Skip to main content

सपनाको संसार

संवृद्धी शर्मा

कक्षाः नौ

म आफ्नो काम गरिरहेको थिएँ । जब मलाई आमाले “हरि ! खाना खान आइज ।” भनेर बोलाउनुभयो । म आमाको आवाज सुनेर खाना खान गएँ । खानामा आमाले मलाई मनपर्ने खानेकुरा बनाउनु भएको रहेछ ।

“ओहो ! आमा आज कस्तो मिठो खाना बनाउनु भएको ?” मैले आमालाई भनेँ ।

“मैले मेरो प्यारो छोराको लागि बनाइदिएको । खुसी हुँदै खाऊ है ।” आमाले भन्नुभयो । मैले आमाको माया मिसिएको खाना अझै खुसी हुँदै खाएँ ।

केही समयपछि बुवा घर आउनुभयो । मैले बुवालाई अँगालो हाले । बुवाले पनि मलाई अँगालो हाल्नुभयो । बुवा हात धुन जान्छु भनेर धारातिर जानुभयो । त्यसपछि म आफ्नो गृहकार्य गर्न गएँ । केही बेरपछि मैले आफ्नो गृहकार्य गरेर सकेँ । त्यस पछि म सुत्न गएँ ।

भोलिपल्ट म छ बजे उठेर आफ्नो विद्यालय जान तयार भएँ । खाजा खाएर म विद्यालयतिर लागेँ । म दिनभरि पढ्दै र खेल्दै साथीहरुसित रमाएँ । साथीहरुले पनि धेरै माया गरे । विद्यालयबाट घर आएर गृहकार्य सकेर सुतेँ ।

“हरे ! ए हरि यो त काम नलाग्ने केटो रहेछ । तँ कति सुतेको हँ ?” आमा कराउनुभयो । मैले बिस्तारै आँखा खोलँे । म उठ्न ढिला भएकोमा आमा खुब कराउँदै हुनुहुन्थ्यो ।

मैले हतार हतार उठेर “आमा बुवा खोइ ?” भनी सोधेँ ।

“खै कहाँ हराउनुभयो ।” आमाले रिसाउँदै भन्नुभयो । मैले वरिपरि हेरे ।

बल्ल मलाई थाहा भयो म त सपनामा पो रहेछु । मैले देखेका यति रमाइला कुराहरु त सबै सपना पो रहेछन् । मेरो मन खिन्न भयो । मलाई ती सपनामा देखेका कुराहरु सबै वास्तविक भइदिएहुन्थ्यो जस्तो भयो ।

म विद्यालय गएँ । त्यहाँ मेरा सपनाका साथी जस्ता रमाइला साथी थिएनन् । उनीहरु त मलाई दुःख दिन्थे । साथीहरुले मलाई पिट्ने, गिज्याउने, हेप्ने जस्ता काम गर्थे । उनीहरु मलाई प्रायः यस्तै व्यवहार गर्ने गर्थे ।

त्यो दिन पनि उनीहरुले मलाई त्यस्तै व्यवहार गरे । म रुँदै घर फर्किएँ । मलाई सारहै चित्त दुख्यो । मलाई मेरो दुनियाँ सकियो भन्ने भयो । म धेरै रोएँ कराएँ तर कोही कसैले पनि मलाई सुनेनन् र बुझेनन् । मैले आफूलाई खुसी राख्ने एउटा मात्र उपाय सुझाएँ । म सपनाको संसारमा जान चाहन्थेँ । अब म सपना मै हराउन थालेँ ।

म त्यो दिन घर गएर सुतेँ । मैले सपना देखेँ । सपनामा फेरि त्यस्तै रमाइला साथी देखेँ । म उनीहरुसित रमाउन थालेँ । त्यहाँ मेरो परिवार पनि रमाइलो थियो । आमाले मिठामिठा खानेकुरा दिनुहुन्थ्यो । म आमाको छेउमा बसेर खाने गर्थेँ । बुवाको हात समाउँदै खेल्न जान्थेँ । आहा ! कति सुन्दर संसार थियो त्यो मेरो लागि ।

म सधै सपनामै हराउन थालेँ । मैले बिस्तारै सपना र विपना छुट्याउन छोडेँ । मलाई गाह्रो भईसकेको थियो ।

एक दिन म सुतिराखेको थिएँ । निद्रा परेन, के गरौँ कसो गरौँ भयो । म बाहिर निस्कैँ । घरदेखि पर एउटा चौतारो थियो । म त्यहाँ गएँ र बसेँ । त्यही चौतारोमा सुत्ने प्रयास गरेँ तर सुत्न सकिनँ । रातभरि आकासका ताराहरु हेर्दै बसेँ । सोचेँ मेरो जिन्दगी पनि मेरो सपनाको जस्तो होस् । ताराहरुसित मेरा चाहनाहरु व्यक्त गरिरहेँ । रात बितेको चालै पाइनँ ।

बिहान भयो । म घर गएँ र विद्यालय जान तयार भएँ । घर पुग्ने बित्तिक आमाले कराउन थाल्नुभयो । म चुपचाप आफ्नो कोठामा गएर बसेँ । त्यो एकान्तको शून्यतामा मैले आफ्नो आँसु खसालेँ । जीवन के हो भन्ने कुरा नबुझी एक्लै टोलाइरहँे । केही दिन म विद्यालय गइनँ । मलाई घरदेखि कतै जान मन लागेन । केही समय भइसकेको थियो मैले मेरो सपनाको संसारमा प्रवेश गरेको । मेरी आमा अलि धेरै चिन्तित भएर भन्नुभयो, “हेर् हरि ! यो कोठा कति गुम्सेको छ । झ्याल लगाएर एक्लै बस्छस् । त्यसो नगर् । तँ स्कुल पनि गएको छैनस् । भोलिबाट स्कुल जानुपर्छ ।” म आमाको आवाज सुनेर “हस आमा“ भन्दै बाहिर निक्लिएँ ।

भोलिपल्ट म विद्यालय गएँ । धेरै दिन विद्यालय नगएकाले गुरुआमाले विद्यालय नआउनुको कारण सोध्नुभयो । मैले सबै कुरा बताएँ । मेरो कुरा सुनेर गुरुआमा छक्क पर्नुभयो र आँखाभरि आसु पार्नुभयो ।

मलाई मायाले सुम्सुम्याउनुभयो र धेरै सम्झाउनुभयो । उहाँले “तिमी सधैँ विद्यालय आएर राम्रोसित पढ । केही समस्या भए मलाई भन” भन्नुभयो । मन केही हलुका भयो ।

घर आउँदा आमालाई देखेँ । आज किन किन आमासित अँगालो हालेर रुन मन लाग्यो । आमालाई अँगालो हालेँ धेरै रोएँ । आमा पनि मसितै रुनुभयो ।

आमाले “तँलाई के भएको हो ?” भनी सोध्नुभयो । विद्यालयमा गुरुआमाले मनको गाँठो खोलिदिनु भएको थियो । आमालाई मेरो मनको कुरा सबै भनेँ । आमाले पनि मलाई मायाले सुम्सुम्याउनभयो । म दिनहुँ विद्यालय जान थालेँ । गुरुआमाले माया गरेको देखेर साथीले पनि जिस्क्याउन छोडे । म नियमित रूपमा आफ्नो पढाइमा तल्लीन हुन थालेँ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children