Skip to main content

दबाब

साक्षी भण्डारी

कक्षाः नौ

“आहा! ईशा, यसपालि पनि प्रथम भयौ रे त । भन्दै बिणाले जिस्क्याइन् । उनी कक्षामा प्रथम भए पनि खुसी थिइनन् । उनलाई पढ्दा र स्कुल आउँदा रमाइलो लाग्थ्यो । तर बिस्तारै उनलाई मनभित्र शून्यता महसूस हुन थालेको थियो ।

एकदिन उनी निराश हुँदै घर फर्किन् । घरमा कोही पनि थिएन । ईशाकी आमा वैज्ञानिक हुनुहुन्थ्यो र बुबा इन्जिनियर हुनुहुन्थ्यो । सधैँझै उनका आमाबुबा ८ बजे तिर घर आइपुग्नुभयो । सधैँ जस्तै उनीहरुले सबैजना सँगै बसेर बेलुकाको खाना खाए । खाना खाँदा उनीहरु बिच सधैँ ईशाको पढाइको मात्र कुरा हुन्थ्यो । पढाइको कुरा नभए, ईशाको भविष्यको कुरा हुन्थ्यो । उनका आमाबुबाले उनलाई वकिल, डाक्टर वा व्यापारीमध्ये एक बन्न दबान दिनुहुन्थ्यो । इशाले आमाबुबालाई खुसी बनाउन व्यापारी बन्छु भन्थिन् । तर आफ्नो चाहानाहरु मनमा नै लुकाएर राखेकी थिइन् ।

त्यसरी नै तीन महिना बित्यो । कक्षा नौ को अन्तिम परीक्षा नजिक आउन लागेको थियो । परीक्षाको लागि तीन हप्ता बाँकी थियो । ईशाले सबै विषय राम्ररी तयारी सुरु गरी सकेकी थिइन् ।

एक रात उनका आमाबुबाले उनलाई बैठक कोठामा कुरा गर्न बोलाउनु भयो । ईशा चिन्ता गर्दै त्यहाँ गइन् । उनका आमाबुवाले उनलाई हेर्दै भन्नुभयो “हेर ईशा, तिमी हाम्रो परिवारको एक्ली सन्तान हौ । हामी आआफ्नो क्षेत्रमा राम्रो स्थानमा रहेका छौँ र सम्मानित पनि छौंँ । सबैले हाम्रो परिवारको प्रशंसा गर्छन् । तिम्रो कारणले हाम्रो परिवारको प्रतिष्ठामा नराम्रो असर नपरोस् । जसरी भए पनि तिमीले यो परीक्षामा प्रथम स्थान हासिल गर्नु नै पर्छ । हामीलाई गौरवशाली महसुस गराउनु पर्छ । आफ्नो छोरी भन्दा हामीलाई गर्व होस् ।” यति भन्दै पढ्न जाऊ भनेर ईशालाई कोठामा पठाउनुभयो ।

आमाबुबाको कुरा सुनेर ईशाले दिनरात पढ्न थालिन् । उनले खाना पनि समयमा खान बिर्सिन थालिन् । राति चार घण्टा मात्र सुत्थिन् । यसरी नै दुई हप्ता बित्यो । परीक्षा आउन एक हप्ता बाँकी थियो । ईशाको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उनका शिक्षकहरुले पनि उनका बारेमा चिन्ता गर्न थाले । तर कसैले पनि केही भनेनन् ।

एक रात उनी गणितको पुनरावृत्ति अभ्यास गर्दै थिइन् । शैचालय जान उठ्न खोज्दा उनलाई रिङ्गटा लाग्न थाल्यो । बस्न खोजिन् तर सकिनन् । उनी भुइँमा लडिन् । लड्ने क्रममा ईशाको टाउको नराम्ररी पलङको डिलमा ठोकियो ।

