लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण सम्पन्न भएको छ। १२ देशका कलाकार सम्मिलित उक्त बालनाटक महोत्सव इम्पेरियल वर्ल्ड स्कुलमा सोमबार उद्घाटन भएको थियो। उद्घाटनपश्चात् दैनिक चार सो नाटक स्कुलकै प्रेक्षालयमा मञ्चन भएका थिए।
महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारको नाट्य प्रस्तुति एकै मञ्चमा आइपुगेका थिए। यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नुका साथै बालबालिकासँग नाट्य कार्यशालासमेत गरेका थिए।
पहिलो दिन उद्घाटनको अवसरमा प्रमुख अतिथि बुढानीलकण्ठ महानगरपालिकाकी उपमेयर अनिता लामा, विषेश अतिथि कलाकार संगीत नाट्य एकेडेमीका पूर्वउपकुलपति हरिहर शर्मा, प्रोडा अभि सुवेदी, अतिथिहरू रंगकर्मी आकांक्षा कार्की, रंगकर्मी प्रभाकर न्यौपाने, राम केसी, मन्जु गिरीलगायतका अतिथिहरू सहभागी थिए।
कलाकार सुन्दर लामाले फर्ममेन्स आर्ट मुक्ति एउटा उत्सव प्रस्तुत गरे। पहिलो दिन उद्घाटनलगत्तै आयोजक स्कुलको प्रस्तुति नाटक ‘बच्चा माई बच्चा’ मञ्चन गरिएको थियो भने बंगलादेशको नाटक मिट्टिकर फुल पनि मञ्चन भएको थियो।दोस्रो दिन युकेको ‘एब्स्ट्रेक सो’ले दर्शकको मन जितेको थियो भने परानी प्रस्तुति ‘इम्प्याथी’ पनि दर्शकले रूचाएका थिए।
यसैगरी, तेस्रो दिन श्रीलंकाको नाटक ‘चकलेट बिस्कुट’ मञ्चन भएको थियो भने नेपालबाट ‘माछाको रङ्गिन सपना’ मञ्चन भएको थियो। महोत्सवमा यी दुवै नाटक असाध्यै रुचाइए। चौथो दिन नेपालबाट भ्याली भ्यु स्कुलको नाटक ‘इच्छा भर्सेज समय’ र चेक रिपब्लिकको नाटक मञ्चन हुँदा पाँचौँ अर्थात् महोत्सवको अन्तिम दिन भारत र स्लोभाकियाले नाटक प्रस्तुत गरे।
बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ। आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने इच्छाले लालाबालासँग सहकार्य गरिएको विद्यालयका संस्थापक चेयरम्यान कुमार कार्की बताउँछन्। ‘विदेशी कलाकारहरू बस्ने, खाने, नाटक प्रस्तुत गर्ने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ। जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्,’ उनले भने।