Skip to main content

रिसको परिणाम

युक्ता खड्का

कक्षाः नौ

शिवपुरी नजिकै एउटा सानो वस्ती थियो । त्यहाँ एउटा परिवार बस्थ्यो । त्यो परिवारमा उदय नामको पन्ध्र वर्षे केटो थियो । ऊ सानो सानो गुनासो गरिरहन्थ्यो । उसको यस्तो स्वभावले गर्दा परिवारका सबै जना दिक्क भइसकेका थिए ।

एक दुई हप्तादेखि उसको रिसाउने बानी अझै बढ्न थालेको थियो । घरमा आमाबुवाले जहिले उसलाई गाली गरिरहन्थे र त्यही कारण उसलाई छिटै रिसाउने बानी लागेको थियो । विद्यालयमा गएर ऊ आफ्नो घरको रिस साथीहरुमा पोख्ने गथ्र्यो । साथीहरुले केही कुरा भन्दा पनि ऊ भनक्क रिसाइहाल्थ्यो । विद्यालयमा ऊ दिन दिनै रिसको पोको भएर आउँथ्यो र त्यो रिसको पोको कोही न कोहीमा गएर फुट्थ्यो ।

उदयको यस्तो व्यवहार कसरी विकास भयो भनेर कसैले चासो राख्दैनथ्यो । उसको रिसको कारण कसैलाई थाहा थिएन । सबैले उसलाई घृणा गर्थें । विद्यालयमा पनि उसका साथी एकदम कम थिए । ती साथी पनि उसको व्यवहारबाट दिक्क भइसकेका थिए । उनीहरुले पनि उदयसितको मित्रता त्यागिदिए । यसले गर्दा उदयको मन धेरै दुख्यो । विद्यालयमा उसका साथीहरुले उसलाई देखेको नदेखेजस्तो गर्न थाले ।

उसलाई घरमा कसैले नबुझे पनि आफ्ना साथीहरुले बुझ्छन् कि भन्ने उसको आशा पनि टुटिसकेको थियो । उदयलाई आफ्नो घरभन्दा पनि विद्यालय र त्यहाँका साथीहरु प्यारा थिए । ती साथीहरुले नै यस्तो व्यवहार गरेपछि उसको मानसिक स्वास्थ्य दिनदिनै बिग्रिँदै गयो ।

घरमा सानो सानो कुरामा गाली खानुपर्दा र विद्यालयमा पनि एक्लो हुनुपर्दा उसको पूरा संसार नै अँध्यारो भयो । यस्ता कुराले गर्दा ऊ आफ्नो पढाइमा पनि हेलचेक्राइँ गर्न थाल्यो ।

परीक्षा नजिक आएको हुँदा पनि उसको ध्यान पढाइमा गएको थिएन । परीक्षा पनि सकियो तर उसले राम्रो गर्न सकेन । परीक्षाको नतिजा आएपछि ऊ घर फर्किंदै थियो । उसलाई परीक्षाको नतिजादेखि पनि अत्यन्त रिस उठेको थियो । आमाबुवालाई त्यो नतिजा देखाएपछि उसले भयङ्क र गाली र पिटाई खाने कुरा निश्चित थियो । जब उसले नतिजापत्र देखायो तब उसले गाली त खायो तर उसले सोचेजस्तो पिटाइ चाहिँ खाएन ।

ऊ आमाबुवाको त्यस्तो व्यवहार देखेर अचम्मित भयो । भोलिपल्ट बिहान सबेरै उठेर उसले आफ्नो फोन खोज्यो तर पाएन । ऊ आत्तिँदै आमाकहाँ गयो र सोध्यो, “आमा मेरो फोन तपार्इँले राखिदिनुभएको हो ?”

आमाले फोन, भकुन्डो लगायत अरु सबै मनोरञ्जनका सामाग्री लुकाइदिनुभएको रहेछ । यो कुरा सुनेर उदयको दिमाग तात्न थाल्यो । ऊ रिसाएर भान्साकोठामा गयो र चिया बनाउन थाल्यो ।

चिया पाकेपछि रिसको सुरमा उसले ग्याँस बन्द गर्न बिर्सियो । आमा बजार जानुभएको थियो । बुबा भने सबेरै काममा जानुभएको थियो । त्यो समयमा घरमा कोही पनि थिएन । उदय घरमा एक्लै थियो । उसलाई ग्याँस खुला छोडेको याद पनि भएन ।

ऊ सरासर आफ्नो कोठामा गयो र आफ्नै धुनमा हरायो । केही समयपछि उसको कोठाभरि धुवाँ भरियो । धुवाँ देखेर ऊ आत्तियो । ऊ दगुरेर कोठाबाहिर निस्कियो । उसले घरमा आगो हुरहुरी बलिरहेको देख्यो । उसको घर नजिक धरहरु थिएनन् । त्यो घटना कसैलाई थाहा भएन । त्यसैले सहयोग गर्न पनि कोही आएनन् । उदयलाई पछि बल्ल याद आयो कि उसले रिसको झोँकमा ग्याँस बन्द गर्न नै बिर्सिएछ ।

ऊ डरायो । ऊ घरका सामान निकाल्न जलिरहेको घरभित्र पस्यो । उसलाई रोक्ने मानिस पनि कोही थिएन । आगो धेरै लागिसकेको हुनाले ऊ बाहिर निस्कन सकेन । ऊ घरभित्र नै कराउन थाल्यो । केही उपाय नलागेपछि उसले अन्तिम विश्राम लियो । आमाबुवा घरमा आउँदा विभत्स रूप देखे । छोराको पनि मृत्यु भएपछि उनीहरु रुन कराउन थाले । उदयको मृत्युबारे थाहा पाएर उसका साथी तथा गाउँका मानिस पनि दुःखी भए । उदयका आमाबुवा पनि छोरालाई नजिकबाट माया गरेर उसको मनोभावना नबुझेकोमा पछुताए ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children