मिहिनेतको फल

शताक्षी भट्ट
सञ्जय डोटीको एउटा दुर्गम गाउँमा हुर्किएको मध्यम वर्गीय परिवारको विद्यार्थी थिए । दुर्गम गाउँमा हरेक दिन विद्यालय जान टाढाको बाटो हिँड्नुपर्ने कुरा सञ्जयलाई राम्ररी थाहा थियो । संञ्जयको बाल्यकाल सम्झिँदा जो कसैलाई पनि दया लग्थ्यो । डोटीमा रहेको बोगटानमा जन्मेका सञ्जय गाउँको विद्यालयमा पाँच कक्षासम्म शिक्षा हाँसिल गरेपछि थप अध्ययनका लागि सदरमुकाम सिलगढी पुगे । सिलगढीमा अर्काको घरमा डेरामा बसेर पढ्दा सञ्जयले धेरै ठूलो सङ्घर्ष गर्नुपर्यो । उनलाई चामल, पिठो जस्ता खाद्यान्न गाउँबाट बोकेर लानुपर्थ्यो । हप्तामा दुई दिन बिदा हुनासाथ उनी घर आउँथे र आफूलाई चाहिने खाद्यान्न बोकेर सिलगढी जान्थे ।
सञ्जय बाह्र वर्षको उमेरमा परिवारबाट टाढा भएर बस्नु पर्दा उनलाई सजिलो पक्कै थिएन । गाउँमा पाँच कक्षासम्मको मात्रै पढाइ हुने हुँदा धेरै जसो विद्यार्थीहरु गाउँमै बसेर खेतबारीमा काम गर्ने वा कामको खोजीमा भारत जाने गर्थे तर पढाइमा अब्बल सञ्ंजय भने छ कक्षा अध्ययन गर्न घर छोडेर हिँडे । घरबाट सिलगढी आउने जाने गर्दा बाटोमा पर्ने खोलो तर्न र जङ्गल पार गर्न भने संञ्जयलाई धेरै डर लाग्थ्यो । घना जङ्गलमा बाघ, भालुसँग जम्काभेट हुने जोखिम थियो । तैपनि सञ्ंजय आफूलाई बलियो बनाउँदै जङ्गल पार गर्थे ।
कडा परिश्रमकासाथ पढ्ने सञ्जय कक्षामा सधैँ प्रथम हुन्थे । निरन्तरको मिहिनेतको फलस्वरूप सञ्जयले त्यतिबेला निकै गाह्रो मानिने एस.एल.सी. परीक्षा उर्तीण गरे । उनको विद्यालयबाट एस. एल. सी. उर्तीण गर्ने सञ्जय मात्र एक्लो विद्यार्थी थिए । उनी साथीभाइहरुसँग सिलगढीबाट घर फर्किदा उनको मिहिनेतको प्रशंसा सबैले गर्थे । सञ्जय परिश्रमी भएका कारण जिल्लामा मात्र नभएर उनको नाम त्यसबेलाका नेपालका राजासम्म पनि पुग्यो ।
राजा बीरेन्द्रले आफ्नो डोटीको भ्रमणको समयमा संञ्जयका बारेमा सुन्नासाथ उनलाई बोलाए र भविष्यमा कहाँ पढ्छौ, के विषय पढ्ने इच्छा छ, तिम्रो परिवारको अवस्था के कस्तो छ भनेर सोधे । त्यतिबेला देशका पाँचवटै विकास क्षेत्रमा राजाले प्रत्येक वर्ष आलोपालो गरी भ्रमण गर्ने प्रचलन थियो । त्यस्तो भ्रमणको समयमा राजाले प्रतिभावान् र जेहेन्दार विद्यार्थीहरु छनोट गरेर डाक्टर, वकिल, इन्जिनीयरजस्ता विषयहरु पढ्न प्रोत्साहन गर्थे ।
राजा बिरेन्द्रले के बन्छौ भनेर सोध्दा सञ्जले आफ्नो डाक्टर बन्ने चाहना रहेको बताए । बाल्यकालमा गाउँका मानिस विभिन्न रोगको सिकार भएर बिना उपचार मृत्युको मुखमा पुगेको सञ्जयलाई राम्ररी सम्झना थियो । उनी डाक्टर बनेर रोगी र विपन्नहरुको सेवा गर्न चाहन्थे । यसै कारण उनले राजासँग डाक्टर बन्ने इच्छा राखेका थिए ।
दुर्गम गाउँमा डाक्टर बनेर सेवा गर्दा सञ्जयलाई ठूलो धर्म हुन्छ भन्ने लाग्यो । दयालु स्वभावका राजाले सञ्जयको चाहना बुझ्नासाथ उनलाई काठमाडौंँको त्रिचन्द्र कलेजमा भर्ना भएर विज्ञान विषय पढ्न सहयोग गर्ने वचन दिए र सञ्जयलाई काठमाडौँ बोलाए । उनलाई काठमाडौंँमा पढ्न र बस्न आवश्यक पर्ने खर्च राजाले महिनैपिच्छे दिने व्यवस्था गरे ।
