सङ्कल्प
श्रृषा पन्त
“अनन्या, त्यहाँ परम्परा र संस्कृतिको धेरै ख्याल राख्ने चलन छ । यो काठमाडौंँ जस्तो विकसित ठाउँ पनि होइन । तिमीलाई त्यहाँ बस्न पनि गाह्रो हुन्छ होला । तीन महिनासम्म कसरी बस्छ्यौ ?“
अनन्याकी आमा आयुषाले चिन्ताका साथ छोरीलाई सम्झाइन् । अनन्या भने आमाको कुरालाई वास्ता नगरी आफ्नो सूटकेसमा कपडा हालिरहेकी थिई । आफूले गाह्रो हुँदैन भन्दा पनि कति पिर परेको होला भनेर मनमनै सोचिरहेकी थिई । ऊ आफ्नो गाउँ जान लागेकी थिई । उसले कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी थिई । उसमा कानुन सम्बन्धि नयाँ कुरा जान्ने जिज्ञासा पलाइरहन्थ्यो । त्यसैले उसले कानुन पढेकी थिई ।
अनन्याले आमाले लिएको चिन्ता कम गर्न भनी, “आमा, मलाई गाह्रो भयो भने म फर्की हाल्छु नि । हजुर त म त्यहाँ सधैंका लागि बस्न जान लागेको जस्तै गर्नुभएको छ । धेरै नआतिनु न । हजुरबाबा र हजुरआमाको घरमा बस्ने हो । मलाई के पो गाह्रो होला र ? सधैं हजुरबा र हजुरआमा नै हाम्रो घर आउनु हुन्छ । हजुरआमाले चिठी लेखी मलाई त्यहाँ माघमा लाग्ने मेलाका लागि बोलाउनु भएको छ । त्यो मेला देखाएर मात्र पठाउनुहुन्छ रे । हजुर मलाई जान दिनुहोस् । म छिट्टै फर्केर आइहाल्छु । अब, धेरै कुरा नगरौं । मलाई त्यो रातो स्वीटर दिनु न । त्यहाँ धेरै जाडो हुन्छ रे ।” छोरीको कुरा सुनेर आयुषा केही बोलिनन् । छोरीको स्वीटर उसलाई थमाउँदै भनिन्, “ल हस् त ! राम्ररी गएर आऊ है छोरी, त्यहाँका मान्छेहरुको सोच विचार पनि अलि पुरानो छ । आफ्नो पढाइका बारेमा त्यहाँ नभन्नू नि ।”
अनन्याले भनी, “केही कुरा ठिक छैन भने त भन्नु परी हाल्यो नि” ।
आयुषाले चिन्तित हुँदै, “छोरी, त्यो गाउँ हो । त्यहाँका मान्छेहरुको सोच अहिले पनि रुढीवादी नै छ । तिमीले भनेर त्यहाँका मान्छेहरुको सोच बदलिँदैन है, अनन्या ।“
अनन्याले हाँस्दै भनी, ’त्यो त हेरुम्ला, मामु ।”
अर्को दिन बिहानै उठेर ऊ काठमाडौंको नयाँ बसपार्क पुगी । उसको गाउँमा विमानस्थल नभएका कारण बसमा जानु पथ्र्यो । ऊ बस नचढेको धेरै भएको थियो । ऊ आफ्नो गाउँ पनि धेरै सानी हुँदा गएकी थिई । त्यसैले उसलाई केही थाहा थिएन ।
बाटो एकदमै नराम्रो थियो र खाना खाने ठाउँ पनि राम्रो थिएन । गाडीको भिडले गर्दा तीन घण्टासम्म बाटो पनि बन्द भयो । बाटो भरी धुलो र धुवाँ थियो । दिउँसो पाँच बजे पुग्नु पर्ने अनन्या राति साढे ८ बजे आफ्नो गाउँ पुगी । दिनभरि बसमा बसेकाले र खाना पनि नखाएकाले उसको टाउको दुखिरहेको थियो ।
