आस्था

वैभवी पाण्डे
“ए आमा, बत्ती छिटो ल्याउनु न, पूजा गर्न ढिलो भइसक्यो ! आज त छ नै बजिसक्यो” छोराले हत्तारिँदै भन्यो ।
“ल्याउँदै छु दीपक छोरो, हतार नगर न” आमाले भन्नुभयो ।
बिहान बेलुका पाँच बजे घन्टी र भजनको मधुर आवाज सुन्नासाथ सम्पूर्ण गाउँलेहरु दिपकको घरमा आरती हेर्न उपस्थित हुन्थे । उनीहरुको पूजा कोठा गाउँकै मन्दिर जस्तै थियो । गाउँका हरेक सदस्य आरती हेर्न आउँथे र आरती सकिएपछि कोही पनि खाली हात फकिँदैनथे । सबैले हातमा प्रसाद बोकेर मात्र जान्थे । उनको घरमा सजिएका श्री राधाकृष्ण र सीतारामको मूृर्ति सधैँ सुन्दर वस्त्रले सजिएका हुन्थे । छोरो दैनिक रूपमा श्रीमद भागवत गीता, रामायण र हनुमान चालिसाको पाठ गथ्र्यो भने आमा चाहिँ देवी स्तुतिको पाठ गर्नुहुन्थ्यो ।
सधैँ झैँ एक दिन प्रसाद बाँड्ने काम सकिएपछि दीपक आमा कहाँ गएर भन्यो, “आमा, आज मलाई छिट्टै हिँड्नु पर्छ है । आज राजाले राजभवनमा आमन्त्रण गर्नु भएको छ ।”
“ठिक छ छोरो, जाऊ । राजाले बोलाएको भनेपछि केही महत्वपुर्ण कुरा नै होला” आमाले भन्नुभयो ।
छोरो छिट्टै पूजाकोठाको मूलद्वारतर्फ गयो र भगवानसँग आशिर्वाद लिई हतार हतार जुत्ता लगाएर राजभवनतर्फ लाग्यो । केही समयपछि ऊ दरबार पुग्यो । राजा दरबारको मूल द्वारमै यता उति घुम्दै थिए । राजा केही कुरा लिएर चिन्तित देखिन्थे । यो दृश्य देखेरे दीपक पनि चिन्तित हुन थाल्यो ।
ऊ राजातर्फ आघि बढेर, “प्रणाम महाराज । हजुर त चिन्तित देखिनु भएको छ । केही घटना घटेको हो र ? आज हजुरले छिट्टै आउन आदेश दिनुभएको थियो । केही अत्यावश्यक काम थियो महाराज ?” भनेर प्रश्न गर्यो ।
दीपकको कुरा सुनेर राजाले भने, “हो दीपक, धेरै आवश्यक कामले नै मैले तिमीलाई यहाँ बोलाएको हो । केही चिन्ता लाग्ने खबर मैले आज बिहान भर्खरै सुनेँ र मैले तिमीलाई तुरुन्तै बोलाएको हुँ । अस्ति म हाम्रो छिमेकी राज्य गएको थिएँ । त्यहाँको राजा र मेरो बिचारमा केही असहमति भएका कारण वादविवाद सुरु भएको थियो । मैले पनि त्यही मौकामा केही अशुभ बोलिदिएँ । त्यही राज्यका राजाले हामीसँग युद्धको घोषणा गरिसकेका रहेछन् । मेरो गल्तीका कारण मेरो राज्यका जनताले यसको नकारात्मक असर भोग्नु पर्नेछ । यसमा मलाई एकदमै पछुतो भएको छ । तिमी यस राज्यको सेनाको नेतृत्व गर्ने भएको नाताले मैले सहायताको आश गर्दै यहाँसम्म बोलाएको हुँ । के तिमी मेरो मदत गर्न सक्छौ ?”