काठमाडौँ आउँदा सञ्जयको उमेर अठार वर्ष थियो । उनी आइ. एस्सी. पढ्न त्रिचन्द्रमा भर्ना हुँदा उनको कक्षामा जम्मा पन्ध्र जना विद्यार्थी थिए । सञ्जयको पढाइप्रतिको लगाव र मिहिनेतले उनलाई आइ. एस्सी. मा नेपालभरिका सबै विद्यार्थी मध्ये प्रथम हुने अवसर मिल्यो । प्रथम भएकै हुनाले उनलाई त्यतिबेला सरकारले मेडिकल विषय पंढ्न छात्रवृत्ति दिएर बङ्गलादेश पठायो । नेपालमा मात्रै नभएर सञ्जयले आफ्नो प्रतिभाको पहिचान बङ्गलादेशमा पनि दिए । बङ्गाली विद्यार्थीहरुले सञ्ंजयसँग पढ्न र प्रतिस्पर्धा गर्न निकै मिहिनेत गरे ।
हुने बिरुवाको चिल्लो पात भनेझैँ सानैदेखि मिहिनेत गर्ने बानी भएका सञ्जय चार वर्ष बङ्गलादेशमा मेडिकल पढ्दा सर्वतक्रिस्ट ठहरिए । मेडिकल पढदा सञ्जयले गरेको मिहिनेत देखेर बङ्गाली शिक्षकहरु छक्क पर्थे । बङ्लादेशमा पढाइ सकेर नेपाल फर्केपछि सञ्जयले महाराजगञ्ज शिक्षण अस्पतालमा काम गर्न सुरू गरे । काम गर्न सुरु गरेको छोटो समयमै उनको लोकप्रियता बढ्दै गयो । सबैका प्रिय, मिजासिला र सहयोगी डाक्टरको रूपमा सञ्जयलाई देश विदेशमा समेत सबैले चिन्न थाले ।
दुर्गम गाउँबाट सङ्घर्ष गर्दै पढ्दै अगाडि बढेका सञ्जय गाउँका मानिसहरुका लागि पनि प्रेरणाका स्रोत बन्न थाले । संञ्जयको पदचाप पछ्याउदै गाउँका मानिसहरु आफ्ना छोराछोरीलाई पढ्न प्रेरणा दिन थाले । सञ्जयले घर छोडेर स्वदेश र विदेशमा बसी पढ्दाका बखत गरेको सङ्घर्ष सबैका लागि प्रेरणाको स्रोत बन्न थाल्यो । सञ्जयले पनि आफ्नो गाउँ जस्तै पछाडि परेका ठाउँहरुबाट पढ्न आएका विद्यार्थीहरुलाई सक्दो सहयोग गरे ।
मिहिनेती सञ्जय मेडिकल विषयको थप पढाइ गर्न केही वर्षपछि संयुक्त राज्य अमेरिका गए । अमेरिकामा बस्दा उनले बालरोग विशेषज्ञ बन्न थप पढाइ गरे । अमेरिकामा संसारभरिकै उत्कृष्ट पढाइ हुने भएका कारण प्रतिभाशाली विद्यार्थीहरुका बीच ठूलो प्रतिस्पर्धा हुने गर्छ । अमेरीकाको मेरिल्याण्डमा रहेको हपकिन्स विश्वविद्यालयबाट उनले सबैभन्दा बढी अङ्क ल्याएर चिकित्साशास्त्रमा स्नाकोत्तर डिग्री हासिल गरे ।
विश्वविद्यालयका प्राध्यापकहरुले उनलाई निकै मन पराएर केही वर्ष त्यहाँ बसेर काम गर्न भने । सञ्जयको स्वभाव र मिहिनेतका कारण अमेरिकामा समेत उनलाई सबैले औधी मन पराउन थाले । अमेरिकाबाट नेपाल फर्किन पनि केही वर्ष कुर्नुपर्यो ।
सञ्जयले नेपाल फर्केपछि नेपालका दुर्गम ठाउँहरुमा गएर स्वास्थ्य सेवा प्रदान गर्न थाले । सञ्जयको लामो अनुभव, अध्ययन र अन्तर्राष्ट्रिय पहिचानले उनलाई नेपालका गाउँमा समय समयमा गएर स्वास्थ्य सेवा प्रदान गर्न झनै सजिलो भयो । सञ्जय आफ्नो बाल्यकाल सम्झिँदै आफ्नो गाउँमा पनि फर्केर काम गर्न उत्साहित भए । उनले आफूजस्तै गाउँका युवाहरुलाई जुटाएर एउटा नमुना अस्पताल पनि स्थापना गरे । आज पनि सञ्जयले गाउँमा स्थापना गरेको अस्पतालमा धेरै मानिस उपचार गर्न आउँछन् र सञ्जयलाई सम्झिँदै मनमनै धन्यवाद दिन्छन् ।