छट्टु गुरू र सोझो भक्त
सम्राट जङ्ग खत्री
एकादेशमा एकजना गुरु र उनको प्रिय भक्त थिए । उनीहरु सहरी क्षेत्रभन्दा धेरै टाढा बस्थे । ती गुरु निकै चर्चित र चतुर थिए ।
गुरु जता जान्थे उनले निकै ठुलो सम्मान पाउने गर्थे । उनको एउटा बफादार र असल भक्त पनि थियो । भक्त आफ्नो गुरुलाई भगवान भन्दा पनि धेरै ठूलो मानिस सोच्थ्यो । भक्त भने धेरै असल, ज्ञानी, र इमानदार स्वभावको थियो भने गुरु निकै बदमास, चालाख थिए । उनले आफ्नो चाल चतुर्याइँले गर्दा धेरै मानिसलाई उल्लु बनाएको थियो । तर मानिसहरु उसको त्यो चालबाट बेखबर थिए ।
गरुले आफ्नो भक्तलाई पनि उल्लु बनाएको थियो । ऊ आफूलाई निकै महान विद्वान सोच्थे । ती गुरुले आफ्नो भक्तलाई काममा निकै खटाउँथे । काम गराएपछि पारिश्रमिक दिने बेलामा चाहिँ अनेक बाहना बनाउँथे । कहिले काहीँ भक्तलाई कोही मानिसको घर गई चोरी गर्ने वा बाटो हिँडिरहेको बटुवाहरुका महङ्गो सामान चोर्ने काम गर्न अराउँथे ।
उनले त्यो सोझो भक्तलाई प्रयोग गर्दै हिँड्थे । तर आफू भने कहिले पनि अगाडि आउँदैनथे । त्यसैले मानिसहरुलाई उनले सजिलै भ्रममा पारेका थिए । ती छट्टु गुरूले धेरै सोझा मानिसहरुलाई प्रयोग गर्दै यस्ता अनैतिक काम गर्दै आएका थिए । ती सोझा निर्दोष भक्तहरुको प्रयोग गरी नराम्रो काम गराउँथे र पछि उल्टै आफ्नै भक्तहरुलाई फसाउने गर्दथे ।
उनले आफ्नो नजिकको भक्तलाई पनि आफ्नो नियन्त्रणमा लिएर त्यस भक्तबाट नराम्रा काम गराउने विचार गरे । भक्तलाई भने आफ्नो गुरुले राम्रो काम लगाएर उज्वल भविष्य बनाउँछन् भन्ने लागेको थियो तर गुरुले भक्तको भविष्य अन्धकारतर्फ मोडे ।
एकदिन भक्त आफ्नो बिहानीको नित्यकर्म सकेर गुरुको आश्रममा गयो । छट्टु गुरूले आश्रम पनि हजारौँ मानिसहरुको धनमाल चोरी गरेर बनाएका थिए । आश्रममा प्रवेश गर्दा भक्तले आफ्नो गुरुले अरु मानिसहरुको हात हेरेर भविष्य बताइरहेको देख्यो । सबैजना निकै खुसी देखिन्थे ।
धेरै समयपछि उनको आश्रममा मानिसहरु आफ्नो भविष्य हेर्न आएका थिए । गुरुले झुटो कुरा पनि निकै बनिबनाउ गरेर भन्दै थिए । अरू भक्तजनहरु भने प्रसन्न भएर उनको कुरा विश्वास गर्दै थिए । गुरु भने ती मानिसहरुसँग धेरै भन्दा धेरै रकम कसरी असुल्न सकिन्छ भन्ने दाउ हेरिरहेका थिए । बिस्तारै आश्रममा मानिसहरुको भिड पातलिँदै गयो । गुरु भने भक्तजनहरुले दिएको पैसालाई आफ्नो थैलीमा राख्न व्यस्त थिए । यी सबै दृश्यहरु भक्तले पर बसेर हेरिरहेको थियो ।
ती छट्टु गुरुले आफ्नो भक्तलाई देखेर एउटा नयाँ काम गर्न लगाउने विचार गरे । गुरुले आश्रम नजिक एउटा धनी व्यक्ति बसेको थाहा पाएका रहेछन् । यो कुरा थाहा पाएपछि ती छट्टु गुरुको मनमा पाप पलाएको थियो । उनले आफ्नो भक्तलाई त्यो घरमा गएर एउटा हिराको औँठी चोरी गर्ने काम दिए ।
भक्तलाई गुरुको त्यस्तो कुरा मन परेको थिएन तर गुरुको अन्धभक्त भएको कारणले गर्दा त्यो कुरा गर्न तयार भयो । धनी मानिसको घरमा चोरी गर्दा कतै आफू फसिन्छ कि भन्ने सोच पनि उत्पन्न भयो ।
भक्त डराई डराई त्यो धनी व्यक्तिको घरमा चोरी गर्न गयो । उसलाई एक मनले त यो गलत काम नगरौँ कि भन्ने जस्तो पनि लाग्यो तर आफ्नो गुरुको आज्ञा मान्नुपर्छ भन्ने सोच्यो । त्यसपछि ऊ त्यस धनी मान्छेको घरभित्र छिर्यो । उसले बिस्तारै दराज खोल्यो र थैली भित्रबाट हिराको औँठी झिक्यो । त्यसपछि ऊ सरासर गुरुको आश्रममा गएर त्यो औँठी दियो ।
त्यसको भोलिपल्ट उसले आश्रम अगाडि बसेर त्यो धनी मान्छे रोइरहेको देख्यो । वरिपरि धेरै मानिसहरु थिए । त्यो धनाड्य व्यक्ति भने मेरो बुबाको अन्तिम चिनो अब रहेन भन्दै छाती पिटीपिटी रोइरहेको थियो । यी सबै कुराहरु हेरिरहेको भक्त आफूले गरेको गल्ती सम्झिएर निकै दुःखी भयो । ऊ त्यस धनाड्यको अगाडि गयो र आफ्नो गल्ती स्वीकार गर्यो ।
त्यहाँ बसेका सबै मानिसहरु आश्रमभित्र गए र खोज तलास गर्न थाले । नभन्दै उनीहरुले आश्रमभित्र त्यस धनाड्य व्यक्तिको हिराको औठी फेला पारे । त्यसपछि बल्ल उनीहरुलाई छट्टु गुरुको कर्तुत थाहा भयो । सबै मिलेर ती छट्टु गुरुलाई पुलिसको जिम्मा लगाइदिए ।