मित्रता

सेरा खराल
धेरै समय पहिले एउटा गाउँमा २० वर्षको किशोर समिर बस्थ्यो । ऊ असल, मिलनसार र साहसी थियो । उसको परिवारको अवस्था भने त्यति राम्रो थिएन तर उसलाई ठूलो काम गरेर सबैको जीवन सधार्ने रहर जागेको थियो । गाउँका सबैभन्दा ठूला मान्छे, राम काका अक्सर गाँउको बालबालिकालाई गाँउको बारेमा अचम्मका कथाहरु सुनाउँथे । एक दिन राम काकाले समिरलाई गाउँभन्दा परको पहाडको पारि एउटा गुफा छ जहाँ प्राचीन समयको सुन लुकाएर राखिएको छ भन्ने कुरा बताए ।
उनले त्यहाँ जाने बाटो भने निकै खतरनाक छ, त्यसैले त्यहाँ जाने आँट कसैले गरेको छैन भने । समिरको मनमा त्यो कुरा गडेर बस्यो । उसले सोच्यो, “यदि मैले त्यो सुन फेला पारेँ भन्ने हाम्रो परिवारको अवस्था बदलिन सक्छ र गाउँलेहरुलाई पनि सहयोग गर्न सक्छु ।”
उसले आफ्ना दुई साथीहरु रीतु र विवेकलाई पनि आफ्नो योजना सुनायो । रीतु साहसी र होसियार केटी थिई भने विवेक नक्साहरु राम्रोसँग बझ्न सक्थ्यो । समिरले उनीहरुको सहयोग लिएर गुफाको खोजी गने जाने योजना सुनायो ।
अर्को बिहान, तीनै जना आवश्यक खाना, पानी र नक्सा लिएर यात्रामा निस्किए । पहाडको बाटो निकै कठिन थियो र बाटोमा तिनीहरुले धेरै किसिमका अनौठा बोटबिरुवा र जनावरहरु देखे । चिप्लो ढुङ्गाहरुले यात्रा अझै कठिन बनाइरहेको थियो भने कतै घना झाडीहरुले बाटो रोकेको हुन्थ्यो । उनीहरुले एकअर्कालाई सहयोग गर्दै हिम्मतका साथ यात्रा जारी राखे । जति जति अगाडि बढ्दै गए, बाटो झन् चुनौतीपूर्ण बन्दै गयो । उनीहरुले साँधुरो भीर र कडा चट्टानहरुको सामना गरे । एक ठाउँमा पुग्दा विवेकको खुट्टा चिप्लिएर झन्डै चिप्लिएर लडेको थियो तर समिरले तुरुन्तै उसको हात समातेर माथि तान्यो ।
यसरी उनीहरुले एकअर्काको सहारा बन्दै यात्रा गरे । अन्ततः उनीहरु साँधुरो र अँध्यारो बाटो हुँदै गुफाको मुखमा पुगे । गुफा साँच्चै डरलाग्दो देखिन्थ्यो र भित्र चिसो हावा चलिरहेको थियो । समिरले हिम्मत गरेर पहिलो पाइला अगाडि बढायो । रीतु र विवेक पनि उसलाई गुफाभित्र पछ्याउँदै गए । अनकन्टार गुफाभित्र साँघुरो बाटोको यात्रामा अचानक टाढाबाट केही चम्किलो वस्तु देखियो ।
तीनै जना एकदमै उत्साहित भए र त्यस दिशामा अगाडि बढे । त्यो सुनको थुप्रो थियो जसमा पुराना सिक्काहरु, गहना र सुनका थालीहरु थिए । त्यो सुन बहुमूल्य सामाग्रीसँगै एउटा पुरानो कागज पनि थियो । समिरले त्यो कागज उठाएर पढ्यो, त्यहाँ लेखिएको थियो, “साँचो धन केवल सुनचाँदीमा मात्र हुदैन । मित्रता, हिम्मत र सहकार्यमै साँचो सम्पत्ति हो ।” यी बहुमुल्य सामाग्री तिमीहरु लान सक्छौ, तर यसको केही तर यसको केही भाग गाउँको विकासमा लगाउनुपर्छ ।
बहुमूल्य सामग्री र कागज बोकेर तीनै जना साथी बाहिर निस्किए र गाउँतिर फर्के । गाउँ पुगेपछि उनीहरुले त्यो बहुमूल्य सामग्रीको केही भाग गाउँको स्कुल बनाउने, बाटो मर्मत गर्न, र बाँकी आफ्नो परिवारको स्थिति सुधार्नमा प्रयोग गरे । गाउँभरिका मानिसहरुले उनीहरुको बहादुरी र त्यागको कथा सुनेर प्रशंसा गरे । राम काकाले मुस्कुराउँदै भने “यदि साहस, सहकार्य र मित्रता एकैसाथ हुने हो भने मानिसले चाहको जे पनि प्राप्त गर्न सक्छ ।” त्यसदिनदेखि समिर, रीतु र विवेकको साहस, सहकार्य र मित्रताको कथा युगौँयुगसम्म गुन्जिरह्यो ।