दाइजो

सृष्टिका बस्नेत
रियाको गाउँ अत्यन्त सुन्दर थियो । उनी आफ्ना आमाबुवासित बस्थिन् । उनी निकै सुन्दर हुनुका साथै दयालु र इमानदार पनि थिइन् । उनको परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन तर रिया मिहिनेती र पढाइ राम्रो भएका कारण उनी राम्रो विद्यालयमा भर्ना भइन् । उनी जहिले पनि आफ्नो कक्षाको प्रथम स्थानमा आउँथिन् ।
रियाले एस. ई. ई. पनि दिइन् । केही समयपछि रिजल्ट आयो । उनी राम्रो अङ्कका साथ उत्तीर्ण भइन् । त्यसपछि उनी घर नजिकैको कलेजमा भर्ना भइन् । उनले पढाइमा धेरै नै मिहिनेत गर्दै गइन् । उनको लगन र मिहिनेतका कारण उच्च शिक्षा पनि राम्रो हुँदै गयो ।
कलेज पढ्दाको समयमा नै उनको भेट गौरवसँग भएको थियो । उनीहरु एउटै कलेज पढ्थे । सुरुमा उनीहरु मिल्ने साथी थिए । समय बित्दै जाँदा उनीहरुले एकअर्कालाई माया गर्न थाले ।
खासमा गौरवको पढाइ त्यति राम्रो त थिएन तर ऊ के राम्रो हो र के नराम्रो हो भनेर राम्रोसँग चिन्थ्यो । त्यसपछि रिया र गौरवले विवाहको बारेमा सोच्न थाले । रिया र गौरवका आमाबुवाबिच विवाहका बारेमा कुराकानी भयो । आमाबुवाबिच पनि सहमति भएपछि उनीहरुको विवाहको लागि तयारी सुरु हुन थाल्यो । रिया र गौरव दुबै खुसी थिए ।
विवाहको दिन नजिक आउन लागिसकेको थियो र सबै तयारी भइसकेको थियो । छरछिमेकमा भएका सबै मानिस र आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो ।
विवाहको तयारीले समय बितेको पत्तै भएन । कति चाँडै विवाहको दिन पनि आयो । सबै छरछिमेका मानिस र आफन्तहरु भेला भए । बेहुलापट्टिका मानिस पनि आइसकेका थिए र बेहुली मण्डपमा बसिसकेकी थिइन् ।
बिहे सुरु हुन लागेको बेला बेहुलाका बुवाले बेहुलीका बुवालाई सोधे “दाइजोमा केके दिने विचार छ त हजुर ?” यस्तो सुनेर बेहुलीका बुवा छक्क परे ।
गौरवका बुवाले कुरा अझ अगाडि बढाए, “बिस लाख रुपैयाँ दिनुहुन्छ होला हैन ?”
सम्धीका यस्ता कुरा सुनेर रियाका बुवाले “हैन ए सम्धीज्यू यो तपाईँले कस्तो कुरा गर्नुभएको ? यत्रो पढाएको हुर्काएको शिक्षित छोरी हामी तपाईँको घर पठाउँदैछौँ । यो नै ठूलो कुरा हो । योभन्दा बढी अरु तपाईँलाई के नै चाहियो र ?” भने ।
रियाका बुवाको कुरा सुनेर गौरवका बुवाले थपे, “के भन्नुहुन्छ तपाईँहरु, दाइजो नदिने हो ? हामीलाई त बिस लाख जति दाइजो त चाहिन्छ । दाइजो नदिने भए त हामी यो विवाह गर्दैनौं ।”
रियाका बुवाको कुरा सुनेर गौरवका बुवाले थपे, “के भन्नुहुन्छ तपाईँहरु, दाइजो नदिने हो ? हामीलाई त बिस लाख जति दाइजो त चाहिन्छ । दाइजो नदिने भए त हामी यो विवाह गर्दैनौं ।”
त्यतिकैमा गौरवका बुवाले जवाफ दिए, “हाम्रो समाजमा त्यस्तै चलन रहेको छ । समाजमा हाम्रो पनि त इज्जत छ । दाइजो नदिँदा हामीलाई के भन्लान् ? हामी त दाइजो लिएपछि मात्र विवाह गर्नेछौं । नत्र, यो विवाह नहोस् भनेर हामी चाहन्छौँ ।”
रियाले परैबाट यी सबै कुरा ध्यानपूर्वक सुनिरहेकी थिइन् । उनले गौरवलाई बोलाएर सोधिन्, “गौरव ! बुवाले के भन्न खोज्दै हुनुहुन्छ ?”
“मेरो बुबा ठिकै त भन्दै हुनुहुन्छ रिया । हरेक आमाबुवाको चाहना यस्तै हुन्छ । ”
गौरवको कुरा सुनेर रियालाई सुरुमा त गौरवले जिस्किएको भन्ने लाग्यो । जब ऊ साँचो बोलिरहेको छ भनेर रियालाई थाहा भयो तब उनलाई आफूमाथि पहाडै खसेजस्तो भयो । उनले गौरवलाई भनिन्, “तिमीले मलाई दाइजोको लागि मात्रै विवाह गरेका हौ गौरव ?”
“यो मेरो मात्र खुसीको लागि गरेको विवाह होइन रिया । मैले मेरा आमाबुवालाई पनि खुसी बनाउनुपर्छ । यो उहाँहरुको चाहना हो ।”
“यो मेरो मात्र खुसीको लागि गरेको विवाह होइन रिया । मैले मेरा आमाबुवालाई पनि खुसी बनाउनुपर्छ । यो उहाँहरुको चाहना हो ।”
“तिमीलाई त मैले धेरै जान्ने बुझ्ने सम्झेकी थिएँ गौरव । तर तिमीमा यति नीच सोचाइ छ भन्ने कुरा थाहा थिएन । तिमी निस्वार्थ छौ भन्ने लागेको थियो तर त्यो त मेरो भूल रहेछ” रियाले भनिन् ।
सबैजना छक्क परे । “मलाई पनि गर्नु छैन यस्तो खालको बिहे गौरव । विवाह त प्रेमले हुनुपर्छ दाइजोले हैन ! नारी जातिलाई सम्पत्तिमा तुलना नगर गौरव । मैले तिमीलाई राम्ररी चिनेँ । अब हामी यो विवाह गर्न सक्दैनौँ गौरव । तिमी आफ्नो बाटो लाग, म आफ्नै बाटो लाग्छु” रियाले भनिन् ।
रियाका आमाबुवा पनि यो विवाह रोक्ने नै पक्षमा हुनुहुन्थ्यो । गौरवको परिवार दाइजो नपाएपछि फर्कियो । रियाका आमाबुवा दुःखी हुनुभयो तर रिया भने गलत मान्छेबाट बच्न सकेकोमा ढुक्क भइन् र एउटा कार्यालयमा जागिर खाएर आमाबुवालाई सहयोग गर्न थालिन् ।