काठमाडौँ । कार्तिक १७ गते सोमवारदेखि नेपाल लगायत बाह्र देशका कलाकार सम्मिलित लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वल्र्ड स्कुलको प्रेक्षालयमा हुँदैछ ।
महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति हेर्न पाईने छ । यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन् । बालबालिकासँग नाट्य कार्यशाला समेत हुनेछ ।
उद्घाटन अवसरमा कलाकार, सङ्गीत नाट्य एकेडेमीका पुर्व उपकुलपति हरिहर शर्मा, डा अभि सुवेदी, डा. सावित्री कक्षपति, नाट्य निर्देशक, लेखक अषेश मल्ल, रङ्गकर्मी आकाङ्क्षा कार्की, रङ्गकर्मी प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मञ्जु गिरी, पुष्पराज अवस्थी लगायतका अतिथिहरूको सहभागीले महोत्सवलाई भव्य बनाउने छ ।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना हुँदै आएको छ । आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने इच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक अध्यक्ष कुमार कार्कीले बताए ।
‘विदेशी कलाकारहरू बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ । जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्’ उनले भने ।
यो महोत्सव नेपालबाट संसारभरिलाई सकारात्मक सन्देश दिने ममत्वपूर्ण मञ्च रहेको र हरेक वर्ष सहभागी भईरहेका थिएटर संस्थाहरू नेपालप्रति असाध्यै सकारात्मक रहेको आयोजकको भनाई छ ।
बाह्र देशका पचास जना कलाकार आआफ्ना देशका भेषभुषा लगाएर, झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरीथरीका फूल फुलेका बगैँचाजस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईंले बताए ।
यसपालि महोत्सव भव्य हुनेमा उनी विश्वस्त छन्, ‘यो वर्ष अप्ठ्यारो समय हो । यही अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौँ । हरेक वर्ष नेपालका नाट्य संस्था, रङ्गकर्मीहरूको साथ, सहयोग पाउँदै गएका छौँ ।’
‘नाटक महोत्सवको सबै तयारी सकिएको हुनाले शुक्रवार देखिनै कलाकारहरूलाई स्वागत गर्न थालिसक्यौँ’ विद्यालयकी प्रिन्सिपल जुनीता कार्की बताउँछिन् ।
सोमवार सुरु हुने नाट्य महोत्सवमा सोमवार नै उद्घाटनपछि आयोजक स्कुल, ब्रजिल र बङ्गलादेशको प्रस्तुति छ भने मंगलबार जापान, युके/थाईल्यान्ड, लातिभया, इरानको प्रस्तुति रहेको छ । बुधवार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको छ । बिहिवार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ । शुक्रवार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि समापन हुनेछ । नाटक मञ्चन समय हरेक दिन १०ः३०, १ः०० र ५ः०० बजे रहने छ ।