Skip to main content

इम्पेरियल वर्ल्ड स्कुलमा २१३ औँ भानुजयन्ती

24 July 2026

काठमाडौँको इम्पेरियल वर्ल्ड स्कुलमा असार २५ गते २१३ औँ भानुजयन्तीको पावन अवसरमा 'भानुजयन्ती विशेष कार्यक्रम तथा कविता वाचन प्रतियोगिता' भव्यताका साथ सम्पन्न भएको छ। आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण एवम् दीप प्रज्ज्वलन गरी शुभारम्भ गरिएको उक्त समारोहमा देशका चर्चित वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विद्यालय प्रशासन, सम्पूर्ण शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको बाक्लो र उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको गरिमालाई उच्च बनाएको थियो।

समारोहको मुख्य आकर्षणका रूपमा आयोजित 'कविता वाचन प्रतियोगिता' मा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। प्रतियोगी विद्यार्थीहरूले विभिन्न छन्दमा रहेर नेपाली भाषाको महत्त्व, आदिकवि भानुभक्तको योगदान, देशभक्ति, प्रकृति तथा सामाजिक चेतनामा आधारित सुमधुर र भावपूर्ण कविताहरू लयबद्ध रूपमा वाचन गरे। बालबालिकाहरूको उत्कृष्ट शब्द चयन, आत्मविश्वास र कलात्मक वाचन शैलीले उपस्थित सम्पूर्ण शिक्षक, अतिथि तथा सहपाठीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ कवि दिनेश अधिकारीले नेपाली भाषाको एकीकरणमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले बालबालिकामा मौलिक साहित्य र भाषाप्रतिको अभिरुचि बढाउन विद्यालयले गरेको यस प्रयासको उच्च प्रशंसा गर्नुभयो। सोही अवसरमा नेपाली साहित्यमा दिएको विशिष्ट योगदानको कदर गर्दै विद्यालय प्रशासनका तर्फबाट प्रमुख अतिथि अधिकारीलाई सम्मानपत्रका साथ 'मायाको चिनो' प्रदान गरी सम्मान गरियो। प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै र सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो।