इम्पेरियल स्कुलमा कला र साहित्य महोत्सव : प्रविधि र साहित्यलाई जोड्न आवश्यक - newsofnepal.com

काठमाडौँ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित हात्तिगौडामा रहेको इम्पेरियल वल्र्ड स्कुलले दोस्रो काठमाडौँ साहित्य महोत्सवको आयोजना गरेको छ । साहित्य र कलाको माध्यमबाट बालबालिकाको सृजनशील भविष्यको निर्माणका लागि महोत्सवको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
माघ १७ र १८ गते दुई दिन आयोजना गरिएको महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए । उनले नगरपालिकामा रमाइलो शुक्रवार कार्यक्रम अगाडी बढाएको र विद्यार्थीलाई आफ्नो खुट्टामा आफै उभ्याउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
नगरपालिका भित्र इम्पेरियल वल्र्ड स्कुल जस्ता राम्रा विद्यालय रहेको उल्लेख गर्दै विद्यालयको गुणस्तर सुधारका लागि निजि र सामुदायिक विद्यालयको साझेदारी आवश्यक रहेको उनको भनाई थियो । अधिकारीले एउटा निजि विद्यालयले एउटा सामुदायिकसँग साझेदारी गर्नै पर्ने प्रावधान पालिकामा गर्न लागिएको समेत जानकारी दिए ।
पत्रकार युवराज घिमिरेले उद्घाटन सत्रमा बोल्दै मान्छेहरूको दुःख, पिडा, पिर, खुसी प्रतिकूलको अवस्थामा पनि संवेदनशीलता आँखाले नदेखेका कुरालाई साहित्य र आर्टका माध्यमबाट अनुभूति र अभिव्यक्त गर्न सकिने भएकाले जीवनमा कला साहित्यको ठुलो महत्व रहेको बताए ।
पहिलो दिन साहित्य र कलाको माध्यमबाट बालबालिकाको सृजनशील भविष्यको निर्माण सम्बन्धी प्यानल छलफलको आयोजना गरिएको थियो । छलफलका प्यानलिस्टमा शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमि र टिभी निर्देशक तथा निर्माता अमन प्रताप अधिकारी रहेका थिए ।
शिक्षाविद् कोइरालाले बालबालिकालाई अभिभावकले आफू जस्तै बनाउनेकी बालबालिकालाई उनिहरूजस्तै हुन दिने भन्ने विषयमा अभिभावकले गहिरोसँग बुझ्न आवश्यक रहेको र बालबालिकासँग अभिभावक जेडिन सक्नुपर्ने धारणा व्यक्त गरे । कला र साहित्यको सन्दर्भमा बोल्दै सामान्य रूपमा मात्रै पनि हेर्ने हो भने विद्यार्थीहरूले राष्ट्रिय गान गाएपनि हरेक शब्दको अर्थ पनि सिकाउन नसकिएको र सिकाईयो भने पनि धेरै कुरा उनिहरूले बुझन सक्ने धारणा बताए ।
बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो बाल्यकालको अवस्थालाई स्मरण गर्दै अहिलेका बालबालिकालाई स्रोत धेरै भएपनि अनुकूलता नहुने परिस्थिति रहेकोले त्यसलाई तालिका बनाएर विद्यालय र अभिभावकले सहयोग गर्नुपर्ने बताइन । आफूले बाल्यकालमा थोरै स्रोत साधनकाबिच अध्ययन गरेको र त्यो अवस्थामा पनि रेडियोमा नाटक कहिले आउँछ भनेर विद्यालय नै नगई कार्यक्रम ढुकेर बस्ने गर्दा विस्तारै साहित्यमा रुचि बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीको सोचलाई साहित्य परक बनायौ की बनाएनौ भन्ने विषयमा ख्याल गर्नुपर्ने बताइन । साथै आजको वस्तुस्थिति र समय सापेक्षमा जानुपर्ने उनको भनाई थियो ।
चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमिले भिजुअल साहित्य शिक्षामा निकै कम रहेको बताउँदै त्यसले विद्यार्थीको सिर्जनामा सहयोग पुग्ने बताए । आफूले गुमाएको, भोगेको बाल्यकाल अहिलेको बालबालिकामा खोजेर नपाईने उदाहरण दिँदै किताबमा जे छ त्यही कुरा घोकाएर पढाउँदा बालबालिकाको बुझाई, धारणा र परिकल्पना गलत हुन सक्ने भएकोले भिजुअलमा, अनुगमनमा पढाएर त्यसलाई विश्लेषण गर्न सिकाउनुपर्ने उनको भनाई थियो ।
टिभी निर्देशक तथा निर्माता अमन प्रताप अधिकारीले पछिल्लो समय इन्टरनेट, मोबाइल, ल्यापटप लगायत प्रविधिको बालबालिकाले धेरै प्रयोग गर्ने गरेको र अहिलेको पुस्ता यसैमा हुर्किएकोले हाम्रो कला र साहित्यलाई जोगाउन आवश्यक रहेको धारणा राखे । उनले बालबालिका जहाँ छन् अभिभावक त्यही जानुपर्ने, बालबालिकाकै मोबाइलबाट उनिहरूकै कोठामा पुगेर सिकाउनु पर्नेमा जोड् दिए ।
स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्कीले विद्यार्थीहरूलाई नेपाली ÷अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइन । उनले यस विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउन सहयोग होस भनेर हरेक वर्ष काठमाडौँ साहित्य महोत्सवको आयोजना गर्दै आएको जानकारी दिइन ।
माघ १७ र १८ गते दुई दिन सम्म चल्ने साहित्य महोत्सवमा कला, भाषा, कथा कविता लेखन, नाटक, मिडिया तथा सामाजिक सञ्जालले पारेको प्रभाव लगायतका विभिन्न क्षेत्रका २५ जना विज्ञहरूले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया तथा वर्कसप गरिने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी रहेको इम्पेरियल वल्र्ड स्कुलले जनाएको छ ।
उक्त अवसरमा विद्यालयका बालबालिकाहरूले नै लेखेको नेपाली भाषाको कविता सङ्ग्रह पल्लव र अङ्ग्रेजी भाषाको इकोज अफ द वन्डरफुल माइण्ड नामक पुस्तकको विमोचन गरिएको थियो । साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शनमा राखिएको थियो ।
