मित्रता

अमरा श्रेष्ठ
लीया नामकी एक जना केटी थिइन् । उनी कक्षा आठमा पढ्थिन् । उनले जति प्रयास गरे पनि कुनै कुरामा पनि सफलता हासिल गर्न सकेकी थिइनन् । उनलाई लाग्थ्यो कि उनी सबै कुरामा कमजोर छिन् र उनी जीवनको कुनै अर्थ बुझ्न सक्दिनन् । लीयासँग न त कुनै साथी थिए, न त उनीसँग कुनै विशेष प्रतिभा नै थियो । यस्ता विचारले उनलाई सधैं चिन्तित बनाइरहन्थ्यो । उनको जीवन निराशा र असफलताको कालो बादलले भरिएको थियो ।
लीयाले धेरै पटक प्रयास गरिन् तर जहिले पनि असफल भइन् । उनलाई लाग्थ्यो कि संसारमा उनी मात्र एक्ली छिन् र उनमा कुनै पनि कुरा सहन गर्ने शक्ति छैन । लीयाको आत्मविश्वास दिनप्रतिदिन घट्दै गइरहेको थियो । उनलाई संसारमा उनको लागि कुनै स्थान छैन जस्तो लाग्थ्यो ।
उनको जीवनमा केही आशाका किरणहरु पनि थिए । लीया आफ्ना तीन जना साथीहरुको बारेमा सोच्न थालेकी थिइन् । मीना, यजी, र शरली यी तीन जना साथीहरु पढाइमा राम्रा थिए र उनीहरु सधैं खुसी र आत्मविश्वासी देखिन्थे । उनीहरुका लागि कुनै पनि कुरा असम्भव थिएन जस्तो लाग्थ्यो । लीयालाई उनीहरुको साथमा हुँदा पनि आफू एकजना मात्र असफल व्यक्तिको रूपमा छु भन्ने लाग्थ्यो ।
लीयाको मनमा एउटा प्रश्न सधैं खेलिरहन्थ्यो, “किन म कुनै पनि कुरा राम्रोसँग गर्न सक्दिनँ ? के म जीवनमा केही गर्न सक्दिनँ ?“
लीयाको आत्मविश्वास एकदमै कम भएको थियो र उनलाई आफ्नै क्षमतामा विश्वास लाग्न छाडिसकेको थियो ।
एक दिन घुम्दै जाँदा लीया सुन्दर बगैँचामा पुगिन् । उनी सोच्न थालिन्, “यो बगैंचा कति सुन्दर र आकर्षक छ, मेरो जीवन पनि यस्तै भइदिए हुन्थ्यो ।” उनी फूललाई हेर्दै मनमनै कुरा खेलाउन थालिन्, “मलाई पनि यस्तो सुन्दर बगैँचा बनाउन मन छ तर म यो काम गर्न सक्दिनँ । म असक्षम छु ।
लीयाको मनमा केही सपना र आशाहरु थिए तर ती सपनाहरु केवल उनको मनमै सीमित थिए । उनले कहिल्यै आफ्नो सपनालाई वास्तविकतामा परिणत गर्ने साहस गरेकी थिइनन् । उनीले सधैँ सोचिरहन्थिन्, “के म पनि केही गर्न सक्छु ?“
लीया एकदिन सोही बगैँचामा बसिरहेकी थिइन् । उनले मीना, यजी, र शरलीलाई सँगै त्यहाँ देखिन् । उनीहरु त्यहाँ हाँसिरहेका र रमाइलो गरिरहेका थिए । लीयाले उनीहरुलाई देखेपछि असहज महसुस गरिन् । उनलाई लाग्यो, उनी ती साथीहरुजस्तो खुसी हुन कहिल्यै सक्दिनन् । लीयाले मनमनै भनिन्, “उनीहरु सबै कुरामा सक्षम छन् । म भने असक्षम र असफल छु ।“
उनका साथीहरु लीयालाई देखेर उनको नजिक आए । “तिमी किन यहाँ आएकी लीया ?” उनीहरुले लीयालाई सोधे । लीयाले असहज मानेर उत्तर दिइनन् ।
यो देखेर उनका साथीहरु लीयालाई केही समस्या परेको छ जस्तो लाग्यो र उनीहरुले भने, “तिमीलाई केही सहयोग चाहिन्छ भने हामीलाई भन ।”
लीयाले आफ्नो समस्या उनीहरुलाई भन्न सकिनन् । उनले निकै मधुरो स्वरमा भनिन्, “मलाई यस्तै फूलको बगैचा बनाउने इच्छा छ, तर ममा यो सबै गर्न सक्ने आत्मविश्वास छैन । मलाई लाग्छ, म यसलाई राम्रोसँग बनाउन सक्दिनँ ।”
मीना, यजी, र शरलीले सोच्न थाले र एक अर्कासँग कुरा गरे । उनीहरुले लीयामा केही न केही समस्या छ भन्ने कुरा थाहा पाए अनि लीयाको कुरा सुनेर उनीप्रति सहानुभूति जनाए । उनीहरुले मिलेर लीयालाई सहयोग गर्ने सोच पनि बनाए ।
