सहायता
सुवान पौडेल
नेपालको एउटा सानो हिमाली गाउँमा राघब र सबल नाम गरेका परम मित्रहरु बस्थे । उनीहरु साथी भए पनि एउटै आमाको कोखबाट जन्मिएका दाजुभाइजस्ता थिए । उनीहरुको मित्रता सानैबाट सुमधुर र गहिरो रहेको थियो ।
उमेर बढ्दै गयो । उनीहरुका सपना पनि बड्दै गए । उनीहरुको सानो गाउँमा डाक्टर र इन्जिनियर पेशालाई मात्र सम्मानका साथ हेरिन्थ्यो । अन्य पेशालाई घृणाको दृष्टिले हेरिन्थ्यो ।
राघबको सपना चित्रकार बन्ने थियो भने सबलको सपना सङ्गीतकार बन्ने थियो । उनीहरुको परिवार तथा गाउँमा उनीहरुको इच्छालाई बुझ्ने कोही पनि थिएनन् । त्यसैले उनीहरुले आफ्नो इच्छालाई दबाएर राखेका थिए ।
एक दिन चौतारीमा बसेर ती दुई साथीहरु कुरा गर्दै थिए । राघब भने आफ्नो किताब पढेर बसिरहेको थियो । त्यो किताबमा ‘मेरो लक्ष्य’ भन्ने पाठ रहेछ । अचानक राघबले सबलसित उसको लक्ष्यका बारेमा सोध्यो ।
कुरैकुरामा दुबै जनाले आफ्नो लक्ष्यका बारेमा बताए । उनीहरुले सङगीतकार र चित्रकार बन्ने कुरा गरे । उनीहरुको गाउँमा यो पेशालाई राम्रो नमान्ने र मानसिक दबाब दिने हुँदा उनीहरुले खुलेर कुरा गरेका थिएनन् ।
कुरैकुरामा सबलको दिमागमा एउटा विचार आयो । उसले राघबसित गाउँमा एउटा क्लब खोल्ने विचार राख्यो जहाँ गाउँभरिका वा अन्य ठाउँका मानिस पनि आएर आफ्नो प्रतिभा देखाउन पाउनेछन् । सबलको यस्तो राम्रो विचारलाई राघबले समर्थन गर्यो । क्लबको नाम के राख्ने भनेर ठुलो छलफल चल्यो । सबैको प्रतिभालाई प्रस्तुत गर्न सहयोग होस् भन्ने उद्देश्यले खोलिने भएकाले लामो समयको छलफलपछि क्लबको नाम ‘सहायता’ राख्ने कुरामा दुबैजनाको सहमति भयो
उनीहरुले क्लब खोल्ने विचार त गरे तर कसरी खोल्ने, कसरी चलाउने भन्ने कुनै अनुभव थिएन । राघब र सबलका मातापिता दुबै जना शिक्षित भएका कारण क्लब खोल्नलाई अनुमति र आर्थिक सहयोग त मिल्यो तर त्यसको सल्लाहकार कोही भएन । उनीहरुले चित्रकला र सङ्गीतका सबै सामान पनि किनेर ल्याए र उनीहरुको घर नजिक एउटा सानो छाप्रो पनि बनाउन लगाए । उनीहरुले जाने अनुसार क्लबको उद्घाटन पनि गरे ।
गाउँका मान्छेहरुले धेरै कुरा काटे । उनीहरुलाई होच्याए । उनीहरुले कसैको कुरा सुनेनन् । उनीहरु निरन्तर रूपमा आफ्नो काममा लागे । उनीहरुले गाउँमा भएका सबैलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न आह्वान गरे । सुरुको एक हप्तासम्म कोही पनि आएनन् र क्लबको कुनै प्रगति भएन । उनीहरुले ल्याएको सामानको नाश भयो । यसले उनीहरुलाई दुःखी बनायो । धेरै पैसा र सामानको नाश भएको देखेर अबदेखि उनीहरुका बुवाआमाले पनि सहयोग नगर्ने निर्णय गर्नुभयो राघब र सबल निराश भएर क्लबमा बसिरहेका थिए । दुबै जनाले अब क्लब बन्द गरेर आफ्ना सपना त्याग्ने विचार गरे ।
