Skip to main content

सहयात्रा

आर्या न्यौपाने

कक्षा : नौ (गण्डकी)

नेपालको पूर्वी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा मानिसहरुको जीवन सरल र शान्तसित चलिरहेको थियो । त्यस गाउँमा दुई जना मिल्ने साथीहरु थिए । उनीहरुको नाम अर्जन र स्तवन थियो । उनीहरुले अत्यन्त रमाइलोका साथ जीवन बिताइरहेका थिए । अर्जन एक मेहनती र परिश्रमी व्यक्ति थियो भने स्तवन एक रचनात्मक प्राकृतिको र अत्यन्त उत्साही युवक थियो । उनीहरु विद्यालयमा सँगै पढ्ने साथी थिए । उनीहरुले सानैदेखि मित्रता गाढा बनाएका थिए ।

अर्जनको परिवार खेतीपाती गथ्र्याे । स्तवनको परिवारले भने गाउँमै एउटा सानो पसल सञ्चालन गरेको थियो । उनीहरु दुवै जना बिहानै विद्यालय जान्थे र दिउँसो घर फर्केर आफ्नो–आफ्नो परिवारको काममा सघाउँथे । कामबाट फुर्सद पाउने बित्तिकै उनीहरु जङ्गलमा खेल्न, नदीमा पौडी खेल्न र पहाडमा घुम्न जान्थे ।

एक दिन उनीहरुले विद्यालयमा एउटा परियोजना गर्नुपर्ने भयो । जसमा विद्यार्थीहरुले आफ्नो गाउँको प्राकृतिक सुन्दरता र संस्कृतिलाई प्रस्तुत गर्नुपर्ने थियो । अर्जन र स्तवनले यो परियोजना सँगै मिलेर गर्ने निर्णय गरे । अर्जनले गाउँका हराभरा खेत, हरियो वन र कलकल बग्ने नदीलाई चित्रकलामा चित्रण गर्ने योजना बनायो भने स्तवनले गाउँको परम्परागत नाच, गाना र मानिसहरुको जीवनशैलीबारे लेख्ने सोच बनायो ।

परियोजना कार्य गर्ने क्रममा अर्जनले एउटा सुन्दर चित्र बनायो र त्यसमा रङ्ग भर्न थाल्यो तर उसलाई रङ्गसम्बन्धि राम्रो ज्ञान थिएन । जसका कारण चित्र त्यति आकर्षक भएन । स्तवनलाई भने रङ्गहरुको बारेमा राम्रो ज्ञान थियो अनि अर्जनको चित्रमा रङ्गको संयोजन मिलाएर भर्न सहायता गर्यो । स्तवनलाई लेखनमा केही समस्या आउँदा अर्जनले उसलाई सही व्याकरण र वाक्य संरचना मिलाउन सघायो ।

उनीहरुले मिलेर बनाएको परियोजना धेरै राम्रो थियो । सबैजनाले आफ्नो आफ्नो परियोजना प्रस्तुत गरे । विद्यालयमा अर्जन र स्तवनको परियोजनाले उत्कृष्ट पुरस्कार जित्यो । यस कार्यले उनीहरु अझ उत्साहित भए । उनीहरुको मित्रता अझ बलियो भयो । उनीहरुको मित्रता केवल परियोजनामा मात्र सीमित भएन । उनीहरु हरेक काम मिलेर गर्न थाले ।

समय बित्दै गयो । उनीहरुको विद्यालयको पढाइ पूरा भयो । दुबैलाई उच्च शिक्षाका लागि आ–आफ्नो बाटोमा अगाडि बढ्नुपर्ने भयो । अर्जन सहर गयो भने स्तवनले आफ्नो परिवारले चलाएको पसललाई विस्तार गर्न गाउँमै बसेर पढ्ने निर्णय गर्यो । उनीहरुबीच भौगोलिक दूरी बढ्न थाले पनि उनीहरुको मित्रता कमजोर भएन ।

अर्जनले सहरमा नयाँ ज्ञान र सीपहरु सिक्न थाल्यो । उसले कम्प्युटर विज्ञानमा डिग्री हासिल गर्यो र राम्रो जागिर पायो । स्तवनले आफ्नो पसललाई बिस्तार गर्दै अनलाइन व्यापार सुरु गर्यो, जसमा अर्जनले उसलाई सूचना र प्रविधिमा सहायता गर्यो ।

समयसँगै अर्जन र स्तवन आ–आफ्नो क्षेत्रमा सफल भए । उनीहरु एकअर्काको प्रगति देखेर खुसी हुन्थे र एकअर्कालाई हरेक क्षेत्रमा आवश्यक परेको बेलामा सघाउँथे ।

एक दिन अर्जन गाउँ फर्कियो । ऊ स्तवनलाई भेट्न उसको घर गयो । उनीहरुले पुराना दिनहरुको सम्झना गरे । उनीहरुले आफूहरु सँगै बिताएको समय, सानामा हिँडडुल गरेको तथा बाल्यकालका कुराहरु सम्झे । उनीहरुले आफूहरुको सपना पूरा गरेकोमा गर्व पनि गरे । अर्जनले सहरमा सिकेको नयाँ ज्ञान गाउँमा प्रयोग गर्ने विचार गर्यो । उसले स्तवनसँग मिलेर गाउँमा एउटा शिक्षालय खोल्ने योजना बनायो । त्यहाँ एउटा विद्यालय खोलेर गाउँका बालबालिकाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने सोच बनायो ।

स्तवनलाई यो विचार मनपर्यो र उनीहरुले मिलेर काम गर्न थाले । गाउँका बुद्धिजीबी राखेर उनीहरुले एउटा बैठक बोलाएर आफ्नो योजना सुनाए । उनीहरुको कुरा सुनेर गाउँका बुद्धिजिवीहरुले पनि उनीहरुको योजनालाई साथ दिए ।

सबैको साथ पाएर छोटो समयमै उनीहरुको योजना सफल भयो । उनीहरुले खोलेको शिक्षालयले धेरै बालबालिकाहरुलाई नयाँ नयाँ सीप सिक्न मदत गर्यो । गाउँमा प्रविधिसहितको शिक्षालय खुलेकामा सबैले अर्जन र स्तवनको प्रयासलाई सराहना गरे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children