Skip to main content

डाक्टर माया

देवशी ढकाल

कक्षा : नौ (गण्डकी)

एउटा सानो गाउँमा माया नाम गरेकी एक चञ्चले र मेहेनती बालिका बस्थिन् । माया परिवारकी एक्ली छोरी थिइन् । गाउँमा शिक्षा र स्वास्थ्य सेवाको अभाव थियो, जसले गर्दा धेरैजसो मानिसहरु सामान्य रोगहरुबाटै प्रभावित हुने गर्थे । मायालाई सानै उमेरदेखि नै पढ्न र नयाँ कुरा जान्न ठूलो रुचि थियो । यद्यपि उनलाई गाउँको एकमात्र पुरानो स्कुलमा मात्र पढ्न पाउने सुविधा थियो, जहाँ सिमित पुस्तक र साधनहरु थिए ।

मायाको परिवार आर्थिक रूपमा धेरै नै कमजोर थियो । उनका बुबा सामान्य किसान थिए भने आमाले घरायसी कामकाज सम्हालेकी थिइन् । मायाका बुबाआमाको चाहना मायाले राम्रो शिक्षा प्राप्त गरुन् र गाउँका अन्य बालबालिकाजस्तो अशिक्षित नबनून् भन्ने थियो । घरको आर्थिक अवस्था कमजोर भए पनि मायाका बुबा आमाले आफ्नी छोरीलाइ विद्यालय पठाएका थिए । उनीहरुले जे सक्थे त्यसै गरेर मायाको पढाइ अघि बढाउन हरसम्भव प्रयास गरिरहे ।

मायाको सानै उमेरदेखि नै आफू डाक्टर बन्ने सपना थियो । एक पटक गाउँमा महामारी फैलियो र धेरैजसो मानिस बिरामी परे । त्यति बेला गाउँमा डाक्टर नभएर धेरै मानिसहरु ज्यान गुमाउन बाध्य भए । मायाले आफ्नै नजिकका साथीको मृत्यु पनि देखिन् र यस घटनाले उनको मनलाई गहिरोसँग छोयो । त्यस दिन मायाले एकदिन डाक्टर बनेर आफ्नो गाउँका मानिसहरुको सेवा गर्ने दृढ सङ्कल्प गरिन् ।

डाक्टर बन्ने यात्रा सजिलो थिएन । गाउँमा उच्च शिक्षाको व्यवस्था थिएन । मायाले दश कक्षासम्मको पढाइ गाउँकै विद्यालयमा पूरा गरिन् । त्यसपछिको पढाइ अघि बढाउन सहर नै जानुपर्ने भयो । मायाको परिवारसँग सहरमा पढाउने खर्च थिएन । तैपनि मायाले आफ्नो सपनालाई त्यत्तिकै अन्त्य हुन दिइनन् । मायाले गाउँमा जे काम पाइन्छ त्यही गर्न थालिन् । घर नजिकैको फाँटमा मजदुरी र अन्य स–साना काम पनि गरिन् र पैसा जम्मा गर्न थालिन् ।

केही वर्षमा उनको साथमा केही पैसा जुट्यो । उनको पढ्ने चाहना देखेर केही समाजसेवीले पनि सहयोग गरे । उनी हिम्मत गरेर सहर पुगिन् । सहरको जीवन गाउँको जीवनभन्दा धेरै फरक थियो । त्यहाँको भिडभाड, ठूला भवन र बत्तीको उज्यालोले उनी निकै प्रभावित भइन् । तर उनलाई थाहा थियो कि उनी त्यहाँ कुनै रमाइलोका लागि होइन, आफ्नो सपनालाई पुरा गर्न आएकी हुन् । सहरमा उनले एउटा सानो कोठा भाडामा लिइन् र उच्च शिक्षाका लागि कलेजमा भर्ना भइन् ।