क्लब बन्द गर्ने कुरा गर्दैगर्दा पल्लो गाउँका तीन जना, राघब र सबलकै उमेरका केटाहरु आए । राघब र सबलको मनमा एउटा आशाको दीप बल्यो । उनीहरुले खुसी भएर ती आगन्तुकको स्वागत गरे । ती केटाहरु क्लब खोलेको थाहा पाएर केही सरसल्लाह गर्न आएका थिए । ती तीन जनामध्ये एक जना चित्र बनाउनमा सिपालु थियो भने अर्को चाहिँ गीतसङ्गीतमा सिपालु थियो । राघबले ती तीन जनाको नाम रजिस्टरमा लेख्यो ।
सबल र अरु दुई जना मिलेर म्युजिक सिस्टम जोडेर गीत बजाउन थाले भने राघब र अर्को साथी भने बाहिर चौतारीमा गएर क्यानभासमा चित्र बनाउन थाले । गाउँलेरूले पनि सङ्गीतको मधुर आवाज सुने । उनीहरु एक एक गर्दे क्लबमा आउन थाले । हेर्दाहेर्दै त्यहाँ एउटा ठुलो भीड जम्मा भयो । कोही गीत गाएतर्फ जान थाले भने कोही चित्र बनाएतर्फ गए । ती पाँच जना केटाहरुको प्रतिभाबाट प्रभावित भएर भेला भएका मानिसहरु पनि गीत गाउन थाले भने कतिपय क्यानभासमा चित्र कोर्न थाले । त्यो दिन करिब दश जना ‘सहायता’ क्लबमा जोडिए ।
क्लबमा आशाका किरणहरु देखिन थाले । त्यो रात राघब र सबल खुसीले निदाउन सकेनन् । आफ्नो सपना पूरा हुने सङ्केत देखिन थालेकामा उनीहरु अत्यन्त खुसी भए ।
भोलिपल्ट बिहान उठेर क्लबतिर जान लागेको सबललाई उनका आमाबुवाले “हामी सधैँ यस्तो फाल्तु कामको लागि पैसा दिन सक्दैनौँ । यो क्लब बन्द गर ।” भन्नुभयो ।
बुवाआमाको यस्तो कुरा सुनेर ऊ रिसाउँदै राघबको घर गयो र सबै कुरा राघबलाई सुनायो । सबलको यस्तो कुरा सुनेपछि राघबको चित दुख्यो । राघबले क्लबका आफूलगायत पन्ध्र जना सदस्यलाई भेला पारेर यो कुरामा गम्भीर रूपमा छलफल चलायो । छलफलका क्रममा राम भन्ने उनीहरुको एउटा साथीले एउटा उपाय निकाल्यो । ऊ एउटा राम्रोसँग गितार बजाउने केटो थियो । उसले क्लबको आर्थिक समस्या समाधानका लागि ‘कलामेला’ को आयोजना गर्ने र त्यहाँबाट केही अर्थ जुटाउने कुरा गर्यो । सबै उसको कुरामा सहमत भए । त्यही दिन उनीहरुले ‘सहायता मेला’ को आयोजना गर्ने योजना बनाए ।
‘सहायता मेला’ सञ्चालन गर्न सबै जना जुट्न थाले । कोही क्यानभास लगेर राख्न थाले भने कोही सङ्गीतका सामानहरु राख्न थाले । उनीहरुले त्यस कार्यक्रमको प्रचार पनि गरे ।
एउटा बोर्डमा लेखियो ‘अवसर ! अवसर ! अवसर ! आउनुहोस् आफ्नो कला देखाउनुहोस् । सकेको पैसा तिर्नुहोस् र आफूसँग जेजस्तो कला छ, देखाउनुहोस् ।’
यो मेलाको बारेमा सुनेर धेरै मान्छे आए । पैसा दिएर रमाइलो गर्न थाले । विभिन्न गीत बजाए र फरक फरक चित्र बनाए ।
यो कुरा धेरै टाढासम्म फैलिँदै गयो । त्यो गाउँका मात्र नभएर अन्य गाउँका मानिस पनि सो मेलामा आउन थाले । भीड यति बढ्यो कि एक दिनको कार्यक्रलाई तीन दिन लम्ब्याउनुपर्यो । पैसा पनि राम्रै उठ्यो । यसले उनीहरुमा झन हौसला मिल्यो ।
यो सफलताबाट उनीहरुमा आत्मविश्वाश बढेर गयो । हरेक महिना ‘सहायता मेला’ आयोजना हुन थाल्यो । त्यो सानो गाउँमा यो कार्यक्रमले मानिसहरुको सोचाइमा परिवर्तन ल्याइदियो । डाक्टर इन्जिनियरजस्ता पेशा मात्र होइन अन्य पेशातिर पनि ध्यान दिन थाले । राघब र सबलले खोलेको ‘सहायता क्लब’ को सबैले प्रशंसा गर्न थाले ।