एउटा सानो गाउँमा आशा नामकी केटी बस्थिन् । उनको परिवार आर्थिक रुपमा कमजोर थियो । उनीहरुले एउटा सानो घरको कोठा भाडामा लिएर बसेका थिए । आशाका बुवा र आमाले आफ्नी एउटी सन्तानलाई पनि राम्रो जीवन दिन सकेनन् भनेर धेरै दुःख मान्थे । “आशालाई विद्यालय पठाउने पैसा पनि छैन” भनेर भनिरहेका हुन्थे ।
एकदिन आशाका बुवा र आमाले सहर जानको लागि पैसा जम्मा गरे र सहरको यात्रा सुरु गरे । बाटोमा उनीहरुको गाडी दुर्घटनामा पर्यो । आशा त गाडीबाट हत्तपत्त निक्लिन सफल भइन् तर उनका बुवाआमा त्यही गाडीभित्रबाट बाहिर निक्लिन सकेनन् । त्यसै बेला आशाका आमा र बुवाको देहान्त भयो । आशाको सर्वस्व सकियो । आशा बाटोमा रोएर बसिन् ।
केही बेर पछि प्रहरी आएर उनलाई प्रश्न गर्न थाले, “तिमी किन रोएको नानु ?” । “ मेरा बुवा र आमा त्यो गाडी भित्र थिए” आशाले भनिन् । त्यसपछि केही ढिला नगरी प्रहरीहरुले उनलाई अनाथाआश्रममा लगेर छोडिदिए ।
आश्रममा उनीसँग कोही पनि बोलेनन् । कसैले पनि उनलाई साथी बनाउन चाहेनन् । आशा उनीहरुसँग बोल्न जाँदा मुख फर्काएर हिँड्थे । आशालाई सधैँ एक्ले महसुस भइरहेको हुन्थ्यो ।
एक दिन आर्या नामकी केटीले उनी एक्लै बसिरहेको कारण उनीसँग कुराकानी गर्न आइन् । आशा र आर्या कुराकानी गरेर राम्रो साथी बने । कुराकानीमा आर्याले सोधिन् “म जन्मेदेखिनै यतै आएकी हुँ । तिमी चाहिँ ?”
आशालाई त्यो प्रश्न सुनेर त्यो दुर्घटनाको याद आयो । आशा रुन थालिन् । आर्याले उनी रोएको देखेर आफूले केही नराम्रो सोधेँ कि भन्ने लग्यो ।
आर्याले सोधिन “तिमी किन रोएको साथी?” आँसुले भरिएको रातो आँखा र अवरुद्ध गलाले उनले उनकी साथीलाई दुर्घटनाको बारेमा भनिन् । उनकी साथी पनि रुन थालिन् । केही समयपछि दुबैजना मिलेर खेल्न गए ।
आश्रममा त्यसको दुई दिन पछि एउटा कविता वाचन प्रतियोगिता आयोजना हुदैँ छ भनेर खबर आयो । ती दुइजना साथीहरुले पनि भाग लिए । आशालाई सबैभन्दा गाह्रो छन्द दिइयो । उनी हतोत्साहित भएर आफूभित्रको आशा गुमाइन् ।
उनी रातिको अन्धकारमा गएर एक्लै रुँदै बसिन् । त्यही बेला उनले आकाशमा एउटा जुनकिरी उडिरहेको देखिन् । आशाले “एउटा सानो जुनकिरीले पनि यस्तो अन्धकारमा बत्ती बालेर उज्यालो बनाउन सक्छ भने म पनि जुनकिरी जस्तै सानो भएपनि कठिन समयमा आफू भित्रको उर्जाको बत्ती बालेर कहिल्यै हार मान्दिन भनेर सोचिन् र प्रतियोगिताको तयारी गर्न गइन् ।
त्यसपछि धेरै मिहिनेत गर्न थालिन् र प्रतियोगिताको दिनमा उनले प्रथम स्थान हासिल गर्न सफल भइन् । उनको मिहिनेत देखेर नेपालका राम्रा विद्यालयले उनलाई छात्रवृत्तिमा पढाउनका लागि प्रस्ताव गरे ।
आज तिनै आशा हार्वड विश्वविद्यालयमा अध्ययन गरिरहेकी छिन् । आज उनी ठुलो सपना र आशा बोकेर हिँडिरहेकी छिन् ।