ऊ बस पार्कमा आफ्नो हजुरबुबालाई खोज्न थाली । धेरै बेर खोज्दा पनि उसले भेटिन । त्यही बेला, एकजना मानिसले उसलाई बोलाउनु भयो । उसले ती मान्छेलाई चिनिन ।
ती मान्छे अगाडि आएर अनन्यालाई भन्नुभयो, “तिमी अनन्या होइनौ ? पुष्पराज दाइकी नातिनी ? तिमीले मलाई चिन्दिनौ बा । म पुष्पराज दाइको छिमेकमा बस्छु । उहाँ तिमीलाई चार बजे देखि नै कुरिरहनुभएको थियो तर राती साढे छ बजेसम्म बस नआइपुग्दा मैले उहाँलाई फिर्ता जानु भनेँ । म यतै बस पार्कमा काम गर्छु ।” अनन्या हिच्किचाई तर छिमेकी बाको पछि पछि लागी ।
अनन्याले सोधी, “बा, हजुरका छोराछोरी छैनन् ? हजुर हेर्दा त मेरो बुबा भन्दा ठुलो देखिनुहुन्छ ।
छिमेकी बाले भन्नुभयो, “हो अनन्या मेरो एउटा छोरो र एउटा छोरी छन् । छोरो ३० वर्षको छ । अहिले अस्ट्रेलियामा निजी कार्यालयमा जागिर गर्छ । निकै पढेलेखेको पनि छ ।”
अनन्याले सोधी, “अनि हजुरकी छोरी?“
छिमेकी बाले उत्तर दिँदै भन्नुभयो, “मेरी छोरी अस्ति भर्खरै १६ वर्षकी भई । त्यसैले अहिले उसको बिहेको कुरा चलिरहेको छ । छिट्टै बिहे हुन्छ होला । तिमी जस्तो पढे लेखेकी छैन ।”
१६ वर्षमा विवाह ? अनन्या छक्क परी । ऊ आपूm अहिले २५ वर्षकी भएकी थिई र उसको दिमागमा अहिलेसम्म विवाहको सोच आएको पनि थिएन । उसले केही बोल्न लागेकी थिई, तर आफ्नी आमाको कुरा सम्झेर र आज भर्खरै गाउँमा आएकाले ऊ चुप लागी ।
छिमेकी बाले उसलाई उसको घरमा छोड्नुभयो र आफ्नो घरतिर लाग्नुभयो । अनन्या घरभित्र पसी । उसले हजुरबुबा र हजुरआमाले उसका बुबा र आमासँग कुराकानी गरेको सुनी । पछाडिबाट गएर उसले आफ्नो हजुरबुबालाई तर्साइ तर हजुरबुबा भने पछाडि फर्कंदै हाँस्नुभयो र भन्नुभयो, “तिम्रो यो बानी कहिल्यै जाने भएन नानी । बसले ल्याउन कति ढिलो गर्यो है ।”
हजुरआमाले भन्नुभयो, “कठैबरा ! मेरी नानी कति थाकेर आईन् होला । लौ त बसी हाल । म तिमीलाई भात पस्किन्छु ।” अनन्या हात धोएर आएर टेबुलमा बसी । गाउँ भए पनि यहाँको वातावरण राम्रो थियो । यहाँ विद्यालय, राम्रा अस्पताल, विजुली र पानीको सुविधा थियो तर मान्छेको सोच भने एकदमै पुरानो थियो ।
अनन्याका हजुरबुबा र हजुरआमा भने रुढीवादी सोँचका हुनुहुन्नथ्यो । हजुरबुबा पढेलेखेको हुनुन्थ्यो र हजुरआमा धेरै नपढे पनि एकदमै प्रगतिशील सोचाइ राख्नुहुन्थ्यो । अनन्याले खाना खाएर आफ्नो भाँडा आफैँ माझी । त्यसपछि हजुरआमालाई भान्छाकोठा सफा गर्न सघाई । हजुरआमालाई सघाएपछि आफ्नो कोठामा सुत्न जाँदा उसले आफ्नो हजुरबुबालाई आँगनमा देखी ।
