क्रिकेटयात्रा

सम्राट जंग खत्री
एउटा सानो गाउँमा देव नाम गरेको बालक आफ्नो बाल्यकालमा रमाइरहेको थियो । देव एउटा राम्रो र असल बालक थियो । उसको मन र दिमागले खेलकुदलाई कहिल्यै छोड्न सक्दैनथ्यो । ऊ जहाँ गए पनि खेलप्रति मात्र उसको ध्यान जान्थ्यो । खेलकुद नै उसको खुसीको एक मात्र स्रोत थियो । आफ्नो जिन्दगी पनि त्यसैमा समर्पण गर्न पाए हुन्थ्यो भन्ने उसको सपना थियो ।
ऊ हरेक दिन खेलका माध्यमबाट आफनो देशलाई विश्वमा इज्जत र सम्मान दिलाउने कुरा सोच्थ्यो । कहीँ कतैबाट खेल खेल्न बोलाएपछि ऊ हुरुक्क हुन्थ्यो । उसको प्रिय खेल क्रिकेट रहेको थियो । देव यो खेलमा धेरै राम्रो थियो । आफ्नो पढाइमा पनि ध्यान दिँदै देवले यस खेलमा धेरै भन्दा धेरै मिहिनेत गर्यो र एउटा सफल खेलाडी बन्ने सङ्केत देखायो ।
देवका बुबाआमाको आर्थिक स्थिति कमजोर भए तापनि उसका बुबाआमाले उसलाई खेल खेल्नमा सधैँ सहयोग गरे । देवका बुबाले आफनो साथीबाट ऋण लिई आफ्नो छोरालाई नयाँ नयाँ क्रिकेटका सामानहरु किनिदिए । बुबाको यस्तो कार्यले देव खेलप्रति अझ धेरै प्रेरित भयो ।
देवले कक्षा दश पास गरेपछि क्रिकेटमा अहोरात्र मिहिनेत गर्न थाल्यो । गाउँघरमा आफना साथीहरुसँग खेल्दा देवले अचम्म अचम्मको विकेट लिन्थ्यो । आफूले ब्याटिङ गर्ने बेला छक्का र चौका बाहेक केही हान्दैनथ्यो । सबैले उसको मिहिनेतको प्रशसा गर्थे ।
एक दिन देव आफ्नो गाउँ छाडेर सहर गयो । देवको घरको आर्थिक स्थिति कमजोर थियो । क्रिकेट खेलेर परिवारको आर्थिक स्थितिमा सहयोग नपुग्ने देखेर देव सहरतिर काम गर्न गयो । उसले एउटा होटेलमा काम गरी बिस्तारै पैसा कमाउन थाल्यो । उसको त्यति कमाइले परिवार धान्न तथा आफ्नो खर्च पुर्याउन उसलाई कठिन भइरहेको थियो । त्यसमाथि बुबाको ऋण तिर्न नसक्दा देव एकदम निराश हुन्थ्यो ।
देवलाई घर चलाउन आमाको सुन बेच्नु पर्ने बाध्यता आउन थाल्यो । उसले आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर ऋण तिर्ने अवस्था आएको थियो । उसको क्रिकेट खेलाडी बन्ने सपना बिस्तारै टुक्रिँदै थियो । देवले अरु कुनै पेसा अपनाएर त्यसमा मिहिनेत गर्ने विचार गर्न थाल्यो ।
होटेलबाट काम सकेर आफ्नो कोठामा जाँदै गर्दा देवले राष्ट्रिय क्रिकेट टिमको लागि छनोट हुने प्रतियोगिता हुन लागेको थाहा पायो । उसले त्यो छनोट चरणमा खेलेर आफ्नो क्षमता देखाउने विचार गर्यो र उसले क्रिकेटका मानिस भेटेर आफ्नो कुरा राख्यो । देवको कुरा सुनेर ती मानिसहरुले पनि उसलाई खेल्ने अवसर दिए ।
उसले बेलुकै सबै सामान ठिक्क पा¥यो । भालिपल्ट बिहानै उठेर आफ्नो कोठाबाट सबै सामान लिई खेल्न गयो । उसलाई कता कता डर लागिरहेको थियो, कतै उसले नराम्रो खेलेर छनोट नहुने हो कि भनेर ।
देव त्यहाँ नयाँ थियो । उसलाई कसैले चिनेका थिएनन् । उसले उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने चुनौती रहेको थियो । केही समयपछि देवलाई खेल्नका लागि बोलाइयो । ऊ यो मौका पाएकोमा धेरै खुसी थियो ।
