निडर राजकुमारी
सृस्टिका बस्नेत
एकादेशमा एउटी राजकुमारी थिइन् । उनी निकै सुन्दरी थिइन् । एक दिन राजकुमारी जङ्गलको सुन्दर दृश्य हेर्न महलबाट निस्किएर जङ्गलतिर लागिन् । त्यो जङ्गलमा अहिलेसम्म कोही पनि गएका थिएनन् । त्यसैले उनले आँट गरेर त्यो जङ्गलभित्र जान लागेकी थिइन् । उनीसँगै जङ्गलमा जान कोही पनि मानेनन् किनकि त्यो जङ्गलभित्र एउटा डरलाग्दो राक्षस छ भन्ने विश्वास थियो । अहिलेसम्म जुन मानिसले आँट गरेर जङ्गलभित्र प्रवेश गरेका थिए उनीहरु आहिलेसम्म फर्केर आएका थिएनन् । त्यसैले त्यो जङ्गलमा जान बन्द गरिएको थियो ।
धेरै वर्षपछि सुन्दरी राजकुमारीले त्यो जङ् गलमा प्रवेश गर्ने हिम्मत गरेकी थिइन् । राजकुमारी निकै उत्साहित हुँदै जङ्गलतिर लागिन् । जब उनले जङ्गलभित्र प्रवेश गरिन् तब जङ्गलमा हलचल हुन थाल्यो । चारैतिर हावाहुरी चल्न थाल्यो । जङ्गलका पातहरु बजेर अनौठो आवाज आउन थाल्यो ।
त्यहाँ मुसलधारे पानीको वर्षा हुन थाल्यो । जनावरहरुका अनौठा आवाज सुनिन थाले । राजकुमारी भने हिम्मत गरेर अगाडि बढ्दै गइरहेकी थिइन् । एक्कासि राजकुमारीलाई आफ्नो पछाडि केही चिजले धकेले जस्तो लाग्यो । जब राजकुमारीले हिम्मत जुटाएर पछाडि हेरिन् तब एउटा बवन्डरले उनलाई उडाएर लग्यो । राजकुमारी त्यति बेला बेहोस् भइन् । निकै बेरपछि राजकुमारीलाई होस आयो । जब राजकुमारी उठिन् तब उनले आफूलाई एउटा आँध्यारो गुफामा पाइन् । त्यो गुफा एकदमै अँध्यारो र डरलाग्दो थियो । राजकुमारी नडराईकन गुफाको अझ भित्र गइन् । त्यहाँ उनले अकल्पनीय दृश्य देखिन् । त्यहाँको दृश्य देखेर उनी छक्क परिन् ।
त्यहाँ त डरलाग्दो राक्षस पो रहेछ । उसको वरिपरि पहिले जङ्गलमा गएर फर्किन नसकेका विवस मानिसहरुलाई देखिन् । ती मानिसहरुका हातमा फलामका साङ्लो बाँधिएका थिए । त्यो राक्षस पहिला जङ्गलमा गएका मानिसहरुसँग कुरा गर्दै थियो ।
त्यो राक्षसले कसैलाई पनि हानी गरेको जस्तो थिएन । तर राक्षससँग वरिपरिका मानिसहरु बोल्न सकेका थिएनन् । मानिसहरु डरले थरथर कामिरहेका थिए ।
जङ्गलका यी सबै दृश्यहरु राजकुमारीले चाख मानेर हेरिरहेकी थिइन् । अब भने उनको मनबाट डर हराउँदै गयो । उनले सबैलाई राक्षसको पन्जाबाट छुटाउने बिचार गरिन् ।
राजकुमारी भित्र गइन् र राक्षसलाई भनिन, “हे राक्षस तिमीले ती मानिसहरुलाई किन बन्दी भनाएर राखेका हौ ? यिनीहरुको के नै दोष छ र उनीहरुलाई जान देऊ ।”
राजकुमारीको यस्तो कुरा सुनेपछि राक्षसले दुःख मान्दै ती मानिसलाई छाडिदियो र भन्यो, “हे राजकुमारी मसँग बोल्ने र मसँग बस्ने कोही पनि छैनन् । त्यसैले यी मानिसहरुलाई मैलै राखेको हो । मलाई पनि आफ्नो कुरा राख्ने चाहना हुन्छ । सबैसँग बोल्न हाँसखेल गर्न मन लाग्छ । मैले कसैको पनि केही बिगारेको छैन । सबै जना मेरो डरलाग्दो शरीर देखेर त्रसित हुन्छन् ।”
राक्षसको कुरा सुनेर राजकुमारीले भनिन् ,“म तिम्रो साथी बन्नेछु । यी निर्दोष मानिसहरुलाई बन्दी बनाएर आफ्नो साथी बनाउन नखोज । यिनीहरुको पनि आफ्नो परिवार छ । उनीहरु निकै चिन्तामा छन् ।”
राजकुमारीको कुरामा राक्षसले सहमती जनायो । उसले सबै बन्दीहरुलाई छोडिदियो । त्यस दिन देखि राजकुमारी र राक्षस राम्रा मित्र बने । त्यसपछि राक्षसले कसैलाई पनि बन्दी बनाएन ।