Skip to main content

चेतना

सब्या ढुङ्गाना

कक्षा : छ (महाकाली)

एकादेशमा 'हरिसहर” नामको एउटा अत्यन्तै सुन्दर र शान्त सहर थियो । यो सहर हरियालीले ढाकिएको र प्रदूषण लगभग नभएको कारण सबैले मन पराउँथे । यही सहरमा रमीला नामकी एक बुद्धिमानी र प्रकृतिलाई मन पराउने केटी बस्थिन्‌ । उनको परिवार धेरै समयदेखि यही सहरमा बस्दै आएको थियो । रमीलालाई बिहानबेलुका हरियो रूखबिरूवाबिच खेल्न, हिँड्न र पढ्न धेरै रमाइलो लाग्थ्यो । सहरका सडक, विद्यालय, पार्क-सबै ठाउँमा रूख भएर वातावरण एकदमै मनोरम थियो | त्यसैले हरिसहर "हरियो र सुन्दर सहर” भनेर चिनिन्थ्यो ।

हरिसहरको छेउमै ठूलो र मनमोहक जङ्गल थियो, जहाँ हजारौं रूखबिरूवा, रङ्गीन चराचुरूङ्गी र विविध जनावरहरू बस्ने गर्थे । जङ्गलले सहरलाई जाडो-गर्मी दुवै मौसममा सन्तुलित राख्थ्यो । बिहानपख जङ्गलबाट आउने चिसो हावा र चराहरूको चहकले सहरलाई झनै मनमोहक बनाउँथ्यो । मानिसहरू प्रकृतिसँग प्रेम गर्ने भएकाले सहरका सडक किनारमा समेत अनिवार्य स्र्पमा रूख रोपिन्थ्यो । यही कारण सहर झनै हरियो, स्वस्थ र आकर्षक देखिन्थ्यो । रमीलालाई लाग्थ्यो, "यदि यो जङ्गल र हरियाली नहुने हो भने सहर नै बेरङ्गी हुने थियो ।"

तर समयसँगै सहरमा बाहिरबाट धेरै मानिस बसाइँ सरेर आए | जसले गर्दा उनीहरूलाई घर, पसल र गोदाम बनाउन निकै काठ आवश्यक पच्यो । केही लोभी व्यापारीले कमाइको ध्याउन्नमा जङ्गलतर्फ ध्यान दिए । उनीहरूले अनुमतिबिना दर्जनौँ रूख काट्न थाले । दिनहुँ ठूलाठूला रूख भुइँमा ढल्न थालेपछि जङ्गलको सुन्दरता घट्दै गयो । वातावरणमा गर्मी बढ्न थाल्यो, चराचुरूङ्गीको आवाज हराउँदै गयो । रमीलाले पहिलोपटक जङ्गलको खाली भाग देख्दा मन दुखाएर सोचेकी थिइन्‌, "यदी यत्तिकै रूख काटिरहने हो भने यो जङ्गल एकदिन सकिन्छ ।“

अत्यधिक रूख काटिएको कारण जमिन कमजोर बन्दै गयो र वर्षा सुरू भएपछि जङ्गलका ढिस्कोहरू भत्किएर पहिरो भर्न थाल्यो । नदीमा थुप्रिन थालेको माटोले पानी धेरै बढ्यो र बाढी आएर बस्तीका घर-दैलो भत्काउन थाल्यो । रमीलाका बुबाको तरकारी पसलसमेत बाढीले बगाएर लग्यो । उनको बुबालाई ठूलो घाटा पन्यो र परिवारलाई जीवन धान्न गाह्रो हुन थाल्यो । सहरका अन्य धेरै परिवारले पनि ठूलो क्षति व्यहोर्नुपत्यो । लोकल पत्रिकामा समेत लेखियो, "रूख कटानीका कारण सहर संकटमा !” सबैले बुझ्न थाले गल्ती त आफैँले गरेको रहेछौँ ।

जङ्गल नष्ट हुँदै जाँदा त्यहाँ बस्ने जनावरहरू बासस्थान गुमाएर सहरतिर आउन थाले । फलफूल खोज्दै बाँदरहरूले बस्तीका बगैँचामा उपद्रो मच्चाउन थाले । केही जङ्गली जनावरहरू सडकमा देखिन थालेपछि मानिसहरू डराउन थाले । कतिपय जनावर सडक दुर्घटनामा परे, केहीले मानिसलाई घाइते बनाइदिए । यसरी जनावर र मानिस दुबै पीडित हुन थालेपछि सबैले महसुस गरे की जङ्गल जनावरको मात्र हैन, मानव जीवनको सुरक्षाकवच पनि रहेछ | रमीलाले आमाबाबालाई भन्थिन्‌, "यदि जनावरलाई घर छैन भने उनीहरू कहाँ जाने त?”

रूखबिरूवाको सङ्ख्या घटेपछि सहरको हावा धमाधम बिग्रँदै गयो । अक्सिजनको मात्रा कम हुन थालेपछि धेरै मानिसलाई सास फेर्न समस्या पर्न थाल्यो । गर्मी अत्यधिक बढेर सहर असह्य हुन थाल्यो । विद्यालय तथा अस्पतालले समेत स्वास्थ्य चेतावनी जारी गर्न थाले । रमीलाको परिवार पनि शुद्ध हावाको अभावले बिरामी पर्न थाले । मानिसहरूले सोच्न थाले, "सहर यत्तिको बिग्रनुको कारण के हो ?“ उत्तर स्पष्ट थियो, प्रकृतिको नोक्सानी । यो नसुधारे सहर बस्नै अयोग्य बन्ने पक्का थियो ।

अन्ततः सबै सहरवासीहरू एकजुट भएर समाधान खोज्न जुटे । विद्यालय, क्लब, संघ-सङ्गठन र परिवारका सबै सदस्यले नयाँ अभियान सुरू गरे, "हाम्रो रूख, हाम्रो जङ्गल ।' हजारौं बिरूवा रोपिए, बालबालिकादेखि वृद्धसम्म सबैले रूखका हेरचाहमा हातेमालो गरे । कहिल्यै रूख नरोप्ने व्यापारीहरूले पनि गल्ती बुझे र जङ्गल सुरक्षा गर्ने वाचा गरे | केही वर्षमा जङ्गल फेरि हरियो हुँदै गयो, हावा स्वच्छ बन्दै गयो र जनावरहरू पुनः आफ्नो घरतिर फर्कन थाले । सहरमा फेरि शान्ति, सुन्दरता र जीवन्तता फर्कियो ।

समय बित्दै जाँदा हरिसहर पुनः पहिलेकै जस्तै सुन्दर र सुरक्षित बन्न सफल भयो | मानिसहरू प्रकृतिबारे अझै सचेत बने रूख काट्नु विनाशको बाटो हो, रूख रोप्नु जीवन रहने उपाय हो भन्ने कुरा राम्ररी बुझे । रमीलाको परिवारले नयाँ पसल खोले र मेहनतले जीवन फेरि सहज बन्दै गयो । सहरले एउटा ठूलो शिक्षा प्राप्त गन्यो । प्रकृतिको रक्षा गरे मात्र प्रकृतिले हामीलाई बचाउँछ । रूख हाम्रो साथी हुन्‌, तिनलाई बचाउनु हाम्रा कर्तव्य हो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children