उनीहरुले लीयालाई भने, “लीया, तिम्रो इच्छा पूरा गर्न हामी तिमीलाई सहयोग गर्नेछौंँ । हामीले सँगसँगै काम गर्यौ भने तिम्रो आत्मविश्वास बढ्न सक्छ ।”
साथीहरुको कुरा सुनेर लीयालाई थोरै साहस मिल्यो । उनले भनिन्, “तिमीहरुलाई धेरै धेरै धन्यवाद । तिमीहरुको सहयोगमा म एउटा सन्दर बगँैचा बनाउन सक्छु ।”
त्यसपछि चारै जना मिलेर एउटा बगैँचा बनाउन थाले । मीना, यजी, र शरलीले लीयालाई सहयोग गर्न थाले । उनीहरुले पूmलहरुको व्यवस्था गर्न, माटो बनाउन, र राम्रोसँग हेरचाह गर्न मद्दत गरे । लीयामा आफ्नो मित्रहरुको सहयोग र हौसला पाउँदा आत्मविश्वास बढ्न थाल्यो ।
समय बित्दै गयो र बगैँचा सुन्दर हुँदै गयो । लीयामा नयाँ उत्साह आउन थाल्यो । उनलाई आफ्नो काममा रमाइलो लाग्न थाल्यो । लीयाले आफ्नो साथीहरुको समर्थन र हौसलाले आफूलाई परिवर्तन गरिरहेको थाहा पाएकी थिइन् । उनले अब आफूमा भएको क्षमतामा विश्वास गर्न थालिन् ।
लीयाले आफ्ना साथीहरुको साथमा बगैँचालाई अझ सुन्दर बनाउन लागिपरिन् । उनीहरुले नयाँ–नयाँ फूलहरु रोप्न थाले । मीना, यजी, र शरलीले लीयालाई हरेक समयमा मद्दत गरे । उनीहरुले आफूले इन्टरनेटमा खोजी गर्दै लीयालाई फूलहरु कसरी सही तरिकाले रोप्ने, माटो कसरी बनाउने र बगैँचाको हेरचाह कसरी गर्ने भन्ने सिकाए । लीयाको आत्मविश्वास दिनप्रतिदिन बढ्दै गइरहेको थियो ।
एक दिन लीयाको बगैँचा पूर्ण रूपमा तयार भयो । रङ्गीन फूलहरुले बगैचाको चारैतिर सुन्दरता फैलाएको थियो । लीयाका साथीहरु बगैचा हेर्न आए । उनीहरुले यसलाई धेरै मन पराए ।
“यो त अत्यन्त सुन्दर छ लीया, तिमीले यी सबै काम गर्न सक्छौ भन्ने कुरा हामीलाई थाहा थियो ।“ मिनाले खुशीका साथ भनिन् ।
“तिमीहरुको मदतबिना म यो काम गर्न सक्दिनथेंँ । तिमीहरुको साथले मलाई आत्मविश्वास बढाइदिएको छ । अब मलाई लाग्छ म जे पनि गर्न सक्नेछु” लीयाले भनिन् ।
“तिमीले आफ्नो आत्मविश्वास र हिम्मत देखायौ । “यो हाम्रो मित्रता र समर्थनको परिणाम हो ।” यजीले हर्षका साथ भनिन् ।
शरलीले पनि थपिन्, “हामीले सँगै रमाइलो गरी काम गरेका छौंँ । यो बगैँचा हाम्रो साझा प्रयासको परिणाम हो । अब यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो ।”
लीयाले आफ्ना साथीहरुको सहयोग र समर्थनको महत्व बुझ्न थालिन् । उनले मित्रता र समर्थनले जीवनलाई परिवर्तन गर्न सक्दो रहेछ भन्ने कुराको महसुस गरिन् । उनले अब बगैँचा बनाउने कुरामा मात्र होइन, जीवनका अन्य कुराहरुमा पनि आत्मविश्वास चाहिने कुरा बुझिन् र यो प्रयासले उनमा आत्मविश्वास पनि बढेको थियो । उनले आफूमा भएको क्षमतामा विश्वास गर्न थालेकी थिइन् ।
बगैँचा निर्माण त एउटा सानो प्रयास थियो तर त्योभन्दा ठूलो प्रयास त लीयाको जीवनमा आत्मविश्वासको बिजारोपण थियो । उनले यो बगैँचा बनाउने क्रममा सहयोग, मित्रता, र आत्मविश्वासको महत्वका बारेमा धेरै कुरा सिकिन् ।
लीयाको बगैँचा एउटा सुन्दर स्थान मात्र थिएन, यो त उनको सङ्घर्ष र सफलताको प्रतीक बनेको थियो । यस बगैँचाले उनलाई सधैं साथमा साँचो मित्रता र समर्थन छ भने कुनै पनि काम असम्भव छैन भन्ने याद दिलाउँथ्यो । लीयाको जीवनमा नयाँ अध्याय सधैं स्मरणीय रह्यो ।