“के सोचिरहनुभएको, हजुरबा ?“ अनन्याले सोधी । “केही हैन छोरी, आऊ बस,” ”हजुरबुबाले भन्नुभयो । अनन्याले त्यतिबेला नै आफ्नो हजुरबुबालाई छिमेकी बाकी छोरीको बारेमा सोधी ।
हजुरबुबाले जवाफ दिँदै भन्नुभयो, “छोरी, यहाँ यस्तै हुन्छ । हामीले जति भने पनि यहाँका मान्छेको सोचाइ परिवर्तन गर्न सक्दैनौँ । खै, तिमी युवा पुस्ताले केही गरे हुन्थ्यो कि ? तर तिमीहरु धेरै कि त सहर गएका छौ कि त विदेश ! हाम्रो गाउँमा भौतिक रुपमा जति बदलाव आए पनि मान्छेको रुढीवादी सोचाइ कहिले फेरिने छैन ।”
अनन्या आफ्नो गाउँमा धेरै दिन बसी । ऊ माघमा लाग्ने मेलामा पनि गई । आफ्नो हजुरबुबा र हजुरआमासँग उसले धेरै रमाइलो गरी तर उसको घर फर्किने समय छिट्टै आयो । आफ्नो गाउँमा बसेर उसले धेरै कुरा सिकी र धेरै कुरा देखी । ऊ आफ्नो गाउँको बस पार्कबाट बसमा फेरि काठमाडौं फर्की । गाउँ जस्तो भए पनि उसलाई यत्रो दिनमा सहरको निकै याद आएको थियो । गाउँबाट फर्केदेखि उसले एउटा कुरा बिर्सन सकेकी थिइन । उसले आफ्नो गाउँका मान्छेहरुको अवस्था बिर्सन सकेकी थिइन । गाउँका मान्छेहरुले गाउँ जति विकास भएपनि आफैँले नै त्यसलाई पछाडि धकेलिरहेका थिए । अन्धविश्वास, लैङ्गिक विभेद, बाल विवाह, छाउपडी र दाइजो दिने र लिने जस्ता रुढीवादी सोंचमा गाउँका मानिस फसेका थिए ।
अनन्याले यसको रोकथाम गर्न प्रयत्न पनि गरी तर उसलाई सधैँ गाउँमा यस्तै हुन्छ भनेर चुप गराइयो । तर उसलाई अहिलेसम्म गाउँको अवस्था सम्झेर गाह्रो भइरहेको थियो । त्यसैले, उसले एउटा योजना बनाई ।
अनन्या गाउँका अन्य युवाहरुसँग फेरी गाउँ फर्की । उसले सुरुमा गएर गाउँको मुखियासँग भेटी । ऊ र उसका साथीहरुले गाउँका मुखियालाई धेरै सम्झाए र गाउँका मुखियाले पनि उनीहरुका कुरा मानेर यस्ता रुढीवादी सामाजिक समस्या विरुद्ध कानुन स्थापना गरे । कानुनको सशक्त रूपले पालन गर्ने वचन पनि दिए ।
त्यसपछि, अनन्या र उसका साथीहरुले विभिन्न जनसचेतनाका कार्यक्रमहरु चलाए । अनन्या एक वकिल भएकीले र गाउँकै एउटी युवा भएकीले धेरैले उसको समर्थन गरे । हजुरबुबा र हजुरआमाले अनन्याको साथ दिए तापनि गाउँमा अझै यस्ता सोचाइले भरिएका व्यक्ति थिए । अनन्याले पनि अठोट लिई । उसले गाउँबाट पूर्ण रुपले रुढीवादी सोच नहटाइकन चुप लागेर बस्दिन भन्ने दृढ सङ्कल्प गरी । उसको कोसिस जारी रह्यो र अन्त्यमा जित अनन्याको नै भयो ।
अब अनन्याको गाउँ पूर्णरूपले रुढीवादी सोचबाट मुक्त भयो । अनन्याले सोही कार्य अन्य गाउँहरुमा पनि सञ्चालन गर्न थाली । कति कुरामा ऊ सफल भई, कतिमा भइन, तर उसले कहिल्यै हार मानिन ।