एकादेशमा मणिक नामको एउटा ठुलो राज्य थियो। जहाँ राजा काजीमान सिंहले राज्य गर्दथे। राजाले आफ्नी रानी र राजकुमारसँग खुसीसाथ त्यस राज्यलाई शासन गरिरहेका थिए। माणिक राज्य अरु राज्यभन्दा निकै सुन्दर र शक्तिशाली थियो। त्यस राज्यका जनताहरु निकै देशप्रेमी थिए। उनीहरु आफ्नो देशको लागि ज्यान दिन पनि तयार हुन्थे। तर चन्द्रमामा पनि दाग हुन्छ भने झैँ राज्यमा छुवाछुतको ठुलो भेदभाव थियो।
ठुला जातिका व्यक्तिहरु मात्र उच्च स्तरमा कार्यरत थिए भने तल्लो स्तरको व्यक्तिहरु भने अन्य कार्य गर्दथे। उनीहरुलाई ठुला जातिका व्यक्तिका अधीनमा रहेर काम गर्नु पर्दथ्यो। ठुला जातिका मानिसलाई साना जातिका मानिसले छोए पाप लाग्छ भन्ने भावना थियो। यसले गर्दा राज्यमा असन्तुष्टि बढ्दै गयो। जनताहरुमा पनि मेलमिलाप हुन छाड्यो।
राज्यमा भित्रभित्रै बिद्रोहको आगो दन्किन थाल्यो। किसान, मजदुर आदि काम गर्ने व्यक्तिहरुको हितमा राज्यले काम गर्न सकेन। राज्य भने यही कारणले दिन प्रतिदिन निकै कमजोर भइरहेको थियो।
यसै क्रममा तल्लो जातिका मानिसहरु अब चाहिँ सबै मिलेर यस्तो राज्यमा बस्नुभन्दा अन्य राज्यमा बस्नु ठिक हुन्छ भन्ने अठोटका साथ अन्य राज्यमा शरण लिन पुगे। देशमा अन्न, खाद्यान्न र सुरक्षाको सङ्कटको अवस्था सृजना भयो। राज्य र जनता दिनप्रतिदिन निकै कमजोर भइरहेका थिए।
यसै मौका पारेर छिमेकी राज्यले आक्रमण गर्यो। राज्यहरुबिच लडाइँ सुरु भयो। लडाइँमा खान नपाएका कमजोर सिपाहीहरु जानुपर्ने भयो। लडाइँ चलिरह्यो। मणिक राज्यको हार हुने निश्चित भयो।
यो कुरा अन्य देशमा शरणर्थी बनेर बसेका किसान र मजदुरले थाहा पाए। उनीहरुलाई आफ्नो देशको माया लाग्यो। उनीहरु आफ्नो देश बचाउनका लागि लडाइँमा लड्न तयार भए। सबै एकजुट भएर युद्ध गरेपछि माणिक राज्यको जित भयो। सबै जनताहरुमा एकजुट हुनुपर्ने रहेछ भन्ने भावना पलायो।
सबै मानिस एउटै हुन् सबको रगत रातो हुन्छ र दुःख पर्दा एकअर्काको सहयोग चाहिन्छ भन्ने कुरा माणिक राज्यका सबै जनताले बुझे। यसरी माणिक राज्यमा छुवाछुतको भेदभाव पनि हट्यो। यस घटनाबाट पाठ सिकेर उच्च स्तरमा कार्यरत व्यक्तिहरुले राजालाई वास्तविक कुरा सबै बताए र आफ्नो गल्ती स्वीकारे। त्यसपछि राजाले राज्यमा सबैलाई समान अधिकार दिए। उनको राज्यमा अब सबैको कुरा सुन्न थालियो। मणिक राज्य फेरि सुन्दर र शक्तिशाली राज्यको रुपमा परिणत भयो।