सोच
गृष्मा कर्माचार्य
उपत्यकाको पहाडी छेउमा ‘सानो गाउँ’ नामको गाउँ छ । उपत्यका नजिकै रहेका अन्य गाउँहरुको तुलनामा यो धेरै सुन्दर तर दुर्गम छ । यो गाउँ आफ्नो प्राकृतिक सौन्दर्य र वातावरणको लागि प्रसिद्ध रहेको छ । त्यो गाउँका मानिसहरु फरक संस्कृतिलाई आत्मसात् गर्थे । यो गाउँ विभिन्न रङ्गीन फूलहरुको नर्सरी जस्तै थियो । त्यो गाउँमा सोनाम र रवीन्द्र मिल्ने साथी थिए ।
सोनाम पहाडमा बस्थे भने रवीन्द्र तल्लो फाँटमा बस्थे । गाउँको प्रमुख समस्या भनेको नै दैनिक जीवनका लागि खानेपानीको हो । गाउँका मानिसहरु एक घण्टा हिँडेर पानी जम्मा गर्ने गर्दथे । परिवारका लागि पानी बोक्न पनि विद्यार्थीले विद्यालय छोड्नुपर्ने अवस्था थियो ।
एकदिन दुईजना साथीहरुले गाउँलेहरुका लागि माथिको खहरे खोलाबाट पानीको पाइपलाइन जोड्ने योजना बनाए । त्यसका लागि उनीहरुले गाउँलेको बैठक बोलाए । पाइप र आवश्यक सामग्री किन्न पैसा जुटाएर काम गर्ने सहमति गरे । सबै गाउँलेहरु पानी ल्याउन सफल भए र उनीहरुले गाउँमा बाजागजा बजाएर उत्सव पनि मनाए ।
पहाड र तल्लो फाँटका बासिन्दाले समान मात्रामा पानी पाउने गरी सन्तुलित रूपमा पाइपलाइन वितरण गरिएको थियो । यो सफलतासँगै सोनाम र रवीन्द्रले फेरि गाउँमा अर्थतन्त्रको विकासका लागि पर्यटन व्यवसायको थालनी गर्ने योजना बनाए । यसका लागि गाउँमै होमस्टे सुरु गर्ने योजना बनाए । उनीहरुसँग पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्य छँदै थियो । अहिले पानीको सुविधा पनि भइसकेको थियो ।
यसैगरी उनीहरुको होमस्टे खोल्ने योजना पनि पूरा भयो । गाउँका हरेक घरमा पर्यटकको आगमनले गाउँलेको आम्दानी र जीवनस्तर बढेको थियो । सोनाम र रविन्द्रप्रति सबै गाउँले खुसी र आभारी भए । सोनाम बेलायतको रिटायर्ड आर्मी हुन् ।
एकदिन सोनामलाई बेलायती सेनाबाट फोन आयो । सोनामको विगतको राम्रो व्यवहारले गर्दा पुरानो कम्पनीले राम्रो तलब र सुविधा दिने भयो र उनको सम्पूर्ण परिवार बेलायतमा बसाइँ सर्नु पर्ने भयो ।
सोनमले आफ्नो घर बेच्ने निर्णय गरे । अर्को गाउँको राजु नामको केटाले उनको घर किन्यो । राजु सोनाम जस्तो दयालु, इमानदार र सहयोगी थिएन ।
राजु स्वार्थी स्वभावको थियो । एक दिन उसले आफ्नो घरमा मात्र पानी बढाउने सोच बनायो । यसो गरेमा उसले धेरै पर्यटकलाई राख्न सक्थ्यो । एक रात राजु सामानहरु लिएर पानीको मुहानमा गयो र पानीको सबै स्रोत उसको घरतिर फर्कायो । राजुको घरमा धेरै पानी आउन थाल्यो । यसले गर्दा उसको घर अरुको घरभन्दा सफा र सुन्दर देखियो । जसका कारण राजुको घर पर्यटकको पहिलो रोजाइ बन्न थाल्यो । राजु छोटो समयमा धनी भयो भने तल्लोफाँटका गाउँलेले खानेपानीको अभाव झेल्नुपर्यो ।
राजुको कामले तल्लो फाँटका गाउँलेको कृषि व्यवसाय र होमस्टे व्यवसाय नराम्ररी प्रभावित भयो । राजुको व्यवहारका कारण दुई गाउँबिच दुस्मनी बढ्यो ।
एकदिन रवीन्द्रले तल्लो फाँट क्षेत्रमा खानेपानीको अभावको कारण पत्ता लगाउने विचार गरे र पानीको मुहानतिर गए । उनले सबै पानी पहाडतिर लगेको कुरा पात्तो लगाए । त्यसपछि सबै गाउँलेलाई बैठक बोलाएर सबै पानी आफ्नो घरतिर फर्काउने व्यक्ति फेला पारेको कुरा गरे । उनले आज मध्यरातसम्म खानेपानीको समस्या समाधान नगरे दुई दिनभित्र गाउँलेहरुले उनको घर भत्काइदिनेछन् भनी समाचार पठाए ।
यस्ता कुरा सुनेर राजुको शरीर पसिनाले भिज्न थाल्यो र पहिले जस्तै पानीको व्यवस्था गर्ने निधो गर्यो । उसले मध्यरातमा गएर सबैलाई बराबर पानी उपलब्ध गरायो । पानीको मुहानमा पर्खिरहेका रविन्द्र र केही गाउँलेहरुले राजुलाई समाते । रविन्द्रको चलाखीले काम गर्यो ।
त्यसपछि राजुले सबै वास्तविकता बतायो र गाउँलेले दिने सजाय भोग्न तयार भयो तर गाउँलेहरुले उसलाई सजाय दिएनन् र धेरै बेरसम्म कोही नबोलेकोले राजु दुःखी भयो । उसले आफूले गरेको गल्ती र गाउँलेहरुलाई परेको समस्याको महसुस गर्यो।
त्यसपछि राजुले गाउँमा असल मानिसको उदाहरण बन्ने निर्णय गर्यो । उसले वृद्धवृद्धाका लागि पार्क बनाएर राम्रो कामको थालनी ग¥यो । गाउँको खुसी फेरि फर्कियो ।