Skip to main content

परिपक्क

आरम्भ ढकाल

कक्षाः छ

“आमा मेरो कापी खोइ ?” प्रतिक ठुलो स्वरमा कराउँदै आमालाई सोधिरहेको थियो ।

“त्यहीँ त होला नी, आफ्नो, सामान कहाँ छ भन्ने त आफै थाहा पाउनु पर्छ नी ।” आमाले भान्साबाट नै जवाफ दिनुभयो । “मलाई पनि हतार छ । खाना खाएर सबै काम सकेर अफिस पनि जानु छ । ६ कक्षा पढ्ने भइसक्यौ । अब आफ्नो सामान आफै मिलाएर राख ।”

आमाले फेरि थप्दै गाली गर्नुभयो । प्रतिक रिसाउँदै मेरो सामान लुकाउने फाल्ने भन्दै कराउन थाल्यो ।

प्रतिकको सामान सधैँ आमाले मिलाइदिनु पथ्र्यो । बिहान ७ बजे उठेर ऊ खाटमा नै बसी बसी मोबाइल चलाउँथ्यो । विद्यालय जाने समय भएपछि खाना खाएर विद्यालय जान्थ्यो । विद्यालयमा पढाइने विषयका किताब, कापी पनि आमाले नै मिलाइदिनु पथ्र्यो । आमालाई कामको धेरै बोझ भएपछि एक हप्ता अघिदेखि आमाले प्रतिकको विद्यालयको रूटिन आफै मिलाऊ भनेर छोडिदिनुभएको थियो । त्यसैले ऊ त्यो बिहान रिसाइरहेको थियो ।

आमाले सम्झाउँदै भन्नुभयो, “छोरा आफ्नो काम आफैँ गर्न सिक्नुपर्छ । सधैँ आमा साथमा हुँदिन । त्यस बेला तिम्रो काम कसले गरिदिन्छ ?”

प्रतिक रिसाउँदै झोला वोकेर विद्यालयतर्फ हिँड्यो । त्यस दिन ऊ विद्यालयका साथीहरुसँग पनि रिसाइरह्यो । विद्यालय छुट्टी भएपछि ऊ घर फर्कियो । आमा घर आइसक्नुभएको थिएन । ऊ ढोकामा बसेर आमालाई कुरिरहेको थियो । साँझ ७ बज्दासम्म पनि आमा नआएपछि ऊ आत्तिन थाल्यो ।

उसले छिमेकीसँग मोबाइल मागेर आमालाई फोन गर्यो। नचिनेको मानिसले फोन उठाएर यो मोबाइलको महिला अस्पतालमा भर्ना हुनुभएको छ भन्ने जानकारी गरायो । बाबा विदेश, आमा, छोरा मात्र घरमा बस्ने र सधैँ आमालाई कराएर खाएको प्रतिक आत्तिन थाल्यो । छिमेकीको सहयोगमा ऊ अस्पताल पुग्यो ।

आमालाई बेहोस अवस्थामा अस्पतालको बेडमा देखेर ऊ धेरै रोयो । आमालाई मुटुमा समस्या देखिएको रहेछ । एक महिना जति आमाले आराम गर्नुपर्ने भयो भनेर डाक्टरले बताए । अस्पतालको सबै काम सकिएपछि आमा र छोरा भोलिपल्ट घर फर्किए । उसले आमालाई खाना बनाएर खुवायो । आमाको स्याहारसुसार गर्यो । भोलिपल्ट उसले सबेरै उठेर तातो पानी दियो । खाना दिएर दिउँसोको लागि पनि खाजा तयार पार्यो । आफ्नो गृहकार्य सकी रुटिन अनुसार किताब मिलाएर विद्यालय गयो । जानी नजानी भएपनि छोराले खाना बनाएको देखेर आमा खुसी हुनुभयो ।

एक हप्तापछि बाबा विदेशबाट आउनुभयो । छोरामा आएको परिवर्तन देखेर बाबा आमा दुबै खुसी हुनुभयो । त्यस दिनको घटनाबाट प्रतिक धेरै परिपक्क भयो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children