यस्तो कहिल्यै नहोस्

सभिरा बोहरा
आद्रिका आठ कक्षामा पढ्ने विद्यार्थी हुन् । उनी अत्यन्तै सुन्दर र दयालु थिइन र उनको मन साह्रै कोमल थियो । उनी तेह्र बर्ष लाग्न केवल पन्ध्र दिन मात्र बाँकी थियो । उनलाई प्रायः सबैले मन पराउँथे । सबै उनका साथी बन्न रुचाउँथे । उनी काठमाडौँको एउटा सानो ठाउँ लुभुमा बस्थिन् ।
एकदिन उनको कक्षामा एक जना नयाँ केटी आइन् । उनको नाम रिया थियो । उनी अति नै शान्त स्वभावकी थिइन् र कोहीसँग बोल्न रुचाउँदिनथिन् । आद्रिकालाई रियासँंग बोल्न मन थियो र उसकी साथी हुन मन थियो ।
उनी कक्षाभित्र प्रवेश गरिन् र एउटा कुनामा गएर बसिन् । त्यतिबेला आद्रिका किताब, कापी र झोला लिएर रियातिर गइन् । आद्रिकाले आफ्नो परिचय दिइन् र उनीहरु एक अर्काको साथी बने ।
एक दुई दिनपछि रियाले आद्रिकालाई आफ्नो घरमा बोलाइन् । उनीहरु एकआपसमा कुराकानी गरे र रियाले आद्रिकालाई मोबाइलमा एउटा एप देखाइन् । त्यो एप चलाएर धेरै पैसा कमाउन सकिने कुरा पनि गरिन् ।
रियाले आद्रिकालाई इन्स्टाग्राममा एउटा साथीसँग चिनाइन् र भनिन्, “मैले पनि उसलाई त्यही एपको माध्यमबाट नै भेटेकी हुँ । उसले नै मलाइ यो एप दिएको हो ।
उनीहरु कुराकानी गरिरहेका थिए । त्यही बेला नै आद्रिकाका बुबा उनलाई लिन अइपुग्नुभयो । उनी सबैसँग बिदा भइन् र घर गइन् ।
राति सुत्ने जाने बेला आद्रिकाले आफ्नो फोन हेरिन् । रियाले त फोनमा दिउँसो कुरा गरेको एप पो डाउनलोड गरिदिएकी रहिछिन् । त्यो एप देखेर उनको मनमा जिज्ञासा पलायो । उनले त्यो एप खोलेर आफ्नो प्रोफाइल बनाइन् । एप चलाउँदै गर्दा एक जना केटासित भेट भयो । उसको नाम अर्पण रहेछ । उनीहरु बोल्न थाले । बोल्दा बोल्दै रात सकिएर बिहान कहिले भयो थाहा नै भएन ।
बिहानको छ बजे पछि उनले फोन काटिन् । नौ बजेतिर उनी विद्यालय गइन् । उनले अर्पणसँग भएका सबै कुरा रियालाई भनिन् । आद्रिकालाई खुसी देखेर रिया पनि खुसी भइन् तर त्यो एप चलाउँदा होस पुर्याएर चलाउन सुझाव दिइन् ।
यसरी दिनहरु बित्दै गए । आद्रिकाको र अर्पणको मित्रता बढ्दै गयो । थाहै नपाइ उनीहरु धेरै नजिकिए । एक दिन आद्रिकाले आफ्नो जन्मदिन अगाडि अर्पणलाई फोन गारिन् । अर्पण भिडियो कल गर्न मान्दैनथ्यो तर फोनमा भने घन्टौँ बोल्थ्यो । अर्पणले नराम्रो मान्ला भनेर आद्रिकाले केही भनेकी थिइनन् । आद्रिकाले फोन गरेको केही समयपछि अर्पणले फोन उठायो ।
“थाहा छ भोलि के हो ?” आद्रिकाले सोधिन् ।
“के हो र ?” अर्पणले प्रश्न गर्यो ।”
भोलि त मेरो जन्मदिन पो हो त ।” आद्रिकाले भनिन् ।
अर्पणले आद्रिकालाई “तिमीलाई के चाहिन्छ” भनेर सोध्यो ।