दीपकले महाराजको कुरा सुनेर केही नसोची भन्यो, “भइहाल्छ नि सरकार म मदत गरिहाल्छु नि ! मलाई छिमेकी राज्यको सेनाको बारेमा जानकारी प्रदान गरिदिएमा म यताको व्यवस्था मिलाउँछु ।”
राजाले खुसी हँुदै दीपकलाई धन्यवाद दिए । दीपक यो खबर लिएर हतारमा घर फर्कियो । उसले घर गएर सबै कुरा आमालाई भन्यो । आमाले दीपकको निर्णयमा असहमति जनाइन् ।
मोतीका दाना जत्रा आँसुले भरिएका आँखा बनाएर आमाले भन्नुभयो, “अहँ छोरो! म त यो कुरामा सहमत छैन । गल्ती राजाको, सजाय भोग्नु पर्ने चाहिँ मेरो छोरोले ! अहँ छोरो, तिमी अहिलेनै दरबारमा गएर म यो गर्न सक्दिन भनेर भन ।”
आमाको आँखाबाट पहिलो पटक आँसु झरेको देख्दा छोरोको मुटु टुक्रियो । “होइन आमा, त्यस्तो नभन्नुस् । राजाले गल्ती गरे केवल राजाको मात्र गल्ती हँुदैन । दोष हामी सम्पूर्ण जनताकै हुन्छ । आमा ! यही भूमिले मलाई मेरो जीवन दिएको छ र आज मेरो जन्मभूमिलाई मेरो आवश्यक पर्दा पछि हट्नु आफ्नो कर्मबाट पछि हट्नु हो । माफ गरिदिनुस् आमा, म मेरो यो कर्तव्यबाट पछि हट्न सक्दिन ।” भन्दै दीपकले उसकी रोइरहेकी आमाको आँसु पुछिदियो ।
दीपककी आमाले आँसु पुछ्दै भन्नुभयो, “छोरा ! तिमी पनि कत्ति जिम्मेवार भइसकेको छौ है । ल जाऊ युद्धभूमिमा । विजय हासिल गर । मेरो आशीर्वाद त सधैँ तिमीसँंगै छ, भगवानले पनि रक्षा गरुन् ।”
आमाले यति मात्र के भन्नुभएको थियो दीपक सेनालाई खबर गर्न र युद्धको लागि घरबाट हिँड्ने तयारी गर्न थाल्यो । दीपकले पूजाकोठामा गएर भगवानको आशीर्वाद लियो र आमाबाट बिदा लिई हिँड्यो । दीपक लगभग दुई घण्टाको लामो यात्रापछि सैनिकहरुको मूल भवनमा पुग्यो । उसलाई त्यहाँ धेरै सम्मानका साथ स्वागत गरियो । त्यहाँ पुग्दा बेलुका भइसकेकाले दीपक त्यहीँ सुत्यो । बिहानै उठेर दीपकले युद्धको तयारीका लागि सबै सैनिकहरुलाई आवश्यक जानकारी दियो र सबैजना कठोर अभ्यासमा लागे । अभ्यासको बिचमा राजाको पत्र आयो ।
पत्रमा लेखिएको थियो,
प्यारो दीपक,
मैले शत्रु राज्यको जानकारी लिन सफल भएको छु । शत्रु राजाको लगभग तीन हजार जनाको सेना जम्मा भइसकेको छ । हामीसँंग हाल भएको पैँतिस सय सेनामध्ये मात्र दुई हजार जना पठाउने व्यस्वस्था मिलेको छ । कम सेना भएको कारण हामीले अझै मिहिनेत गर्नु पर्ने देखिन्छ । म फेरी तिम्रो साथको लागि धन्यवाद दिन्छु । आशा छ कि हाम्रै राज्यको विजय हुन्छ । शुभकामना ।
महाराज
ववेक सिंह ।
युद्धको लागि लगभग जम्मा दुई दिन मात्र बाँकी थियो । सेना भवनमा सबैजना कठोर अभ्यासमा लागिरहेका थिए । युद्ध सुरु हुनुभन्दा केही घण्टा आगाडि नै सबैजना युद्धभूमिमा उपस्थित भए । अब युद्धको समय आयो । युद्धको सुरुवातको शङ्ख बज्यो । घमासान युद्ध भयो । जता हेर्यो त्यता रातो रगतको धारा बगिरहेको थियो । दीपकले युद्धमा भाग नलिए पनि युद्धबाट घाइते भएका सबै सेनाको ख्याल राख्नुका साथै अर्को दिनको लागि युद्धको योजना बनाउँथ्यो । त्यो भूमिलाई वीर योद्धाहरुको रगत र पसिनाले पवित्र बनाइरहेको थियो । युद्ध चलिरहेको युद्धभूमिमा हेर्दा कुरुक्षेत्रको भूमिमा भएको महाभारत युद्धको प्रतिबिम्ब झल्किन्थ्यो ।
