Skip to main content

सृजनाको सपना

तेजस्वी सुवेदी

कक्षाः सात

सृजनालाई पढ्न सारै रहर लाग्थ्यो । उनी सानैदेखि माटोमा अक्षर कोर्दै दिन बिताउँथिन् । उनको सानैदेखि स्कुल गएर पढ्ने रहर भए तापनि, उनी बस्ने गाउँमा विद्यालय थिएनन् । उनको गाउँ सुन्दर भएता पनि विकट थियो । त्यो गाउँका धेरै मान्छेहरु अशिक्षित थिए ।

एक दुई जना उनी जस्तै पढ्न रहर भएकाहरु गाउँबाट पर पैदल हिँडेर विद्यालय पढ्न जानुपथ्र्यो । धेरै गाउँलेहरु त पढ्न नै मन गर्दैनथे । पढ्ने इच्छुकहरुलाई उनीहरु मूर्ख भन्थे । उनीहरुको पछाडि कुरा काट्थे । सृजनालाई त्यो देख्दा धेरै मन रून्थ्यो ।

सृजनाको पढ्ने चाहना उसका आमा बुबा दुबैलाई थाहा थियो । उनको त्यो चाहनालाई दुवैजनाले हौसला दिन्थे । सृजना सात वर्षकी भएपछि बल्ल उनको त्यो चाहना पूरा भयो । घरकी एकमात्र छोरी भए तापनि र विद्यालय धेरै टाढा भए पनि, उसका आमाबुबाको साथले गर्दा उसका त्यो सपना विपनामा परिर्वतन भयो । विद्यालय गई पढ्न पाउँदा उनी धेरै खुसी र उत्साहित थिइन् । उनी आफ्नो गाउँबाट विद्यालय गई शिक्षा हासिल गर्ने पहिली केटी भइन् ।

बुढापाखाहरु उनको आमाबुबालाई छोरी पढाएर के नै ठुलो कुरा गर्‍यो र भन्थे । छोरा भएको भए पनि ठिकै थियो, छोरी त बिहे गरेर गएपछि पराई हुन्छे, यिनीहरुले छोरी पढाएको व्यर्थ खेर गयो भन्थे ।

यस्तो कुरा सुन्दा उनीहरुलाई निकै दुःख लाग्थ्यो तर उनीहरुलाई आफूले गरेको काममा कुनै पछुतो थिएन । उनीहरुलाई गाउँलेहरुका यस्ता नचाहिने कुराले छोरीको पढाइमा असर पर्छ कि भन्ने ठुलो डर थियो । आमाबुबाले सकेसम्म यस्ता कुराहरु लुकाउन खोज्दथे तर सृजनालाई थाहा थियो त्यो गाउँका मानिसहरु धेरै छुच्चा र तितो बोलिका थिए ।

एकदिन सृजना नुहाएर पारिलो घाममा बसिरहेकी थिइन् । आमाबुबा पनि गफ गरेर बसिरहेका थिए । सृजनाले आमाबुबाको नजिक गएर भनिन्, “आमा बुबा मैले गर्दा तपाईहरुले कति धेरै कुरा सुन्नुपर्छ हगि । कति धेरै दुःख गर्नुपर्छ त्यसैले म ठुलो भएपछि तपाईहरुलाई यो ठाउँबाट पर लग्नेछु ।”

छोरीको यस्ता कुरा सुनेपछि आमाले भनिन्, “त्यस्तो भन्नुहुन्न छोरी, तिमी त हाम्री छोरी हौ । तिम्रोलागि दुःख नगरे कस्को लागि गर्ने त ?”

हो छोरी तिम्री आमा ठिक भन्दैछिन् । तिमीलाई पढाउनु त हाम्रो कर्तव्य हो । हाम्रो गाउँमा धेरै जना अशिक्षित छन्, पढाइको महत्व उनीहरुलाई थाहा छैन । त्यसैले त्यस्ता कुरा गर्छन् । यो गाउँका सारालाई शिक्षित बनाउनतिर हामी लाग्नु पर्छ । यहाँबाट सर्नु भनेको समस्याबाट भागे सरह हो ।

सृजनालाई त्यो सुन्दा मन चसक्क भयो । हो त नि पछि मैले ठुलो भएर यो गाउँ छोडेर अरु नै ठाउँ गएँ भने गाउँ त जस्ताको त्यस्तै रहन्छ । मैले त यस गाउँमा धेरै परिवर्तन ल्याउनु छ । गाउँलेहरुको पढाइप्रतिको नकारात्मक धारणामा परिवर्तन गर्नुपर्छ ।

सृजनाले बुबासँग सोधिन्, “हामीले यसको लागि के गर्नुपर्छ होला?”

बुबाले भन्नुभयो, “हामीले पहिला त गाउँलेहरुलाई पढ्न प्रोत्साहन गर्नुपर्छ । उनीहरुलाई पढाइ किन महत्वपूर्ण छ भन्ने कुरा बुझाउनु पर्छ ।”

बुबाको कुरा सुनेर सृजनाले भनिन्, “अनि गाउँमै एउटा विद्यालय भए, धेरै जना विद्यालय जान पनि मान्ने छन् । त्यसो भए अब म ठुलो भएपछि हाम्रो गाउँमा एउटा विद्यालय खेल्ने छु । अनि हाम्रो गाउँका अरु बालबालिका पढ्नका लागि धेरै टाढा जानु पर्दैन ।”

बुबाले खुसी हुँदै भन्नुभयो, “स्याबास छोरी । तिम्रो त्यो सपना साकार होस् ।

सृजनाले मनमनै आफ्नो गाउँमा ठुलो भएपछि विद्यालय खोल्ने अठोट गरिन् । त्यो दिनदेखि सृजना धेरै मिहिनेत गर्दै पढ्न थालिन् । आमाबुबाको साथ र हौसलाले उनले सहर गएर आफ्नो पढाइ पूरा गरिन् । गाउँमा पढेलेखेको मान्छेको सङ्ख्या पहिला भन्दा बढेको थियो र यसमा उनका आमाबुबा र अरु पढेलेखेका मानिसहरुको ठुलो हात थियो । पढाइ सकेर गाउँ जाँदा सृजनाले अरु थुप्रै बालबालिकाहरु विद्यालय गएको देख्दा खुसी भइन् । उनले अरु शिक्षित गाउँलेहरुसँग मिलेर विद्यालय खोल्न सफल भइन् । अहिले गाउँका धेरै जसो बालबालिका गाउँकै विद्यालयमा पढ्न जान्छन् । छोराहरु मात्र नभएर छोरीहरु पनि विद्यालय जान थालेका छन् । यो देखेर सृजनालाई धेरै गर्वको महसुस हुन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children