आद्रिकाले “त्यस्तो केही चाहिँदैन तर मलाई एक चोटी तिमीसँग भेट्न मन छ” भनिन् । आद्रिकाले अर्पणलाई भेट्न धेरै चोटि आग्रह गरिन् । पहिला अर्पण अलिकति हिच्किच्यायो तर अन्त्यमा मान्यो । अर्पणसित भेट्ने कुराले आद्रिकालाई रातभर निद्रा परेन । उनीहरुले भोलिपल्ट बिहान आठ बजे भेट्ने निर्णय गरेका थिए तर खुसीले गर्दा उनी अलि चाँडै निस्किन तयार भइन् । उनले एकदमै सुन्दर लुगा लगाइन् ।
उनी घरबाट अलि चाँडै निस्किन् र चाँडो पुगिन् । उनले अर्पणलाई धेरै कुर्नुपर्यो । एक घन्टासम्म कुर्दा पनि ऊ आएन । रिसाएर नराम्रो मान्दै उनी घर फर्किन लागेकी थिइन् । त्यति बेला नै उनले परबाट एकजना मानिस आइरहेको देखिन् । अर्पण नै हाला भनेर उनी खुसी भइन् । पर्खिँदाको रिस पनि उनले बिर्सिन् ।
त्यो मानिस अलि नजिक आयो तर अर्पण त होइन रहेछ । किनभने त्यो मानिस त बुढो थियो । उनी निराश भइन् । त्यो मानिस उनीतिर नै आइरहेको थियो । उनले अलि असहज महसुस गरिन् । त्यो मानिसले आद्रिकालाई बोलायो र आफू अर्पण भएको कुरा बतायो । तर आद्रिकाले बिश्वास गरिनन् । उनलाई त त्यो मानिसले जिस्क्याएको जस्तो लागिरहेको थियो ।
अर्पणले आद्रिकालाई सबै कुरा बतायो । त्यसपछि चाहिँ आद्रिकालाई पनि विश्वास भयो कि यो मानिसले उनलाई झुक्याइरहेको रहेछ भनेर । उनी छाँगाबाट खसेझैँ भइन् । उनी घर फर्किन खोजिन् तर त्यो मानिसले उनलाई रोक्यो र आफूसँग हिँड्न आग्रह गर्यो । आद्रिका जान मानिनन् । त्यसपछि त्यो मानिसले धम्क्याउन थाल्यो । आद्रिका त्यहाँबाट भागेर एउटा चिया पसलमा जान सफल भइन् । उनले के भइरहेछ भन्ने कुरा केही सोच्न पनि सकिनन् । उनी रुँदै एउटा ट्याक्सीमा चढिन् र घर गइ्न् । अर्पणले उनीसँग धेरै सम्पर्क गर्न खोज्यो तर उनले उसलाई ब्लक गर्दिन् । उनले त्यो दिन सबैभन्दा सुन्दर दिन हुनेछ भन्ने कल्पना गरेकी थिइन् तर त्यो दिन सबैभन्दा डरलाग्दो भइदियो ।
उनले रियालाई ती सबै कुरा भनिन् । रियाले उनलाई धेरै सम्झाइन् । तर आद्रिका दुई तीन महिनासम्म यो घटनाबाट बाहिर आउन सकिनन् । पढाइ पनि पुरै बिग्रियो । छोरीको यस्तो हालत देखेर उनका बुबाआमा पनि आत्तिनुभयो । आद्रिकाको हालत किन यस्तो भयो भनेर जानकारीसम्म पाएका थिएनन् ।
एकदिन आफैँ आद्रिकाले सबै कुरा बताइन् र अबदेखि कहिले नचिनेको मानिससित कुरा नगर्ने बताइन् । छोरीको कुरा सुनेर बुबाआमा पनि छोरी अपराधीबाट बचेकोमा लामो सास तान्नुभयो र छोरीलाई मायाले सम्झाउनुभयो । बुबाआमाको माया र ममताले आद्रिकालाई यो घटनाबाट बाहिर आउन सजिलो भयो । उनले अबदेखि नचिनेका मानिस तथा अनावश्यक रुपमा मोबाइल नचलाउने अठोट गरिन् । उनको पढाइ पनि राम्रो हुँदै गयो ।