उता दीपकको गाउँमा अर्को घटना घटिसकेको थियो । उसको अनुपस्तिथिमा सबै कुराहरुको परिवर्तन भइसकेको थियो । त्यो रमाइलो गाउँमा कालो बादल छाएको झैँ भएको थियो । दीपकको अनुपस्थितिमा गाउँ शून्य थियो र दीपककी आमाको स्वास्थ्य पनि विगिंदै गएको थियो । उसको घरमा हुने दैनिक पूजा पनि सम्पन्न हुन सकेको थिएन । गाउँमा बिहान सधैँ हुने आरती नहुदाँ सम्पूर्ण गाउँ नै दुःखी भएको थियो ।
युद्धको चौथों दिन भइसकेको थियो । दीपकका सेनाहरु धेरै नराम्रो हालतमा पुगिसकेका थिए । धेरै भन्दा धेरै सेनाहरु घाइते थिए र केही सेनाहरु लडाइँ गर्न सक्ने स्थितिमा थिएनन् । केही योद्धाहरु लिएर दीपक रणभूमिमा प्रवेश गर्न बाध्य भयो । दीपकले आफ्नो युद्ध पोशाक लगाएर युद्धभूमिमा गयो । दीपकले लगभग धेरै शत्रुहरुलाई मारे पनि विजयको सम्भावना धेरै कम थियो । शिरदेखि पाउसम्म चोट र घाउले भरिएको दीपकको सहारा अरु कोही थिएन । रणभूमिमा वाणको वर्सातले दीपकलाई घेरिसकेको थियो ।
दीपकलाई लगभग दश जना शत्रुले घेरिसकेका थिए । दीपकले भगवानको नाम लिन थाल्यो ।
“हे ईश्वर ! हे परमात्मा ! यस भक्तलाई आज मदत गरिदिनुहोस् । हजुर बाहेक मेरो अरु कोही सहायता छैन ।”
त्यहीं बेला नै दीपकको शरीरमा नयाँ उर्जाको सिर्जना भयो । दीपक उठेर लड्न तयार भएको बेलामा एक्कासि वरपरको धुलो उडेर शत्रुहरुको आँखामा पर्यो । शत्रुहरुको आँखा पोलेको कारण उनीहरुले आँखा खोल्न सकेनन् । त्यति मात्र नभई शत्रुहरुको पक्षको सबैजनाको अचानक स्वास्थ्य बिग्रिन थाल्यो । यो देखेर दीपक र उसका सिपाही छक्क परे । दीपकलाई थाहा थियो कि भगवानले उनकै सहायताको लागि यो सब गरेका हुन् । त्यही परिस्थितिको फाइदा उठाई दीपक र उसका सिपाहीहरुले शत्रु पक्षको धेरैजनालाई मार्न सफल भए । अब लगभग दीपकको पक्षको जीत भइसकेको थियो । दीपकले भगवानलाई सहयाताको लागि धन्यवाद दियो । केही समयपछि युद्ध पूर्ण रुपमा सकियो र दीपकको पक्षको जीत भयो ।
खुसीको लहर फैलियो । यो जित देखेर राजा पनि खुसी भए र दीपकलाई धन्यवाद दिए । यो खुसीको अवसरमा दीपक घाइते योद्धाहरुलाई लिई सेनाको भवन फर्कियो र उनीहरुको उपचारतर्फ लाग्यो । सेनाको उपचारपछि दीपक छिट्टै आफ्नो गाउँ फर्कियो । गाउँमा सबैजना दुखी भएको देखेर दीपकलाई पनि दुःख लाग्यो । दीपक सबैभन्दा पहिला उसकी आमालाई भेट्न गयो ।
लामो समयपछि आफ्नो छोरोलाई भेट्न पाएकोमा आमा मुस्कुराउनुभयो । दीपकको सबै शरीर घाउचोटले भरिएको कारण आमाले चिन्तित पारामा त्यसको बारेमा सोध्नुभयो । दीपकले आमालाई सबै कुरा सुनायो । आमाले भगवानलाई धन्यवाद भन्नुभयो । त्यसदिनदेखि नियमित रुपमा पूजा हुन थाल्यो र गाउँमा फेरी खुसीयाली छायो ।