बुद्धिमानी दिपा
कुञ्जन पाण्डे
आज दिपाको विद्यालयमा बिदा थियो । बिदा भएकोले बिहानैदेखि उसको मन निकै खुसी थियो । उठ्नेबित्तिकै उसले सोची, "आज त रमाइलो गर्दै खेल्दै अनि मनपर्ने काम गर्दै बिताउँछु ।“ नास्ता खाएपछि उसले आफ्नो बगैँचामा भएका बोटविरूवामा पानी हाल्न थाली | दिपालाई बोटबिरूवा धेरै मन पर्थ्यो । पानी हाल्दै गर्दा र मधुरो आवाजमा गीत गाइरहेकी थिई | चराहरू चिरबिर गर्दै थिए, हावा सिरसिर चलिरहेको थियो | बिहानको त्यो वातावरण दिपालाई निकै रमाइलो लागिरहेको थियो ।
त्यसैबेला अचानक छिमेकीको घरतिरबाट अनौठो आवाज आयो । कसैले केही खसालेको जस्तो छन्द्रङ्ग आवाज सुनियो | सामानहरू खसे जस्तो आवाज आयो दिपा तर्सिई । उसले सोची, "हाम्रो टोल त एकदमै सुरक्षित छ तर बिहानै यस्तो आवाज किन आएको होला छिमेकी दिदी त पल्लो गाउँतिर जानुभएको थियो नि ।“
दिपाको उत्सुकता बढ्दै गयो । दिपाले छिमेकीको घरतिर हेर्न थाली उसले ढोका खुला भएको देखी । घरभित्र फझल्याक झुलुक छाया देखिन्थ्यो । अब दिपाको मन अलिकति डराउन थाल्यो । तर उसले सोची "यदि केही गलत भइरहेको छ भने मैले बुवाआमालाई खबर गर्नेपर्छ उसको मनले भन्यो, "पहिले नजिक गएर हेर्छु । उ बिस्तारै छिमेकीको घरतिर केही सामान लिन गएको जस्तै गरेर हिँडी ।
ढोकासम्म पुगेपछि उसले कुर्सी पल्टिएको देखी । कपडा भुइँभरि फैलिएको थियो । दिपालाई अचम्म लाग्यो । क अलिकति डराई तर उ बुद्धिमानी थिई | पुलुक्क भित्र हेरी | कोठा निकै अस्तव्यस्त थियो । दराज खुलेको थियो । केही सामान खसेर जमिनमा छरिएको थियो | उसले तुरून्तै दौँडदै आफ्नो घर पुगेर बुवाआमालाई सबै कुरा सुनाई । दिपाका बुवाआमा छिमेकीको घरतिर गइरहेको देखेर अरू छिमेकीहरू पनि आए | सबैले बिस्तारै ढोकाबाहिरबाट हेरे |
त्यही बेला भित्रबाट दुई जना अनजान मानिस बाहिर निस्कन खोजिरहेका थिए | छिमेकीहरू अचम्ममा परे यी त हाम्रो टोलका मानिस त होइनन् भनेर छलफल गर्न थाले । सबै जनाले छलफल गरेर छिट्टै प्रहरीलाई खबर गरे | केही मिनेटमै प्रहरी आयो । प्रहरीले ती दुवै मानिसलाई समात्यो र सोधपुछ गच्यो । पछि थाहा भयो कि ती मानिसहरू साँच्चिकै चोर थिए उनीहरूले हिजो रातिदेखि नै त्यो घरमा चोरी गर्ने योजना बनाएका रहेछन् ।
बिहान छिमेकी घरमा कोही नभएको मौका देखेर पसेका रहेछन् । प्रहरीले सबै छिमेकीहरूलाई यहाँ चोरी हुनै लागेको थियो तर दिपाले चोरी हुनबाट बचाइन् भने । सानी भए पनि दिपा धेरै बद्धिमानी भएको कुरा सबैलाई बताए र उसका कारण ठूलो नोक्सानी हुन पाएन भने | दिपा खुसी भएर मुस्कुराई । आमाबुबा पनि खुसी हुनुभयो |
छिमेकी दिदी पनि केही समयपछि फर्किनुभयो । उहाँ आफ्नो घर हेरेर तर्सिनुभयो । दिपा र टोलका मानिसले सबैले घटना बताइदिएपछि उहाँ खुसी हुनुभयो । उहाँले दिपालाई तिमी नभएको भए मैले आज धेरै चिज गुमाउने थिएँ भनेर धेरै धन्यवाद भन्नुभयो । टोलका सबैले दिपाको प्रशंसा गरे |
