेको देख्यो । त्यतिखेर उसले त्यो मानिसलाई चिन्न सकेन । ऊ निराश भएर घर फर्कियो । अब उसले निराश भएर बस्नु हुँदैन मैले फेरि केही उपाय लगाउनुपर्छ भन्ने सोच्यो
भोलिपल्ट ऊ आफ्नो बारीमा गएर बाँकी भएका सुन्तलाहरु हेर्न थाल्यो । रामेन्द्रले यही बाँकी भएका सुन्तलाहरुबाट चोर पत्ता लगाउँछु भन्ने सोच्यो । यो त निकै अचम्म लाग्दो कुरा भयो । मैले यो कुरा पत्ता लगाउनै पर्छ । यति भनेर ऊ रुखको टोड्कोमा लुकेर बस्यो । रात निकै छिप्पिसक्दा पनि उसले सोचेजस्तो कुनै चोर त्यहाँ आएन । तर रामेन्द्रलाई पत्ता लगाउनु थियो कि यो के भइरहेको छ । निकै समय भइसक्दा पनि केही कुराको सुईको नपाएपछि ऊ घर जाने तर्खर गर्न थाल्यो ।
त्यति नै बेला अचानक केही कुराको आवाज आउन थाल्यो । उसले आवाज आएतिर हेरिरह्यो । एकछिनपछि त्यहाँ एउटा बच्चा आयो । उसले त्यहाँ बाँकी भएका सुन्तलाका दानाहरु टपाटप टिप्न थाल्यो ।
रामेन्द्रले दौडेर गएर त्यस बच्चालाई भन्यो, “मेरो बारीका सुन्तलाहरु किन चोर्यौ ? यसमा मेरो कति धेरै मेहनत परेको छ तिमीलाई के थाहा ?”
त्यसपछि त्यो बच्चाले रुँदै भन्यो, “म गरिब छु मेरा आमाबुबा गाडी दुर्घटनामा परेर बिते । म दुःखी छु । धेरै दिनदेखि मैले केही खान पाएको छैन । मैले तपाईंको बारीका सुन्तलाहरु लगेर बजारमा बेचेँ भने केही पैसा पाउँछु र त्यसैबाट मेरो गुजारा चल्छ भनेर मैले हजुरका बारीबाट सुन्तलाहरु चोरेको हुँ । मलाई माफ गर्नुहोला ।” यो कुरा सुनेर रामेन्द्रलाई निकै दुःख लाग्यो ।
उसले त्यो बच्चालाई भन्यो, “हेर बाबु चोरी गर्नु राम्रो काम होइन । बरु तिमीले मागेको भए म तिमीलाई मेरा सबै फलफुलहरु दिन्थेँ । मलाई तिम्रो स्थिति देखेर निकै दया लाग्यो । म तिमीलाई मेरो घरमा आफ्नो छोरा बनाएर राख्छु । तिमीले पनि मलाई खेतबारीमा सहयोग गर्नुपर्छ ।”
त्यसपछि त्यो बच्चा निकै खुसी भयो । ऊ रामेन्द्रको घर जान राजी भयो ।
समय बित्दै गयो रामेन्द्रले पालेको त्यो केटो बिस्तारै जवान हुँदै गयो । साथसाथै ऊ निकै ज्ञानी, परिश्रमी र अनुशासित पनि हुँदै गएको थियो ।
उसले दुःखमा परेका हरेक मानिसहरुलाई सहयोग गर्ने गथ्र्यो । उमेर सानो भएपनि ऊ निकै परिपक्क भएको थियो । रामेन्द्रको घरको सबै जिम्मेवारी उसैले उठाएको थियो । उसले सानैदेखि दुःख बुझेको थियो । उसलाई कुनै दुःखी असहाय मानिस देख्यो भने सहयोग गर्न मन लागिहाल्थ्यो । यही स्वभावले उसलाई एकदिन समाजसेवी बनायो ।
उसले आफूले परिश्रम गरेर कमाएको सबै सम्पत्ति समाजसेवामा लगायो । उसको समाजसेवाको चर्चा जताततै फैलियो । उसको जीवन सबैको लागि प्रेरणाको स्रोत बनेर रह्यो ।