Skip to main content

लालाबालाको पाँचौँ काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सोमवारदेखि - sahityapost.com

| Media Coverage

काठमाडौं । नेपाललगायत बाह्र देशका कलाकारहरूको सहभागितामा लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण सोमबारदेखि सुरू हुँदैछ। इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा आयोजना हुने महोत्सव छ दिनसम्म चल्नेछ।

महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, बेलायत (युके), जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारहरूले आफ्ना देशका भाषा, भेषभूषा र सांस्कृतिक पृष्ठभूमिका आधारमा नाट्य प्रस्तुति गर्नुहुनेछ। साथै, बालबालिकाका लागि विशेष नाट्य कार्यशाला पनि आयोजना गरिनेछ।

महोत्सवको उद्घाटन समारोहमा सङ्गीत नाट्य एकेडेमीका पूर्व उपकुलपति हरिहर शर्मा, प्रा.डा. अभि सुवेदी, प्रा.डा. सावित्री कक्षपति, वरिष्ठ नाटककर्मी अषेश मल्ल, रङ्गकर्मी आकांक्षा कार्की, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मञ्जु गिरी र पुष्पराज अवस्थीलगायतका अतिथिहरूको उपस्थिति रहनेछ।

आयोजकका अनुसार सबै देशका कलाकारहरू आइतबार साँझसम्म काठमाडौं आइपुग्नुहुनेछ । नेपालमा उहाँहरूको बसाइँका क्रममा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गराइनेछ। चेक रिपब्लिक, स्लोभाकिया र लातभियाका कलाकारहरूले थप चार दिन नेपालका अन्य स्थान घुम्ने योजना बनाउनुभएकाे छ । उहाँहरूको सम्पूर्ण बसाइँ, खानपान र आवासको व्यवस्था आयोजक विद्यालय इम्पेरियल वर्ल्ड स्कुलले गरेको हो।

लालाबाला नेपालमा बालनाटकको अग्रणी संस्था हो। विद्यालयका संस्थापक तथा चेयरम्यान कुमार कार्कीकाे अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय कला–संस्कृति आदान–प्रदानको केन्द्र बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। “विदेशी कलाकार बस्ने, खाने र नाटक प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय भेन्युको रूपमा विद्यालयलाई विकास गर्न खोजिरहेका छौँ,” उहाँले भन्नुभयाे ।

महोत्सव निर्देशक टंक चौलागाईंका अनुसार यसपालिको संस्करण पनि भव्य हुने अपेक्षा गरिएको छ। “अप्ठ्यारो समयमा पनि विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर सकारात्मक सन्देश दिने हाम्रो उद्देश्य हो,” उहाँले बताउनुभयाे ।

विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले महोत्सवको तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयाे, “हामीले शुक्रबारदेखिनै अतिथिहरूलाई स्वागत गर्न थालिसकेका छौँ।”

सोमबार उद्घाटनसहित आयोजक विद्यालय, ब्राजिल र बङ्गलादेशका कलाकारहरूले नाटक प्रस्तुत गर्नुहुनेछ। मंगलबार जापान, युके/थाइल्यान्ड, लातभिया र इरानको प्रस्तुति हुनेछ। बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको, बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुने छ। शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन (भारत) र स्लोभाकियाको प्रस्तुति पश्चात् महोत्सव समापन गरिनेछ।

नाटक मञ्चनका समय हरेक दिन बिहान १०:३०, दिउँसो १:०० र साँझ ५:०० बजे तय गरिएको छ।

International World School Advertisement