"दिपा जस्तो बुद्धिमानी हुनुपर्छ । सबैको मुखमा एउटै कुरा थियो । त्यस रात दिपाले सोची, "सानो अनौठो आवाज पनि ध्यान दिएर सुन्दा सतर्क भएर अरूलाई जोगाउन पनि सकिँदो रहेछ ।“
त्यसदिनपछि दिपा अझै जिम्मेवार सजग र सहयोगी बनी ।
उनको सानो सतर्कताले पूरै टोल सुरक्षित भएको थियो अब टोलका बच्चाहरूले पनि दिपाजस्तै सजग हुन सिके | आमाबुबाले पनि गाउँभरि उदाहरण दिएर भन्न थाले, "हाम्रो दिपा जस्तै बुद्धिमान हुनुपर्छ ।' दिपाले त्यो दिन कहिल्यै बिर्सिन सकिन किनकि उसले पहिलोपटक आनन्दको महसुस गरेकी थिई | सचेत रहनु सानो कुरा होइन, सचेत रहँदा ठूलो समस्यालाई टार्न सकिन्छ भन्ने उसलै अझ राम्ररी बुझी ।
दिपाको सतर्कताका कारण चोरी रोकिएको केही दिनपछि टोलमा सबैले सुरक्षाबारे धेरै चर्चा गर्न थाले । टोल समितिले पनि बैठक बोलायो । गाउँका दाजुभाइ दिदीबहिनी सबै भेला भए । बैठकमा सबैले एउटै कुरा भने, "यदि दिपाले आवाज नसुनेको भए आज यहाँ ठूलो विपत् आइसक्थ्यो ।“
त्यसपछि टोल समितिले रातिको गस्ती टोली बनाउने निर्णय गच्यो । केटाकेटीलाई पनि केही जिम्मेवारी दिइने निर्णय भयो । केटाकेटीले अनौठो आवाज सुनेमा र अपरिचित मानिस देखेमा अभिभावकलाई खबर गर्ने र टोलमा कसैलाई समस्या परेमा तुरून्त सूचना दिने मद्दत गर्ने जस्ता जिम्मेवारी दिइयो ।
दिपा धेरै खुसी भई । अब र एक्लै सतर्क हुनु परेन टोलका सबै बच्चाले पनि उसैसँग मिलेर टोलको सुरक्षाको लागि कार्य गर्ने भए |
एक साँझ टोलमा एउटा अपरिचित मानिस मोटरसाइकलमा आएर एउटा घरको अगाडि रोकियो | त्यो देख्नेबित्तिकै दिपालाई केही शङ्का लाग्यो । दिपाले सँगै खेलिरहेका साथीहरूलाई भनी । सबैले पहिला घर-घरमा गएर कसैको घरको पाहुना त होइन भनेर सोध्दै गए । पछि थाहा भयो कि मोटरसाइकल चलाउने मानिस वास्तवमा टोलको नयाँ शिक्षक रहेछन् जो भोलिदेखि विद्यालयमा पढाउन आउने तयारीमा थिए | सबै निश्चिन्त भए । शिक्षकले पनि दिपाको सतर्कता देखेर हाँस्दै भने यस्ता बालबालिका भएका टोल त धेरै सुरक्षित हुन्छ । म पनि निश्चिन्त भएर बस्न पाउँछु ।
एक दिन विद्यालयबाट फर्कदा दिपाले सडक किनारमा एउटा सानो बच्चा रोइरहेको देखी । बच्चा बाटो छेउमै दिशाहीन भएर उभिएको थियो | दिपाले उसलाई सम्हालेर सोधी, 'के भयो ? तिम्रो घर कता हो ? बच्चाले घर बताउन नसकेपछि दिपाले छिमेकी दिदीलाई बोलाई र स्थानीय प्रहरीलाई खबर गरी | केही मिनेटमै बच्चाको परिवार त्यही आइपुगे । बच्चाकी आमाले आँसु झर्दै भनिन्, "हामी त आफूनो बच्चा हरायो भनेर धेरै डराएका थियौं ।“ दिपा तिम्रो सतर्कताले आज फेरि ठूलो काम लाग्यो । त्यसपछि टोलका मानिसहरूले दिपालाई सुरक्षा सचेतना कार्यक्रममा पनि सहभागी गराए | अब दिपाले बुझिसकेकी थिई, "सतर्कता केवल चोरी रोक्ने काम होइन, यो त अरूलाई जोगाउने, टोललाई सुरक्षित राखेर सबैको भरोसा जित्ने गुण हो ।”