सुरूमा देवलाई बलिङ गर्न लगाइयो । उसलाई खेलप्रतिको भोक ज्यादा नै लागेको थियो । उसले उत्कृष्ट प्रदर्शन गर्यो । उसले त्यहाँ भएका निर्णायक टिमलाई चकित बनायो । देवले १४१ कि. मि. प्रतिघण्टाको रफ्तारले बलिङ गर्यो र सबै बल विकेटमा लगायो ।
अर्को चरणमा उसलाई ब्याटिङ गर्न लगाइयो । त्यसमा उसले धेरै बल चौका र छक्का हानी दियो । उसले खेलिसकेपछि आफ्नो शारिरिक स्वास्थ्यको जाँच गर्यो । त्यहाँबाट उसलाई भोलिपल्ट पनि आउन भनियो ।
देव घर फर्कँदा धेरै थाकेको थियो । रातभर उसलाई निद्रा लागेन । उसले खेल त उत्कृष्ट नै खेलेको थियो तर निर्णय उसको हातमा थिएन । कतिबेला बिहान होला भन्ने सोच्दासोच्दै ऊ निदायो ।
भोलपिल्ट चाँडै ऊ घरबाट निस्कियो । उसले खेलकुद परिषदको बोर्डमा खेलाडीको नाम प्रकाशन भएको देख्यो । उसको मुटु डरले ढुकढुक गर्न थाल्यो । उसले बिस्तारै आफ्नो आँखा त्यस बोर्डमा दौडायो । उसले एकैछिनमा आफ्नो नाम भेट्टायो । उसको खुसीको सीमा रहेन ।
देवको लागि यो एउटा खुसीको कुरा थियो । उसले त्यो दिन आमाबुबालाई फोन गरी सबै कुरा सुनायो । देवका बुबाआमा पनि धेरै खुसी भए । त्यसका साथै देवलाई अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहान र बेलुकी क्रिकेट अभ्यास गर्न बोलाइयो ।
देवले राष्ट्रिय टिममा छनोट हुनासाथ राम्रो प्रदर्शन गर्न थाल्यो । देव अब एउटा राष्ट्रिय क्रिकेट खेलाडी बन्यो । आफ्नो हरेक अभ्यासमा धेरै राम्रो प्रदर्शन गर्न थाल्यो ।
केही दिनमा नेपाल एसिया कपको लागि छनोट पनि भयो । नेपालको यस टिममा देव पनि थियो । देवका लागि यो एउटा ठूलो मौका थियो । आफूलाई र आफ्नो देशलाई विश्वसामू परिचित गराउने ठूलो अवसर थियो ।
एसिया कप खेल्न जानु अगाडि देवका बुबाआमाले सफलताका आशीवाद दिए र त्यहाँबाट देवसहित नेपाली क्रिकेट टिम खेल खेल्नका लागि दुबईतर्फ हिँड्यो ।
देवको खेलाडी बन्ने सपना हेर्दा हेर्दै एउटा सफल क्रिकेट खेलाडीमा परिणत भयो । दुबईको रमझम देखेर देव छक्क पर्यो । दुबई धेरै विकसित थियो । त्यस्तो सुन्दर भुमिमा खेल्न पाउँदा ऊ अत्यन्त उत्साहित थियो ।
पहिलो खेलमा नेपालले हार बेहोर्नुपर्यो तर देवको प्रदर्शन भने उत्कृष्ट भयो । दोस्रो खेलमा नेपालले बंगलादेशसँग ५ विकेट र ९० रनको फरकमा विजय हासिल गर्यो । यो खेलमा नेपालले लगातार दुई खेल जित्यो । यसरी नेपाल पहिलो पटक सेमी फाइनलमा पुग्यो तर सेमी फाइनलमा हार बेहोरे पनि देवको प्रदर्शनले गर्दा नेपालको चारै तिर चर्चा भयो । आफ्नो देशको नाम चारैतिर फैलिएको सुनेर देव एकदमै खुसी भयो ।
देवलाई उसको खेल राम्रो भएका कारण विभिन्न देशबाट खेलको प्रस्ताव आउन थाल्यो । ऊ विदेशी क्लवमा खेल्न थाल्यो । उसले नाम अनि दाम दुबै कमायो । घरको ऋण पनि सबै तिर्यो र आफनो आमाबुबाको नामलाई पनि उच्च बनायो ।