अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न, १२ देशका कलाकार सहभागी
अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सम्पन्न भएको छ । यही कार्तिक १७ गतेबाट इम्पेरियल वर्ल्ड स्कुलमा सुरु भएको उक्त बालनाटक महोत्सवमा नेपाल लगायत बाह्र देशका कलाकार सहभागी थिए ।
दैनिक चार शो नाटक स्कुलकै प्रेक्षालयमा मञ्चन गरिएको थियो । बेलायतको ‘एब्स्ट्रयाक किड्स’को प्रस्तुति साना बालबालिकालाई लक्षित थियो । जसलाई बालबालिकाले निकै रुचाएका छन् ।
महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाईल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुत गरेका थिए । महोत्सवमा सहभागी विभिन्न देशका कलाकारले आ–आफ्नै शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गरेका थिए । बालबालिकासँग नाट्य कार्यशाला समेत गरिएको थियो ।
नाटक महोत्सवको पहिलो दिन बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, कलाकार, संगीत नाट्य एकेडेमीका पूर्वउपकुलपति हरिहर शर्मा, प्रा.डा अभि सुवेदीलगायतको सहभागीता रहेको थियो । महोत्सवको उद्घाटन लगत्तै आयोजक स्कुलको प्रस्तुति नाटक ‘बच्चा माई बच्चा’’ मञ्चन गरिएको थियो भने बङ्गलादेशको नाटक मिट्टिकर फुल पनि मञ्चन भएको थियो ।
दोस्रो दिन, युकेको ‘एब्स्ट्रेक शो’ ले दर्शकको मन जितेको थियो भने ईरानी प्रस्तुति ‘ईम्प्याथी’ हरेक दर्शकले रुचाएका थिए । तेस्रो दिन श्रीलंकाको Red Apple Theatre international gathering को नाटक चकलेट बिस्कुट मञ्चन भएको थियोे भने Joy house collective नेपालबाट माछाको रङ्गिन सपना मञ्चन भएको थियो ।
हिजो चौथो दिन, नेपालबाट भ्याली भ्यु स्कुलको नाटक ईच्छा भर्सेज समय र चेक रिपब्लिकको नाटक मञ्चन भएकाे थियाे । पाँचौ अर्थात् महोत्सवको अन्तिम दिन भारत र स्लोभाकियाले नाटक प्रस्तुत गरेका छन् । विभिन्न देशबाट नेपाल आइपुगेका कलाकारहरूलाई ६ दिनकाे बसाईमा उनीहरुलाई काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँ भ्रमण गराइनेछ ।
चेक रिपब्लिक, स्लोभाकिया, लातभिया थप चार दिन बसेर नेपालबाट विभिन्न ठाउँ घुम्ने योजनामा छन् । उनीहरुको नेपाल बसाइँको सबै खर्च आयोजक विद्यालय ईम्पेरियल वर्ल्ड स्कुलले गरिरहेको छ ।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ । आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने इच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक, चेयरम्यान कुमार कार्कीले बताए ।
उनले भने, ‘विदेशी कलाकारहरू बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ । जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन् ।’
उनका अनुसार याे महोत्सव नेपालबाट संसारलाई सकारात्मक सन्देश दिने महत्वपूर्ण मञ्च हो । हरेक वर्ष सहभागी भइरहेका थिएटर संस्थाहरू नेपालप्रति असाध्यै सकारात्मक छन् । १२ देशका ५० जना कलाकार आ-आफ्ना देशका भेषभुषा लगाएर, झण्डा बोकेर एकैसाथ एकै ठाउँमा देखिँदा थरिथरिका फूल फुलेकाे बगैँचा जस्तो देखिने महोत्सव निर्देशक टंक चौलागाईं बताउँछन् ।
यस पटककाे महोत्सव भव्य भएकाे छ । उनले भने, ‘यो वर्ष अप्ठ्यारो समय हो । यही अप्ठ्यारोमा हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौँ । हरेक वर्ष नेपालका नाट्य संस्था, रंगकर्मीहरूको साथ, सहयोग पाउँदै गएका छौँ ।’