Skip to main content

बस स्टप

सेरा खरल

कक्षा : छ (महाकाली)

हरिया डाँडाबिचको बस्तीमा एउटा सानो गाउँ थियो । बिहान पानी परिरहेको थियो | बादलले आकाश ढाकेको थियो र बाटोमा वर्षाको पानी चम्किरहेको थियो । बजारको छेउमा एउटा पुरानो बसस्टप थियो । जहाँ फुस्किएको छानो, भाँचिएको बेन्च र नजिकै सानो चियापसल थियो । त्यहीँ हरेक बिहान एक वृद्ध मानिस हरिबहादुर राई हातमा सयपत्री फूलको गुच्छा बोकेर बस्दथे | मानिसहरूले उनलाई हरेक दिन त्यही ठाउँमा देख्थे | उनी बिहानैदेखि अन्तिम बस गुज्रिएसम्म त्यहीँ बेन्चमा बस्ने गर्थे । पसलेहरू र यात्रुहरू सबैले उनलाई शान्त आँखावाला, सधैँ मुस्कुराउने, तर सधैँ बाटोतिर हेर्दै बस्ने मायालु वृद्धको रूपमा चिन्दथे ।

उनी श्रीमतीको पर्खाइमा थिए । चिया पसले गिरी भन्थे, "तीस वर्ष भयो, तर अझै आउँछिन्‌ भन्छन्‌ ।“ तीस वर्षअघि गाउँमा ठूलो बाढी आएको थियो | धेरै घर र मानिस बगायो । त्यसै बाढीमा हरिबहादुरकी श्रीमती माया पनि हराएकी थिइन्‌ । सबैले उनलाई मृत ठाने, तर हरिबहादुरले कहिल्यै मानेनन्‌ । त्यो बिहान मायाले जाने बेला भनेकी थिइन्‌, "म बेलुकी फर्किन्छु, पर्खिनू है । हरिबहादुरले मुस्कुराउँदै भनेका थिए, "म सयपत्री फूल लिएर पर्खिरहनेछु ।' वर्षौं बिते, सूर्य अस्ताउँदै गयो, तर उनी अझै पर्खिरहेका थिए ।

केही वर्ष त गाउँलेहरूले उनलाई दया गरेर हेर्थे, पछि सबैले सोध्नै छोडे । तर हरिबहादुरको बानी कहिल्यै फेरिएन | हरेक बिहान ताजा सयपत्री फूल लिएर त्यहीँ बेन्चमा बस्थे । एक दिन राजधानीबाट पत्रकार सीता आइन्‌ | उनले "तीस वर्षदेखि कुर्दै बसेको बुढा“ को कथा सुनेकी थिइन्‌ र आफैँ हेर्न चाहिन्‌ | बसस्टपमा पुग्दा उनले हरिबहादुरलाई एक्लै बसिरहेको देखिन्‌ । "बाबा, म यहाँ बस्न सक्छु?” उनले सोधिन्‌ । हरिबहादुर मुस्कुराए, "बस नानी, आजकल मानिसहरूलाई बस्ने समय नै कहाँ हुन्छ र?”

सीताले फेरि सोधिन्‌, "हजुरले कसैलाई पर्खिरहनुभएको हो र ?” हरिबहादुरले शान्त स्वरमा भने, "म मेरी मायालाई पर्खिरहेको छु । उनी तीस वर्षअघि एक दिन फर्किन्छु भनेर गएकी थिइन्‌ ।“ सीता अचम्म परिन्‌ र सोधिन्‌, "तीस वर्ष भयो? अझै विश्वास गर्नुहुन्छ कि उनी फर्किन्छिन्‌ भनेर?” उनी मुस्कुराए, "विश्वासले वर्ष गन्दैन, बस पर्खन्छ ।“ यो वाक्यले सीताको मन छोयो । शहर फर्केपछि उनले "तीस वर्षको प्रतीक्षा: बसस्टपको बुढाको प्रेम” शीर्षकमा लेख लेखिन्‌, जुन पत्रिकामा छापियो र देशभर फैलियो | त्यसपछि धेरै मानिसहरू हरिबहादुरलाई भेट्न, फोटो खिच्न र सहयोग गर्न बसस्टपमा आउन थाले । तर हरिबहादुरका लागि संसार उस्तै थियो, त्यही बेन्च, त्यही बाटो र ती सयपत्री फूल ।

