Skip to main content

जीवनयात्रा

अभ्युदय पण्डित

कक्षा : नौ (गण्डकी)

कृष्णलाई विद्यालय जान मनै लाग्दैनथ्यो । हरेक दिन ऊ विद्यालय नजाने बाहना खोजिरहन्थ्यो । कहिले ऊ पेट दुखेको बहाना बनाउँथ्यो भने कहिले टाउको दुखेको । कृष्णका बाबुआमाले अनेक प्रयास गर्दा पनि कृष्णको विद्यालय जाने व्यवहारमा सुधार ल्याउन सकेका थिएनन् । उनीहरु निराश भए पनि अनेक जुक्ति लगाएर कृष्णलाई विद्यालय जान सम्झाउँथे तर उनीहरुको प्रयास सबै खेर जान्थ्यो ।

एक दिन कृष्णले स्कुल नगएर बाहिर घुम्न जाने विचार गर्यो । उसले साथीहरुसित विद्यालय नगई बाहिर गएर रमाइलो गर्ने योजना बनायो । कृष्ण घरबाट चाहिँ विद्यालय जान भनी निस्कियो । आज कृष्णले विद्यालय जान नाइनास्ती नगरेकाले उसका आमाबुबा पनि छक्क परे ।

कृष्ण बाहिर बाटामा मस्तसित घुमिरहेको थियो । घुम्दै जाँदा उसले बाटामा एउटा अनौठो दृश्य देख्यो । बाटोमा उसले एउटा केटो भेट्यो । त्यो केटाको उमेर उसकै जस्तो देखिन्थ्यो । हेर्दा त्यो केटो अभावमा बाँचेको जस्तो देखिन्थ्यो । उसित उसका बुबा पनि हुनुहुन्थ्यो । उसलाई यो दृष्य अनौठो लागिरहेको थियो । कृष्ण ती बाबुछोरा भएको ठाउँमा गयो । बाबुछोरा एकआपसमा कुराकानी गरिरहेका थिए । ऊ ती बाबुछोराको कुराकानी सुन्न थाल्यो ।

“बुबा मलाई पनि विद्यालय जान दिनु न । मलाई पनि अरू केटाकेटीले जस्तै किताब कापी बोकेर विद्यालय जान मन छ र पढेर ठूलो मानिस बन्न मन छ” केटाले रुन्चे मुख लगाउँदै बुबालाई भन्यो ।

बुवाले मर्मस्पर्शी उत्तर दिए, “तिमीलाई विद्यालय पठाउने इच्छा त मेरो पनि छ बाबु! तर के गर्नु ? मेरो जगिर छैन, पैसा छैन । पढ्न पैसा चाहिन्छ ।”

बाबुछोराको यो संवाद सुनेर कृष्णको मनमा गहिरो चोट पर्यो । कृष्णले सोच्यो, “मलाई भने मेरो बुवाआमाले कति कष्ट गरेर स्कुल पठाउने व्यवस्था गर्नुभएको छ । तर पनि म लापरबाही गरेर विद्यालय गएको छैन । राम्रोसित पढेको छैन ।” उसको मनमा खिन्नताको कालो बादल मडारियो ।

बाबु छोराको यस्तो कुराकानी सुनेर कृष्णलाई त्यहाँ एकछिन पनि बस्न मन लागेन । ऊ त्यहाँबाट सरासर घर गयो । छोरो चाँडै विद्यालयबाट फर्किएको देखेर उसका बुबाआमा दिक्क भए र भने “आज पनि विद्यालयबाट भागेर घर आइस् हैन ?”