मायाले सहरमा पढाइसँगै कलेजको शुल्क तिर्न काम पनि गर्न थालिन् । उनले स–साना रेस्टुरेन्टमा काम गरिन् । ट्युसन पढाइन् अनि दिनभरि कलेजमा पढाइ र रातभर काम गरेर सङ्घर्ष गरिन् । त्यहाँ उनीसँग आरामको लागि समय हुँदैनथ्यो । यो उनको कठिन र सङ्घर्षपूर्ण जीवन थियो । उनको डाक्टर बन्ने दृढ सङ्कल्पका कारण उनले यो कठिनाइलाई सहजै सहन सकिन् ।

वर्षौँको मेहनतपछि अन्ततः माया मेडिकल कलेजमा भर्ना हुन सफल भइन् । त्यो समय माया र उनको परिवारको लागि निकै गर्वको क्षण थियो । उनको गाउँका मानिसहरुले समेत खुसी मनाए किनकि उनीहरुलाई थाहा थियो कि माया एउटा असल उद्देश्यका लागि अघि बढ्दै छिन् । मेडिकल कलेजमा पढ्न सजिलो थिएन । धेरै कठिन विषय, गहिरो अध्ययन, अनि बायोकेमिस्ट्री, एनाटमी, र फिजियोलोजी जस्ता जटिल विषयहरुसँग जुध्नु पथ्र्याे ।

मायाले दिनरात मेहनत गरिन् अनि हरेक दिन आफ्नो लक्ष्यको नजिक पुग्दै गइन् । मेडिकल अभ्यासका क्रममा उनले बिरामीहरुको सेवा गर्ने मौका पाइन् र त्यो उनको जीवनकै महत्वपूर्ण अनुभव बन्न पुग्यो ।

बिरामीहरुलाई आफ्नो सेवाले राहत दिइरहँदा उनी झन् डाक्टर बन्ने उद्देश्यप्रति प्रतिबद्ध भइन् । मायाले आफ्नो मेडिकल शिक्षा सम्पन्न गरिन् र प्रमाणपत्र प्राप्त गरिन् । त्यस दिन माया निकै भावुक भइन् । उनलाई सम्झना आयो, आफ्ना बुबा आमाका सङ्घर्ष र त्यागहरु, गाउँका ती दिनहरु, जुन कहिल्यै उनका लागि सहज थिएनन् । अब माया एक डाक्टर बनिसकेकी थिइन् । त्यो पनि आफ्नो मेहनत, दृढता र परिवारको माया र सहयोगको कारण ।

मायाले तुरुन्तै आफ्नो गाउँ फर्केर स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरिन् । जब उनी गाउँ पुगिन्, गाउँलेहरु निकै खुसी भए । माया अब एक डाक्टर मात्र होइन, उनी गाउँको गौरव थिइन् । उनले गाउँमै एउटा सानो स्वास्थ्य केन्द्र स्थापना गरिन् । त्यो सानो स्वास्थ्य केन्द्र गाउँका लागि ठूला अस्पतालभन्दा कम थिएन । उनले स–साना रोगहरुको उपचार गर्न थालिन् र बिरामीहरुको प्राथमिक उपचार गरिन् । त्यहाँ असम्भव लाग्ने उपचारका लागि उनले बिरामीलाई नजिकैको सहरको अस्पतालमा पठाउन पनि सहयोग गरिन् ।

मायाको यो कार्यले गाउँका मानिसहरुको जीवनमा ठूलो परिवर्तन ल्यायो । बिरामी हुँदा सहर जानुपर्ने बाध्यता हट्यो र स्वास्थ्य सेवा सहज रूपमा गाउँमै उपलब्ध हुन थाल्यो । मायाको परिश्रम र समर्पणले गर्दा गाउँका अन्य बालबालिकाहरु पनि शिक्षामा रुचि देखाउन थाले । मायाले मात्र आफ्नो सपनालाई साकार गरिनन्, उनले आफ्नो गाउँका मानिसहरुको जीवनमा आशा र नयाँ ऊर्जा भर्न सफल भइन् ।

यसरी, माया एक साधारण गाउँकी बालिका भएर पनि आफ्नो अटल इच्छाशक्ति र मेहनतको बलमा एक सक्षम डाक्टर बनिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children