Skip to main content

समिताको रहर

श्रभ्या श्रेष्ठ

कक्षाः छ

एकादेशमा एउटा परिवार थियो । उनीहरुको परिवारमा हजुरआमा, बुबा, आमा र दुई छोरीहरु थिए । छोरीहरु जुम्ल्याहा थिए । उनीहरुको नाम रमिता र समिता थियो । रमिता पढाइमा जेहेन्दार थिइन् भने समिता चाहिँ गीत गाउन मन पराउँथिन् । उनीहरु कक्षा ८ मा अध्ययनरत थिए ।

उनीहरुको परीक्षा नजिकिँदै थियो । रमिताचाहिँ फुर्सदको समयमा पढेर बस्न मन पराउँथिन् भने समिता चाहिँ छिटो छिटो पढेर गीत नै गाउन बस्थिन् । यसरी नपढीकन समिताले गीत गाएको आमाबुबालाई मन पर्दैनथ्यो । आमाबुबाले समितालाई गीत गाउँदा जहिले पनि गाली गर्थे । गीत गाएर जीवनमा सफलता प्राप्त गर्न सकिँदैन र ठुलो मान्छे पनि बन्न सकिँदैन भनेर उसलाई कराउँथे । आमाबाबुको यस्तो कुरा सुन्दा समिता निराश हुन्थिन् ।

घरमा आफ्नै आमाबुबाले उनको गीत गाउने चाहनालाई साथ नदिएको कारण समिता आफ्नो प्रतिभा अरुलाई देखाउन हिच्किचाउँथिन् । समिताको यो प्रतिभा उनको मिल्ने साथी रमालाई मात्र थाहा थियो । रमालेचाहिँ उसलाई जहिले पनि गाउनको लागि हौसला दिन्थिन् ।

यत्तिकैमा उनीहरुको परीक्षा पनि आयो । परीक्षामा रमिताले राम्रो अङ्क ल्याएर कक्षामा प्रथम भइन् भने समिता चाहि पास मात्रै भइन् । परीक्षाको परिणामपछि आमाबुबाले रामितालाई प्रथम भएको उपलक्ष्यमा उपहार किनिदिए भने समितालाई चाहिँ गीत गाउन छोडी पढाइतिर ध्यान दिनु भनेर गाली गरे । समितालाई निकै दुःख लाग्यो ।

उनका आमाबुवाले रमितालाई मात्र माया गर्छन, र उनलाई वास्तै गर्दैनन् भन्ने उनको मनमा लाग्यो ।

समिता निरास भएर घरको आँगनमा बसिरहेकी थिइन् । यत्तिकैमा रमा समिताको घरमा आइ पुगिन् । समिताले रमालाई उनलाई मनमा लागेका सबै कुरा बताइन् ।

समिताको कुरा सुनेर रमाले सोधिन्, “तिमी यसरी दुःखी भएर नबस । तिमीलाई के गर्न इच्छा छ मलाइ खुलेर भन, म तिमीलाई सहयोग गर्न सक्छु । हरेक समस्याको केही न केही उपाय अवश्य निस्कन्छ ।

त्यसपछि समिताले भनिन्, “मेरो इच्छा भनेको नै गीत गाउनु हो । मलाई आमाबुबाले जति गाली गरे पनि म कहिले पनि गीत गाउन छोड्दिन ।”

यो सुनेर रमाले आफ्नी साथी समितालाई गीत गाउन भनिन् । समिताले गाएको गीत निकै सुमधुर थियो । रमाले समिताको गीतलाई सामाजिक सञ्जालमा राखी दिइन् ।

उनको यो गीत सबैले मन पराए । सबैतिर समिताको चर्चा हुन थाल्यो । एकदिन एउटा सङ्गीत कम्पनीका मानिसहरु उनको घर खोज्दै आए । उनीहरुले समिताका आमाबुबालाई भेटेर समितालाई गायन प्रतियोगितामा पठाउन अनुरोध गरे । यो सुनेर समिता दङ्ग पारिन् । उनलाई आफ्नो सपना साकार हुन लागे जस्तो लाग्यो तर समितालाई उनका आमाबुबाले प्रतियोगितामा नपठाउने निर्णय गरे । यो सुनेर समितालाई नरमाइलो लाग्यो । उनले चारैतिर अन्धकार देख्न थालिन् । समिता कोठामा बसेर रून थालिन् ।

यी सबै कुराहरु समिताकी हजुरआमाले सुनिरहेकी थिइन् । उनले आफ्नी प्यारी नातिनीलाई दुःखी भएर बसेको हेर्न सकिनन् । उनले छोराबुहारीलाई आफ्नो कोठामा बोलाइन् र अनेक उदाहरणहरु दिएर सम्झाउन थालिन्, “हेर छोरा, बुहारी ! तिमीहरुका छोरीहरु जुम्ल्याहा भए पनि रमिता पढाइमा अब्बल छिन भने समिता गायकीमा । जोसँग जे प्रातिभा हुन्छ त्यसलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरुलाई अगाडि बढ्न दिनुपर्छ । जीवनमा आफ्नो चाहना अनुसारको काम गर्न पाएमात्र उनीहरुले सफलता प्राप्त गर्न सक्छन् ।”

हजुरआमाको यो कुरा सुनेर समिताका आमाबुबाले उनलाई त्यो प्रतियोगितामा भाग लिन पठाउने निर्णय गरे । समिता आमाबुबाको यो निर्णय सुनेर धेरै खुसी भइन् । उनले मनमनै आफ्नी प्यारी साथी रमा र हजुरआमालाई नमन गरिन् । प्रतियोगितामा जित्न आफूले धेरै मिहेनत गर्ने अठोट गर्दै तयारीमा लाग्न थालिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children