उसले “हैन आमा म आज तपाइँहरुसँग झुट बोलेर विद्यालय नगई बाहिर गएको थिएँ तर.....।”

“के तर ?” आमा डराउनुभयो । आमा डराएको देखेर कृष्णले ती बाबुछोराको सबै कुरा बतायो र उसले अबदेखि नियमित रूपमा आफू विद्यालय गएर राम्ररी पढ्ने कुरा पनि बतायो । कृष्णका यस्ता कुरा सुनेर बुबाआमा पनि खुसी भए ।

कृष्णले आफ्नो व्यवहारमा सुधार ल्याउने निर्णय गर्यो । कृष्णले शिक्षाको महत्वलाई बुझ्न थाल्यो र नियमित रूपमा विद्यालय जान थाल्यो । उसले पढाइमा ध्यान पनि दिन थाल्यो । शिक्षकहरुले पढाएको बेला ध्यान दिएर पढ्न थाल्यो । यसले गर्दा बिस्तारै उसको पढाइमा सुधार देखिन थाल्यो ।

कृष्णमा देखिएको परिवर्तन सबैलाई महसुस हुन थाल्यो । उसका शिक्षकहरुले कृष्णको सकारात्मक परिवर्तन देखेर खुशी व्यक्त गरे । कृष्णले आफ्नो पढाइमा सुधार ल्याउन विभिन्न उपायहरु अपनायो । उसले अध्ययन तालिका बनायो र हरदिन आफ्नो पढाइमा समय लगाउन थाल्यो ।

अप्ठ्यारो परिस्थितिहरुमा पनि कृष्णले आफ्नो ध्यान एकाग्र राख्न र मनोबल उच्च राख्न थाल्यो । उसले आफ्नो कमजोरीहरुको पहिचान गर्यो र ती कमजोरी सुधार्नका लागि मेहनत गर्न थाल्यो । उसले साथीहरुसँग सहकार्य गरेर अध्ययन गर्न थाल्यो ।

समय बित्दै गयो । तीन महिना पछि विद्यालयमा परीक्षाको समय आयो । कृष्णले परीक्षाको तयारीका लागि कडा मेहनत गर्यो । आफ्ना शिक्षकहरुको सुझावलाई ध्यानमा राखेर तयारी गर्यो । उसले फोनमा बढी समय दिने आफ्नो आदतमा पनि परिवर्तन ल्याइसकेको थियो । उसले कठिन विषयहरुलाई पनि सजिलो बनाउनका लागि विभिन्न स्रोतहरुको उपयोग गर्यो ।

परीक्षाको परिणामको दिन आइपुग्यो । कृष्ण राम्रो अङ्क ल्याएर उत्तीर्ण भएको रहेछ । यो देखेर उसमा हर्षको सीमा नै रहेन । कहिल्यै उत्तीर्ण समेत हनु नसकेको उसले पाएको यो सफलताले केवल कृष्णलाई मात्र होइन, उसका बाबुआमा तथा शिक्षकलाईसमेत गर्व महसुस गरायो । कृष्णको यो सफलता आफ्ना बाबुआमा र शिक्षकको सङ्घर्ष र परिश्रमको सम्मान थियो ।

सात वर्ष पछि, कृष्ण विश्वविद्यालयको छात्र बन्यो । ऊ विज्ञानमा स्नातक डिग्री प्राप्त गर्यो र आफ्नो अध्ययनमा उत्कृष्टता हासिल गर्यो । त्यति मात्र होइन, उसले आफ्नो शिक्षा र अनुभवलाई व्यवसायिक दुनियाँ र अनुसन्धानमा लागू गर्ने निर्णय गर्यो ।

कृष्णले उच्च शिक्षा हासिल गरेपछि उसले एउटा राम्रो कम्पनीमा काम गर्न थाल्यो । त्यहाँ उसले आफ्नो लगनशीलता, समर्पण, र मेहनतका साथ काम गर्यो । त्यहाँ पनि उसले सफलता पायो । उसको काम र इमान्दारिताले उसले विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्यो ।

जीवनमा प्राप्त उपलब्धिहरुले उसलाई एउटा प्रभावशाली व्यक्ति बनायो । कृष्णले आफ्ना साथीहरु र विद्यार्थीहरुलाई काम र पढाइमा प्रेरित गर्ने विभिन्न सेमिनार र वर्कशपहरु आयोजना गर्यो । सबैलाई आफूले गर्न लागेको काममा लगनका साथ लाग्नुपर्छ अनि सफलता प्राप्त हुन्छ भनी बतायो ।

कृष्णले आमाबुबालाई पनि राम्रो घर बनाएर राख्यो । उनीहरु आफ्नो छोराले पाएको सफलता देखेर आनन्दसित बस्न थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children