Skip to main content

पुतलीको बगैँचा

आभ्या पाण्डे

कक्षा : पाँच (सेती)

पहाडको काखमा बसेको एउटा सानो, शान्त र मनमोहक लिला नामको गाउँ थियो । गाउँको हावा सुगन्धित थियो । गाउँमा माटाका घरहरू थिए । बारीहरूमा हरियाली थियो र मानिसहरूको हृदय सफा थियो | तर त्यस गाउँको सबैभन्दा रमाइलो र चर्चित स्थान रङ्गीचङ्गी फूलहरूको ठूलो बगैँचा थियो । त्यहाँ गुलाफ, सयपत्री, चमेली, लालीगुराँस र अनगिन्ती फूल फुल्थे । फूलका छेउछाउ चराहरू र रङ्गीन पुतलीहरू उड्रिहन्थे ।

एक बिहान घाम झलमल लागिरहेको थियो । प्रिया बगैँचामा नाच्दै रमाइरहेकी थिइन । फूलहरूको सुवास हावामा मिसिएको थियो र पातहरू हल्लिरहेका थिए । तर त्यही बेला आकाशबाट ठूलो मौरीहरूको समूहले पुतलीहरूलाई आक्रमण गरे ।

मौरीहरूको प्रमुख ठूलो कालो मौरी प्रियाको नजिक आएर गर्जिदैँ भन्यो, "यो बगैँचा अब हाम्रो हो । हामी यहाँ हाम्रो घर बनाउन चाहन्छौँ । तिमीहरू अर्को ठाउँ जाओ ।' प्रिया डराइन्‌ तर उसले शान्त स्वरमा भनिन्‌, "हामी धेरै वर्षदेखि यहाँ बस्दै आएका छौँ ।

यदि तिमीहरूलाई पनि बस्न मन छ भने, यो बगैँचामा हामी मिलेर बस्न सक्छौँ ।”

मुख्य मौरीले भने रिसाएर हामीलाई भाग-भाग चाहिँदैन, सारा बगैँचा चाहिन्छ भन्यो । केही मौरीहरूले पुतलीहरूलाई डर लाग्ने गरी उडेर लखेटे र मौरीहरूले पुतलीहरूलाई बगैँचाबाट धपाए | प्रिया सबैभन्दा धेरै पीडामा परिन्‌ । एक मौरीले उनको पखेटामा डस्यो र उनी भुइँमा लडिन्‌ । साथीहरू डरले भागे र प्रिया एक्लै दुखाइमा थकित भएर भुइँमा ढलिरहिन्‌ । पानी पर्न थाल्यो, हावा चिसो हुँदै गयो तर प्रिया उठ्न सकिनन्‌ ।

साँझपख ११ वर्षीया सीमा नामकी केटी बगैँचाको बाटो हुँदै घर फर्किदै थिइन्‌ । उनको नजर भुइँमा लडिरहेकी प्रियामा पन्यो । "ओहो! के भएको तिमीलाई ?” सीमा छक्क परेर भनिन्‌ । उनले प्रियालाई आफ्नो न्यानो स्कार्फमा राखेर घर लगिन्‌ ।

सीमाले प्रियालाई आफ्नो सानो हातमा राखिन्‌ । उनलाई आराम गराएर हेरचाह गरिन्‌ । हरेक दिन सीमा प्रियासँगै बसिन्‌ र चोट भएको पङ्खलाई ध्यानपूर्वक उपचार गरिन्‌ । एक हप्तापछि प्रिया पूर्ण रुपमा स्वस्थ भइन्‌ ।

प्रिया अब सीमासँग कुरा गर्न सक्थिन्‌ | सीमाले खुसी हुँदै भनिन्‌, "तिमी साँच्चै कति सुन्दर र कोमल छौ ।' प्रियाले मुस्कुराउँदै उत्तर दिइन्‌, "तिमीले मलाई बचायौ अब म तिम्रो क्रणी भइसकेकी 'छु ।' सीमाले भनिन, "साँचो मित्रतामा क्रण हुँदैन | तिमी राम्रो हुनु नै ठूलो कुरा हो ।' सीमाले प्रियासँग एउटा प्रस्ताव राखिन्‌, 'तिमी पाँच महिनासम्म हरेक दिन बगैंचाको एउटा फूल मलाई ल्याइदिन सक्छौं ? प्रिया अचम्ममा परिन्‌, "किन र ?” सीमाले उत्तर दिइन्‌, "म फूलहरूको अध्ययन गर्न चाहन्छु | भविष्यमा वैज्ञानिक बन्न चाहन्छु । यसरी म बगैँचाको संरक्षण पनि गर्न सक्छु ।“ प्रियाले खुसी भएर सीमाको सपना पूरा गर्न सहयोग गरिन्‌ |

एक महिनासम्म सीमाको लागि प्रियाले फूल ल्याइन्‌ । सीमाले थरीथरी फूलको अध्ययन गर्थिन्‌ र प्रिया उनलाई सहयोग गर्थिन्‌ । उनीहरू बिचको मित्रता अझ गहिरो हुँदै गयो |

एक महिनापछि प्रियाले आफ्ना पुराना पुतली साथीहरूलाई भेटिन्‌ । साथीहरूले उनी फेरि उडेको देखेर खुसी भए | प्रियाले मौरीहरूको हमला, चोटको बारेमा सबै करा सुनाइन्‌ । एक महिनासम्म सीमाले गरेको सहयोगको सबै कुरा सुनाइन्‌ । सबैले सीमालाई धन्यवाद दिए ।

केही दिनपछि, प्रिया र उसका साथीहरू आफ्नो पुरानो बगैँचामा फर्किए । मौरीहरूको कानमा यो खबर पुग्यो । उनीहरू रिसले चुर भए | मौरीको नाइकेले गर्जिएर भन्यो, "हामीले धपाएका पुतलीहरू कसरी फर्किए ? उनीहरूलाई यहाँबाट धपाउनैपर्छ !“ मौरीहरूको झुण्ड आकाशमा उडे र पुतलीहरूमाथि आक्रमण गरे तर प्रिया र उसका साथीहरू डराएनन्‌ | प्रिया चिच्याइन्‌, "हामी हाम्रो घर छोडेर जाने छैनौँ | हामी शान्ति चाहन्छौँ, तर अत्याचार सहन सक्दैनौं ।” पुतलीहरूले मिलेर मौरीसँग लडाइँ लडे | केही समयमै मौरीहरूको टोली पराजित भए ।

हार खाएपछि मौरीको नाइकेले माफी मागे | प्रियाले मुस्कुराउँदै उत्तर दिइन्‌, "माफी मागेपछि माफी नदिनु हाम्रो धर्म होइन ।' त्यसपछि मौरीहरू आफ्नै ठाउँमा फर्किए र बगैँचा शान्त भयो । पुतली र मौरीबिच मेलमिलापपछि बगैँचा अझ सुन्दर भयो | सबैले यस बगैँचाको नाम "पुतली बगैँचा“ राखे | सीमा पनि हरेक दिन त्यस बगैँचामा गएर प्रिया र साथीहरूको उडान हेर्थिन्‌ | प्रियाले सीमाको लागि हरेक दिन फूल जम्मा गरेर सीमासँगको आत्मीय बन्धन कायम राखिन्‌ । यसरी पुतलीहरू रमाएर जीवन बिताउन थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children