भँगेराको चलाखी

सुब्रन खड्का
चितवनको कुनै गाउँमा एउटा बाक्लो जङ्गलमा थियो । त्यहाँ चरा र जनावरहरु मिलेर बस्थे । एक पटक चराहरुको समूहले आफ्नो समूहमा एउटा राजा हुनुपर्ने कुरामा छलफल गरे । राजा छान्ने कुरामा सबै चराहरुको सहमत भयो तर राजा को हुने भन्ने विषयमा भने सहमत हुन सकेनन् किनभने सबैजसो चराहरु आफैँ राजा हुन चाहन्थे ।
लामो छलफलपछि जो सबैभन्दा माथि उड्न सक्छ, त्यही राजा हुन्छ भन्ने निर्णय भयो । हुन त साना चराहरुलाई यो कुरा मन परेको थिएन तर एउटा भँगेराले उनीहरुलाई पनि सहमत गरायो । उड्ने प्रतियोगितामा जो माथि उड्न सक्छ । त्यही राजा हुने निर्णय भयो । उड्ने प्रतियोगितामा भाग त सबैले लिए तर धेरै चराहरु धेरै माथिसम्म उड्न नसकेर फर्के ।
केही चराहरु माथि माथिसम्म पनि पुगे तर सबैभन्दा माथि चिल पुग्यो । चिलले घमन्डकासाथ सभामा बोल्यो, “अब म चराहरुको राजा भएँ । सबैभन्दा माथि म पुगेँ ।”
उसको कुरा सुनेर साना चराहरु अब चिलले उनीहरु र उनीहरुका बच्चाहरुलाई खाने भयो भनेर डराए ।
त्यसैबेला त्यो चिलको पिठिउँमा फुत्रुक्क झर्दै भँगेराले भन्यो “तिमी होइन, चराहरुको राजा म हुँ । तिमी जति नै माथि गए पनि थोरै भए पनि म नै माथि भएँ ।” त्यो सुनेर चिल छक्क पर्यो । उसले आत्तिएर भन्यो, “म सबैभन्दा माथि उडेको थिएँ त्यसैले म राजा हुन्छु ।” भँगेराले चिललाई फेरि भन्यो, “तिमी होइन म राजा हुन्छु किनभने तिमी उड्दा म तिमीभन्दा माथि तिम्रो पिठिउँमा थिएँ ।”
सबै चराहरु भँगेराको कुरामा सहमत भए । यसरी भँगेरा चराहरुको राजा बन्यो । त्यही खुसीमा साना साना चरा र भँगेराहरु नाच्न गाउन थाले । उनीहरुले चिलको डरबाट मुक्त भएको अनुभव गरे र बिहानैदेखि साँझसम्म नाचगान गरेर थाकेनन् ।
भँगेराले आफ्नो राज्यलाई राम्ररी रेखदेख गरिरहेको थियो । चराहरु दिनहुँ चारा खोज्न जान्थे र खाएर बाँकी भएको खानेकुरा जम्मा गर्थे । राज्यमा सबै चराहरु खुसी थिए । जाडो महिना सुरु भयो । जङ्गलमा बिस्तारै चराहरुको खानेकुराको अभाव हुन थाल्यो । चराहरुको बिचमा खानेकुराको लुछाचुड हुन थाल्यो । उनीहरु झगडा गर्न थाले ।
चराहरुको यस्तो अवस्था देखेर चराहरुको राजा भँगेराले हामीसँग थोरै खाना छ । हाम्रो जङ्गलमा खानेकुरा कम छ त्यसैले जङ्गलबाहिर अन्य ठाउँमा गएर खानेकुरा खोज्नुपर्छ भन्यो । चराहरु चारा जम्मा गर्न जङ्गल नजिकै एउटा किसानको खेतमा गए । चारा बटुल्दा बटुल्दै रात पर्यो । चराहरु जङ्गल फर्कने तरखर गर्न थाले । जङ्गल फर्किएपछि राजा भँगेराले सबै चराहरु गन्न थाल्यो । गन्दा एउटा परेवा कम थियो । सबै चराहरु चिन्तित भए । राजा भँगेराले केही चराहरुको समूह लिएर परेवालाई खोज्न गयो । उनीहरु किसानको खेतमा पुगे ।
उनीहरुले किसानको खेतमा चारैतिर हेरे । बिचरा परेवा डोरीमा अल्झिएर छट्पटाइरहेको रहेछ । ऊ चिँचिँ गरेर कराइरहेको थियो । उसको आवाज भँगेराहरुले सुने र सबै मिलेर परेवाको खुट्टामा अल्झिएको डोरी चुच्चाले खोलिदिए । त्यसपछि उनीहरु जङ्गल फर्किए र सबैले मिलेर चारा बाँडेर खाए ।
राजा भँगेराले परेवालाई बचाएर आफ्नो. कर्तव्य पुरा गरेकोमा सबै चराहरु खुसी भए । अर्को दिन फेरि सबै चरा चारो खोज्न गए । कहिलेकाहीँ उनीहरु टाढाटाढा पुग्थे तर उनीहरु एकअर्काको ख्याल राख्थे । यसरी सबै चराहरु मिलेर खुसीसाथ एकअर्कालाई सहयोग गर्दै रमाउँदै बसे ।