पन्ध्र मिनेटपछि आमाले खाना खान बोलाउनु भयो । ईशा खाना खान नआएपछि आमा कराउँदै कोठामा नै आउनुभयो । ईशालाई भुइँमा देखेर आमा चिच्याउनुभयो । ईशालाई चलाउँदै बोलाउन थाल्नुभयो तर ईशाको होस आएन । एम्बुलेन्स बोलाएर ईशालाई अस्पताल लानुभयो ।

एक घण्टा पछि डाक्टरले इशाका आमाबुबासँग भेटे । उनले भने, “ईशाको स्वास्थ्य असाध्यै गम्भीर भएको छ ।

ईशा पानीको कमी र पोषणको कमीको कारणले बेहोस भएकी हुन् । उनी धेरै कमजोर भएकी छिन् ।” डाक्टरको कुरा सुनेर ईशाकी आमा रुन थाल्नुभयो । बुबाले आमालाई अङ्गालो हालेर भन्नुभयो, “हामीले ईशामाथि धेरै दबाब दियौँ । यो कुरा परिवारबाहिर जानु हुँदैन । अबदेखि हामीले हाम्री छोरीको स्वास्थ्य र मानसिक स्थितिलाई बढी ध्यान दिनुपर्छ ।”

आमाले रुँदै “हामीले ठुलो गल्ति गर्योँ । यति पढे लेखेको व्यक्ति भएर पनि हामीले छोरीलाई यस्तो दबाब दियौँ ।” भन्नुभयो र धेरै पछुताउनुभयो ।

बुबाले “जे भयो भयो तर अब हामीले छोरीको स्वास्थ्यको ख्याल गर्दै उनको भावनाअनुरुप मार्ग निर्देश गर्नुपर्छ ।” भनी आमालाई सम्झाउनुभयो ।

दुई घण्टापछि ईशा उठिन् । उठ्ने बित्तिकै उनी आत्तिन थालिन् । डाक्टरहरुले उनीसँग कुरा गरेर उनलाई शान्त बनाए । ईशाको होस आएको खबर पाउने बित्तिकै उनका आमाबुबा ईशाको कोठातर्फ जानुभयो । उहाँहरुले ईशालाई देख्नेबित्तिकै अँगालो हाल्नुभयो । आमाले इशासँग माफी माग्नुभयो । बुबाले पनि दुःखी हुँदै माफी माग्नुभयो ।

पाँच दिनसम्म ईशा अस्पतालमा नै बसिन् र परीक्षाको अघिल्लो दिन घर फर्किन् । उनका आमाबुबाले इशासँग कुरा गर्दै “हामीले तिमीमाथि पढाइका बारेमा यति दबाब दिएकोमा माफी देऊ छोरी । अबदेखि तिम्रो इच्छा, चाहान र सपनाप्रति बढी ध्यान देऊ र आफ्नो विद्यार्थी जीवन रमाइलोसाथ बिताऊ ।” भन्नुभयो ।

ईशाले आमाबुबालाई “माफी मागिरहनु पर्दैन” भनिन् र अँगालो हालिन् । ईशा धेरै खुसी भइन् । उनी धेरै समय आमाबुवासित बिताउन थालिन् । सपरिवार कहिलेकाहीँ बाहिर घुम्न जान थाल्यो । तीन हप्तापछि परीक्षाको नतिजा आयो । यसपालि पनि ईशा प्रथम भइन् । तर यसपालि उनी खुसी थिइन् । विद्यालयबाट खुसी हुँदै घर फर्किन् । उत्सुक हुँदै आफ्नो नतिजा आमाबुबालाई देखाइन् । आमाबुवा पनि खुसी हुँदै मायाले छोरीको गाला चुम्नुभयो । दिनहरु बित्दै गए । उनले कक्षा दशको पढाइ सकिन् र कलेज पढ्न थालिन् । दश वर्षपछि उनी पढाइ सकेर राजनितिमा लागिन् र सबैलाई गौरव महसुस गराइन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children