केही हप्तापछि एक साँझ एउटा बस आइपुग्यो । बाटो हिलो थियो, हावा ओसिलो । बस रोकिनासाथ यात्रुहरू ओर्लिए । तीमध्ये एक वृद्ध महिला थिइन्‌, सेता कपाल, काँधमा पुरानो बोरा, आँखामा डर र आशा मिसिएको | गिरीले उनलाई सोधे, 'आमा, कोही खोज्दै हुनुहुन्छ?” महिलाले वरिपरि हेर्दै भनिन्‌, "यो गाउँ अझै सुन्दर रहेछ | म धेरै वर्षअघि यहीँ बस्थेँ । मेरो नाम माया राई हो । बाढीले मलाई टाढा पुन्यो । म बाँचेँ, तर फर्किन धेरै समय लाग्यो ।' गिरी त अवाक्‌ परे, "माया राई ? हरिबहादुरकी माया ?”

महिलाको स्वर काँप्यो, "हरि.. उनी अझै जीवित छन्‌ ?” त्यही बेला बेन्चमा बसिरहेका हरिबहादुर बिस्तारै उठे । सयपत्री फूलको गुच्छा उनको काँपिरहेको हातमा थियो । नजर ठोकिँदा दुनियाँ स्थिर जस्तो भयो । "माया. साँच्चै तिमी?” उनले हल्का स्वरमा भने | मायाको आँखाबाट आँसु झन्यो, 'तिमीले पर्खियौ ?” हरिबहादुर मुस्कुराए, "तिमीले भनेकी थियौ नि फर्किन्छु भनेर । सूर्य अझै डुबेको छैन, माया ।“

गाउँभर सन्नाटा छायो | मानिसहरूले वर्षौँपछि भेटिएका ती दुई वृद्ध आत्माहरूलाई टोलाएर हेरे । सीता पनि त्यही बेला आइपुगेकी थिइन्‌ । उनले यो दृश्य आफ्नै आँखाले देखिन्‌, तर यसपटक फोटो खिचिनन्‌ | केवल मुस्कुराउँदै आँसु पुछिन्‌ । साँझ भइरहेको थियो । हरिबहादुर र माया बेन्चमा सँगै बसे तर केही नबोली, तर सबै कुरा भनेझैँ मौन बसिरहे ।

केही हप्तापछि सीता फेरि बसस्टप आइन्‌ । बेन्च खाली थियो । सयपत्रीका फूल ओइलाइसकेका थिए | तर कसैले त्यहीँ बेन्चमा दुई ताजा सयपत्री फूल राखिदिएको थियो | गिरीले बिस्तारै भने, "दुवै गए हिजो राति.. सँगै ।' सीता केही बेर चुपचाप उभिइन्‌ | हावामा अझै सयपत्री फूलको गन्ध थियो । बसस्टप उस्तै थियो- धुलो, फुस्किएको छानो, चियापसलको धुँवा । अब यो ठाउँ पवित्रजस्तै लाग्थ्यो, मानौँ हावामै एउटा कथा बाँकी थियो ।

गाउँलेहरूले त्यो बेन्च कहिल्यै फेरेनन्‌ । उनीहरूले त्यसलाई त्यस्तै छाडे, प्रेम र प्रतीक्षाको मौन साक्षीको रुपमा । कहिलेकाहीँ यात्रुहरू त्यहाँ रोकिन्थे, बेन्चमा बस्थे र सोच्थे, 'यहीँ कसैले तीस वर्ष पर्खियो । त्यहाँ कुनै बोर्ड थिएन, कुनै लेखिएको सन्देश थिएन, तर जो पनि बस्थ्यो, उसको मनमा अवश्य बिझ्थ्यो- मायाले समय जित्छ, मृत्यु पनि जित्छ | साँझमा अन्तिम बस गुजिँदा हावामा सयपत्री फूलको सुगन्ध फैलिन्थ्यो मानौं त्यो सुगन्ध भन्थ्यो, 'साँचो प्रेम कहिल्यै हराउँदैन, बसस्टपमा अझै बाँचिरहेछ ।“

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children