बिर्सिएको गाउँ
मौलिक मैनाली
पहाडको काखमा सिरमारे नामको एउटा मनमोहक गाउँ थियो । बिहानै घाम उकालो लाग्दा त्यस गाउँका छाना सुनौलो बन्दै चम्किन्थे । तर गाउँको सुन्दरता जति थियो उतिनै दुःख पनि लुकेको थियो । गाउँ बिस्तारै आफ्नो पहिचान गुमाउँदै थियो । गाउँका बालबालिका चउरमा खेल्नुको साटो मोबाइलका भिडियो र अनलाइन रमाइलोमा रमाउन थालेका थिए । गाउँका पुराना गीत, नाच, बर्खे चाड, र पुर्खाले सुनाएका कथा-किस्सामा कसैलाई चासो थिएन । विष्णु हजुरबुवाले गाउँको बारेमा कथा सुनाउनु हुन्थ्यो तर कथामा कोही चासो दिँदैनथे ।
गाउँको नजिकै एउटा पुरानो जङ्गल थियो, जुन टाढाबाट हेर्दा काँचको फुलदानी झैँ चम्किन्थ्यो । त्यो जङ्गलभित्रको गुफा सिरमारेको सबैभन्दा ठूलो रहस्य थियो | वृद्धहरूले भन्थे, "पहिला त्यहाँ ज्ञानदेवी बसेर गाउँ जोगाउँथिन् ।” यथार्थ के थियो कसैलाई थाहा थिएन ।
एकदिन १० वर्षे केटा अद्भिक आफ्नो गाउँ सिरमारे घुम्न आयो । उ जिजासु थियो । उसको जिज्ञासाले सबै चकित हुन्थे । उसको आँखामा धेरै प्रश्न हुन्थे । फक यो जङ्गल किन यस्तो छ? र ज्ञानदेवी साँच्चै हुन्छिन् ?” भन्ने प्रश्न गरिरहन्थ्यो । गाउँका साथी मनिषा र आयुष उसको उत्साह देखेर प्रभावित थिए | उनीहरू अदूभिकको वरिपरि भेला हुन्थे, जङ्गलको रहस्यबारे कुराकानी गर्थे । एकदिन शनिबार उनीहरू जङ्गलतिर नयाँ बाटो खोज्दै हिँडे । त्यहाँ चराहरू चिरबिर गर्दै थिए । सिरसिर हावा चलिरहेको थियो । ससाना पातहरूबाट घामको प्रकाश चिरेर फँलदै थियो ।
जङ्गलतिर हिँड्दाहिँड्दै आयुष चिच्यायो, 'अरे हेर त यो ढुङ्गामुनि के छ ?” भुइँमा एकातिर चिरा परेको ठूलो ढुङ्गा देखियो । त्यहाँबाट हल्का तातो हावा निस्किरहेको थियो | "भित्र गुफा हुन सक्छ ।“ अदूभिक उत्साहित हुँदै भन्यो । मनिषा डराउँदै बोलिन्, "हेर न भित्र के हुँदो हो ।' अद्भिक मुस्कुरारउँदै भन्यो, "रहस्य भेटिनु भनेको डर जित्नु हो ।' चारैजनाले ढुङ्गा हटाए । त्यसपछि एउटा साँघुरो कालो मार्ग भेटियो । त्यो मार्ग चिसो र रहस्यमय थियो | भित्र पसेपछि गुफाको भित्तामा अक्षर, हातका छापहरूका पुराना चिन्हहरू देखिए । गुफाको गहिराइमा पुगेपछि उनीहरूले एउटा पुरानो काठको बाकस देखेँ | बाकसमा सुकेका फूल झुण्डिएका थिए मानौँ कसैले पूजा गरेर राखिदिए झैँ थियो । अद्भिकले बाकस खोल्यो । त्यहाँ पुराना कागज, देवीको सानो ढुङ्गाको मूर्ति र गुफा खोल्ने नायक लेखिएको एक हस्तलिखित नोट थियो । नोटमा लेखिएको थियो 'जुन दिन यो बाकस पवित्र मनले खोलिन्छ त्यो दिन सिरमारे गाउँ फेरि उज्यालो हुनेछ ।' मनिषा चकित भइन् र भनिन् "यो कति पुरानो होला ?” कागजलाई स्पर्श गर्दा केही अनौठो कर्जा महसुस भयो । कागजलाई ध्यान दिएर हेर्दा गाउँको बारेमा लेखिएको इतिहास भेटियो । गाउँको स्थापना, राजहरू, बाढीबाट जोगाएको कथा, ज्ञानदेवी कसरी देखा पर्थिन् र गाउँका गुम्न लागेका संस्कारका बारेमा वर्णन थियो | एक ठाउँमा लेखिएको थियो, "जब सिरमारेका बालबालिका आफ्नो संस्कार बिर्सन थाल्छन् तब ज्ञानदेवीको शक्ति कमजोर पर्नेछ ।"
अद्भिकले झोलामा कागज राख्दै भन्यो, "हामीले यी सबै गाउँका मानिसलाई देखाउनै पर्छ ।" साथीहरू पनि उसको कुरामा सहमत भए | उनीहरू गुफाबाट बाहिर निस्कँदा घाम अस्ताउँदै थियो, जङ्गल सुनौलो बनेर चम्किरहेको थियो । अद्भिक र साथीहरू कागज बोकेर गाउँतिर दौडिए । गाउँका मानिसहरू चकित भए | गाउँका शिक्षक, बुढाबुढी, सबै गएर बाकस र कागज हेरे | बिष्णु हजुरबुवाले आँखाभरि आँसु ल्याउँदै भने, "यी त हामीले सुनेका पुराना चीजहरू हुन् तर कसैले मेरो कुरा विश्वास गरेन ।“ गाउँमा भोलिपल्ट सभा बस्यो । सबैले अब हामीले आफ्नो पहिचान जोगाउनुपर्छ भने | संस्कार पुनर्जीवित गर्नुपर्छ भने । गाउँमा पुराना गीत फेरि गाउन थालियो । बालबालिकालाई गाउँको इतिहास पढाइन थालियो जङ्गल संरक्षणका लागि नियम बने र ज्ञानदेवीको प्रतिमा राखेर गुफामा घुम्न मिल्ने बनाइयो ।
एक दिन गाउँमा मुसलधारे वर्षा भएर नदीमा बाढी थियो | गाउँलेहरूले गुफामा गएर देवीको मूर्ति अगाडि बसेर प्रार्थना गरे । अनौठो तरिकाले बाढीको दिशा फेरियो र गाउँ जोगियो । गाउँले रहस्य र विश्वास कहिल्यै पुराना हुँदैनन् मन शुद्ध भए शक्ति सधै बलियो रहन्छ भन्ने बुझे । कागजका आधारमा गाउँ पुनर्जीवित भयो । पर्यटकहरू आउने थाले | विद्यालयमा सिरमारेको इतिहासबारे कक्षा सुरू भयो र अद्भिकलाई गाउँको उज्यालो खोज्ने नायकको रूपमा सम्मान गरियो । गुफामा हरेक वर्ष महोत्सव हुन थाल्यो जहाँ सबै बालबालिकाले गीत, कथा र नाटक प्रस्तुत गर्थे र सिरमारे अब कहिल्यै बिर्सिएको गाउँ भएन | बरू सबैले सिरमारेलाई कथा बाँच्ने गाउँ भन्न थाले ।