गाइड आशाकाजी
देन बज्राचार्य
आशाकाजी जन्मैदेखि राम्ररी सुन्न र बोल्न सक्दैनथे। उनको जन्म ललितपुरको पाटनमा भएको थियो। पाटन यस्तो ठाउँ हो जहाँ विश्व सम्पदाको सुचीमा परेका मन्दिर, चैत्य, गुम्बा र बिहारहरु थुप्रै छन्। साथै यहाँ हरेक महिना विभिन्न चाडपर्व, सांस्कृतिक नाचगान, परम्परागत बाजागाजा बजिरहेको हुन्छ। यस्ता सांस्कृतिक धार्मिक सम्पदाहरुबाट आकर्षित भएर यहाँ दिनहुँ धेरै पर्यटकहरु भ्रमण गर्न आउँछन्।
पर्यटकहरु आउने भएकाले यहाँ उनीहरुलाई पाटन घुमाउने गाइडहरु पनि धेरै हुन्छन्। साथै अपाङ्गता र गरीबका कारण हात फैलाएर भिख माग्नेहरुको पनि कमी छैन तर आशाकाजीले कहिल्यै आफ्नो अपाङ्गता देखाएर भिख माग्दैनथे। अरुले भिख मागेको देख्दा उनलाई लाज लाग्थ्यो। उनी मेहेनत नगरी कसैले दया गरेको मन पराउँदैनथे।
आशाकाजी बोल्न नजाने पनि सधैं हँसिलो अनुहार पारेर हातको इसाराले छिमेकसँग कुरा गर्न खोज्दथे। बाटामा अलपत्र परिरहेका पर्यटकहरुलाई पनि हातको इसाराले उनीहरुको गन्तव्यसम्म पुर्याउने गर्दथे। हुन त विदेशी भाषा बोल्न जानेका, पढे लेखेका अरुपनि गाइडहरु धेरै थिए तर आशाकाजी जस्ता पाटनको गल्लीमा रहेको अमूल्य मूर्तिकला, चित्रकलाहरुबारे अरुलाई थाहा थिएन। पर्यटकहरु पनि आशाकाजीको हँसिलो अनुहार र सधैँ नेपाली मौलिक पोसाक ढाका टोपी र दौरा सुरुवाल लगाएर चिटिक्क परेको व्यक्तित्व देखेर प्रभावित हुन्थे र उनलाई नै आफ्नो गाइड बनाउन मन पराउँदा अरू गाइडहरु इर्ष्या पनि गर्थे।
एक दिनको कुरा हो। चार पाँचजनाको पर्यटकको समूह लिएर आशाकाजी पाटनको कुनाकाप्चा देखाउँदै थिए।
यो दृश्य आशाकाजीलाई इर्ष्या गर्ने एउटा अर्कै जिल्लाबाट पाटन आएर गाइड काम गर्ने चङखेले देख्यो। चङखेलाई अङ्ग्रेजी भाषा आउँथ्यो। त्यो दिन आशाकाजीले गाइड गरिरहेको हरेक ठाउँमा लुकेर पछ्याइरहेको थियो।
पाटनको कृष्ण मन्दिर, गोल्डेन टेम्पल, पाटन दरबार इत्यादि घुमाइसक्दा पनि ती पर्यटकका समूहले आशाकाजी बोल्न नसक्ने व्यक्ति भनेर थाहा पाएका थिएनन्।
आशाकाजीले अंग्रेजी बोल्न नजानेको कारण हातको इसाराले विभिन्न गाउँहरु देखाएको भनेर सोचेका थिए। दिनभरि पाटन घुमाइसकेपछि अन्तमा पर्यटकहरुलाई पाटनढोका पुर्याएर उनीहरुलाई बिदा गर्न खोजे।
एउटा पर्यटकले आशाकाजीलाई अंग्रेजी भाषामा सोधे, “आज दिनभरि घुमाइदियौ। तिमीलाई हामी कति पैसा तिरौं ?“ आशाकाजी केवल हाँसिरहे। उनले केही बुझेनन्।
त्यतिकैमा चङ्खे टुप्लुक्कै आइपुग्यो र फररर अङ्ग्रेजी भाषामा बोल्यो, “उहाँ बोल्न सक्नुहुन्न म उहाँको भाइ हो। तपाइँ उसलाई एक हजार रुपैयाँ दिनुहोस् न” भनिदिए। आशाकाजी चङखेको मुहार हेरेर मुस्कुराइरहे। पर्यटकहरुले धन्यवाद दिँदै आशाकाजीलाई एक हजार रुपैंया दिएर बिदा भए।
चङखेको दाउ अर्कै थियो। उसले आशाकाजीलाई त्यो पर्यटकले हामी दुईलाई आधा आधा पैसा बाँडेर लिनु भनेको छ यो एक हजारको नोट साटेर तिमीलाई पाँच सय दिन्छु ल “भनेर हजारको नोट स्वाट्ट खोसेर पसलतिर दौडँदै गयो।
विचरा ! आशाकाजी एक घण्टासम्म कुरेर बस्यो तर चबखे आएन। निराश भएर आशाकाजी एउटा पाटीमा आँखाभरि आँसु राखेर बसिरहयो। त्यतिकैमा अघि फर्किसकेका पर्यटकहरुको गाडी फेरि फर्केर आयो र पर्यटकहरु पाटन ढोकानिरको पाटीमा बसिरहेको आशाकाजीको नजिक आए। ती पाँच जना पर्यटकहरुले एक एक हजारको नोट निकालेर आशाकाजीलाई दिए र सबैले उसलाई धन्यवाद दिँदै आवश्यक सामग्रीहरु दिएर फर्के र आशाकाजी अचम्म मान्दै र खुसी हुँदै घर गए।
उनी पर्यटकहरुले फर्केर आई आफूलाई सहयोग गरेको देखेर अचम्ममा परे। वास्तवमा चबखेले आशाकाजीको एक हजारको नोट खोसेर भाग्दै गरेको ती पर्यटकहरुले गाडीको झ्यालबाट देखेका थिए। उनीहरुलाई आशाकाजीको यस्तो अवस्था देखेर दया लागेर सबैजना आशाकाजी खोज्दै पाटन फर्केका थिए।
उता चबखेलाई भने ठुलो पाप लागेछ। एक हजार रुपैयाँ हतार हतार पर्समा राखेर ऊ पाटन ढोकाबाट रत्नपार्क जाने बस चढ्न लागेको थियो। त्यही क्रममा उसको दुर्घटना भएछ। उसको पर्स पनि चोरी भएछ। भगवानले बदमास र लोभी चबखेलाई सजाय दिएछन्।