Skip to main content

लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण जारी

| Media Coverage

काठमाडौँ: नेपाललगायत १२ देशका कलाकार सहभागी रहेको लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौं संस्करण काठमाडौँमा जारी छ। महोत्सवको पहिलो दिन गत सोमबार काठमाडौंको इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा नाटक मञ्चन भएको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुढानीलकण्ठ महानगरपालिकाकी उपमेयर अनिता लामासहित विशेष अतिथि कलाकार तथा सङ्गीत नाट्य एकेडेमीका पूर्व–उपकुलपति हरिहर शर्मा, प्राडा अभि सुवेदी, रङ्गकर्मी आकांक्षा कार्की, प्रभाकर न्यौपाने, राम केयसी, मञ्जु गिरीलगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

उद्घाटनको अवसरमा कलाकार सुन्दर लामाले ‘फर्ममेन्स आर्ट मुक्ति, एउटा उत्सव’ प्रस्तुत गरे। त्यसपछि आयोजक विद्यालयको प्रस्तुति ‘बच्चा माई बच्चा’ र बङ्गलादेशको नाटक ‘मिट्टिकर फूल’ मञ्चन गरिएको थियो।

दोस्रो दिन युकेको ‘एब्स्ट्र्याक्ट शो’ र इरानको ‘इम्प्याथी’ नाटकले दर्शकको मन जितेका थिए। महोत्सवका सहभागी कलाकारहरू आइतबार साँझसम्म नेपाल आइपुगेका थिए। उनीहरूलाई काठमाडौं, भक्तपुर र ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गराइएको छ।

महोत्सवका क्रममा बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति भएको थियो। बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक तथा शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन (भारत) र स्लोभाकियाको नाटक मञ्चन हुँदैछ।

महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारहरूले आफ्ना देशका भाषा र संस्कृतिमा विभिन्न शैलीका नाटक मञ्चन गर्नेछन्। साथै बालबालिकासँग नाट्य कार्यशालासमेत सञ्चालन गरिनेछ।

चेक रिपब्लिक, स्लोभाकिया र लातभियाका कलाकारहरू थप चार दिन नेपालमै बसेर विभिन्न स्थान अवलोकन गर्ने योजनामा छन्। उनीहरूको बसोबास, खानपान र अन्य सम्पूर्ण खर्च आयोजक विद्यालयले बेहोरेको हो। विद्यालयका संस्थापक तथा चेयरम्यान कुमार कार्कीका अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय कला–केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। ‘विदेशी कलाकारहरू बस्ने, खाने र नाटक प्रस्तुत गर्ने स्थायी भेन्यु बनाउने हाम्रो लक्ष्य हो,’ उनले बताए।

नाटक मञ्चन समय हरेक दिन बिहान १०:३०, दिउँसो १:०० र साँझ ५:०० बजे तय गरिएको छ। महोत्सव शुक्रबार औपचारिक रूपमा समापन गरिनेछ।

International World School Advertisement