Skip to main content

सपना

दिपीसा पण्डित

कक्षा : सात (मेची)

बसन्तनगर नामको एउटा सानो गाउँमा मीना, राम, उनका बुबा र आमा गरी चार जनाको गरिब परिवार बस्दथे । मीना र उनका दाइ राम अत्यन्तै मिल्थे । उनका बुबा एक साधारण कर्मचारी थिए, जसको आम्दानीले घर चलाउन निकै कठिन भइरहेको थियो | एकदिन जब बुबा घर फर्किए, उनी निकै रिसाएका थिए | आमाले रिसाउनुको कारण सोध्दा थाहा भयो की बुबाले आफ्नो जागिर गुमाइसकेका रहेछन्‌ । अब घर चलाउने पैसा पनि थिएन । आमाले फेरि नयाँ जागिर खोज्नु भनेर बुबालाई गनगन गरिरहन्थिन्‌ | बुबा झनै रिसाएर दिनभरि कोठामा बसिरहन्थे । घरमा धेरै समस्या भइरहेको थियो । घर चलाउन आमालाइ निकै गाह्रो भइरहेको थियो | मीना भने केही थाहा नपाएको जस्तै आफ्नै दुनियाँमा रमाइरहेकी थिइन्‌ ।

एक रात मीना अचानक बिउँझिन्‌ । उनले आमालाई रुँदै बसेको देखिन्‌ । उनले आमालाइ के भयो भनेर सोधिन्‌ । कारण सोध्दा आमाले "केही होइन“ भन्दै टारिदिइन्‌ । मीना फेरि सुतिन्‌ तर उनको मन रमाउन सकेको थिएन | उनलाइ निद्रा पनि लागेन । बिहान उठेपछि मीना र रामले घरमा आमालाइ देखेनन्‌ । उनीहरूले यताउता जताततै आमालाइ खोजे | उनीहरू तल गएर हेर्दा आमाले छोडेर गएको पत्र भेट्टाए । आमाले घर छोडेर गएकी थिइन्‌ | पत्र पढेपछि उनीहरू दुबै अत्यन्तै दुःखी भए । बुबाले पनि आमाले घर छोडेर गएको कुरा थाहा पाए । त्यसदिनदेखि बुबा पनि निरास भएर बस्न थाले | उनी छोराछोरीसँग पनि बोल्दैनथे । त्यसको केही त्यसपछि बुबाले पनि घर छोडेर गए | घरमा दिदीभाइ टुहुरा जस्ता भए । घरमा दाल-भात त परै जाओस्‌,केही खानेकुरा पनि थिएन | उनले डालोमा अलिकति बाँकी रहेको चिउरा निकालिन्‌ । उनलाइ निकै भोक लागेको थियो तर उनले एक्लै चिउरा खान सकिनन्‌ । दाइ पनि भोकले गर्दा खाटमा बसेर रोइरहेका थिए | दुबै दाजुबहिनीले तातो पानीसँग चिउरा खाएर भोक मेटे ।

अर्को दिन दुवै दाजु-बहिनी घरबाट निस्किएर बत्ती बेच्न थाले । धेरै कमाउन नसके पनि दुवै एक-अर्कालाई अटुट साथ दिँदै खुसी भएका थिए | जाडो पनि आइपुग्यो तर उनीहरूसँग तातो कपडा थिएन | एक दिन मीना बत्ती बेच्दै बाटोमा हिँडिरहेकी थिइन्‌ । जाडो असाथ्यै थियो । त्यतिकैमा उनले एउटा घरको ढोका खुला देखिन्‌ र भित्रपट्टि तातो महसुस भयो । उनी ढोकामा उभिएकी थिइन्‌ । त्यस घरमा आर्ती नामकी केटी भित्र बसेकी थिइन्‌ । मीनाले आफूलाई लुकाइन्‌, तर आर्तीले उनलाई देखिन्‌ । तर मीनाले सोचेजस्तो नभएर उनी असल केटी थिइन्‌ । उनले मीनालाई भित्र बोलाएर साथी बनाइन्‌ । आमालाई भनेर मीनालाई आफूनै घरमा राखिन्‌ । आर्तीको घरमा मीना सानो-सानो काम पनि गर्न थालिन्‌ ।

तर आर्तीकी आमाले मीनालाई मन पराइनन्‌ । उनको व्यवहार कठोर थियो | आर्ती र मीना धेरै मिल्ने भएकाले आमालाई झन्‌ रिस उठ्थ्यो । अन्ततः एक दिन आर्तीकी आमाले बिना कारण मीनालाई घरबाट निकालिदिइन्‌ । मीना फेरि सडकमा बत्ती बेच्न थालिन्‌ । आर्तीले चुपचाप मीनालाई भेटेर पैसा र खाना दिँदै सहयोग गर्थिन्‌ । तर केही दिनमै आर्तीकी आमाले यो कुरा थाहा पाइन्‌ र आर्तीलाई बाहिर निस्कनै रोकिदिइन्‌ । अब मीना पूर्ण रुपमा एक्ली भइन्‌ ।

एक दिन अत्यन्तै जाडो थियो । मीना दिनभरि बत्ती बेच्न सडकमा बसिन्‌ तर एउटा पनि बिकेन | उनी चिसो बाटोको कुनामा बसेर काँपिरहेकी थिइन्‌ | चिसोले उनको शरीर सुन्निन थाल्यो । उनले एउटा बत्ती बालिन्‌ । त्यसको झिल्कामा उनले दाइ रामको चम्किलो अनुहार देखिन्‌ तर आगो निभ्यो । उनले अर्को बत्ती बालिन्‌ त्यसको उज्यालोमा आमाको मुख देखिन्‌, तर त्यो पनि निभ्यो । अन्ततः उनले सबै बत्ती एकैचोटि बालिन्‌ । त्यो उज्यालोमा उनले आफ्नो परिवार, दाइ, आर्ती सबैलाई खुसी भएर खाना खाइरहेको देखिन्‌ तर जति छिटो उज्यालो फैलियो, उति छिटो निभ्यो । चिसोले गर्दा मीना बिस्तारै बेहोस हुँदै गइन्‌ ।

आँखा खोलेपछि मीना अस्पतालको खाटमा थिइन्‌ । दाइ राम उनको छेउमै बसेका थिए । मीना डराउँदै सोधिन्‌, "दाइ, के भयो मलाई ?”

रामले उनको हात समाउँदै भने, "तिमीलाई धेरै ज्वरो आएको थियो | धन्न, कसैले तिमीलाई अस्पताल ल्याइदियो । अब चिन्ता नगर मलाई राम्रो जागिर मिलेको छ | हामी दुबैले मिलेर हाम्रो जीवन फेरि राम्रो बनाउनेछौँ ।“

मीनाले मुस्कुराइन्‌ । उनले बिस्तारै आफ्नो बितेका दुःख र आमाबुबा सम्फझिइन्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children