छोरीलाई शिक्षा

अग्रता बुढाथोकी
अनुपको घर एउटा सुन्दर गाउँमा थियो । त्यस गाउँमा सबैभन्दा ठूलो घर अनुपको थियो । अनुपका बुवा लुगाको व्यापार गर्थे भने आमाले घरको हेरचाह गर्थिन् । अनुपका बाबु–आमाले सङ्घर्षपूर्ण जीवन बिताएका थिए तर उनीहरुको सपना आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने र राम्रो भविष्य बनाइदिने थियो ।
अनुपकी एउटी दिदी थिइन् । उनको विवाह निकै कम उमेरमा भएको थियो । छोरीलाई पनि पढाउने रहर हुँदाहुँदै पनि राम्रो घरबाट कुरा आएको भनेर अनुपका बुबा आमाले विवाह गरिदिए ।
दिदीले अनुपलाई बुबाआमालाई नभन्ने सर्तमा एउटा कुरा भनेकी थिइन् । उनका श्रीमान् सधैँ रक्सी पिएर आएर दुःख दिने गर्थे । दिदीले नभन्नु भनेका कारण अनुपले यो कुरा कसैलाई भनेको थिएन । अनुपकी दिदीले आफ्नो पीडा र दुःखलाई लुकाएर जीवन चलाइरहेकी थिइन् ।
एक दिन अनुप कलेजबाट घर फर्किंदा उसको घरको वातावरण बिलकुलै असामान्य र उदास थियो । घरको बैठक कोठामा उसका परिवारका सबै सदस्यहरु चुपचाप र निराश अवस्थामा बसेका थिए । अनुपको मनमा डर र चिन्ता छायो । उसले केही न केही गडबडी भएको महसुस गर्यो । अनुपले तुरुन्तै आमालाई खोज्न थाल्यो ।
उसले आमालाई कोठाको कुनामा रुँदै बसेको देख्यो । “आमा ! के भयो? किन रुनु भएको ?” अनुपले चकित हुँदै सोध्यो ।
आमाले रुँदैे भन्नुभयो, “हेर बाबु, तिमीले भनेको ठीक रहेछ, दिदीलाई पढ्न दिनुपथ्र्यो । यति चाँडो विवाह नगराउनु पथ्र्यो ।”
“दिदीलाई के भयो ?” अनुपले चकित हुँदै सोध्यो ।
आमाले अनुपलाई अँगाल्दै भन्नुभयो, “तिमीलाई थाहा छैन, बाबु ! तिम्री दिदीले हिजो राति यो संसार छोडेर गइन् । उनका श्रीमान् सधैं रक्सी पिउने, घरमा हिंसा गर्ने र दिदीलाई दुःख दिने गर्दथे । हामीले केही गर्न सकेनौँ । हामीले सानो उमेरमा विवाह गरिदिएर ठूलो गल्ती गर्यौं ।”
अनुपको मन थामिएन । उसको मनमा पछुतो भयो । “यदि मैले पहिले नै ध्यान दिएको थिएँ भने यो घटनालाई रोक्न सक्थे,” अनुपले आफैँलाई धिक्कार्दै सोच्यो ।
एकदिन अनुपको बुवाले बैठक कोठामा सबै परिवारका सदस्यलाई बोलाएर भन्नुभयो, “हाम्रै गल्तीका कारण हाम्रो परिवारको स्थिति अहिले यो हालतमा छ । मलाई थाहा भयो कि हामीले सानो उमेरमा विवाह गराएर गल्ती गरेका हौँ । अहिले मलाई धेरै पछुतो भइरहेको छ ।”
बुबाको कुरा सुनेर सबै जना गम्भीर भए । बुबाले आफ्नो कुरा अझ अगाडि बढाउनुभयो, “अब मैले बुझिसकेको छु । समाजको इज्जत र सम्पत्तिका लोभमा हामीले ठूलो गल्ती गर्यो । अब हाम्रो जस्तो गल्ती अरूले नगरुन् भनी हामीले यस विषयमा सबैलाई सचेत बनाउनुपर्छ ।”
अनुपले आफ्नो बुवासँग सहमति जनाउँदै भन्यो, “हो बुबा, अब हामीले के गर्ने भन्ने कुरा सोच्नुपर्छ । हामीले यो विषयलाई समाजको अगाडि ल्याउनुपर्छ ताकि अरू मानिलले यो गल्ती नदोह्रयुन ।”
कानुनमा बालविवाह गर्न नपाउने लेखिए पनि अनुपको गाउँमा त्यो रोकिएको थिएन । केही समयपछि अनुप र उसका बुवाले गाउँ समाजका अध्यक्षसँग भेट गरी कम उमेरमा विवाह गराउने चलन रोक्नका लागि काम गर्न सुरू गरे । अनुप र उसका बुवाले एउटा पत्रिकामा एउटा समाचार लेखेर गाउँभरि यो चलन गलत हो र यसले के नराम्रो नतिजा ल्याउँछ भन्ने कुराको प्रचार गरे । यो पत्रिका पढेर धेरै मानिसहरु अचम्मित भए र उनीहरुले यस्तो चलनका बारेमा पुनः विचार गर्न थाले ।
बिस्तारै अनुपको गाउँमा कम उमेरमा विवाह गराउने चलन लगभग समाप्त भयो । गाउँका अधिकांश मानिसहरुले शिक्षा र चेतनाको महत्व बुझ्न थाले । अधिकांश मानिसहरुले आफ्ना छोरीहरुलाई उच्च शिक्षा दिलाउन थाले ।
छोरीको कम उमेरमै विवाह गरिदिएकाले अनुपको परिवारले यसको मूल्य चुकाउनुपर्यो । अनुपकी दिदीको मृत्यु र यस घटनाले उनका बुवा र आमालाई सधैँका लागि पीडित बनायो । यद्यपि उनीहरुले आफ्नो गल्ती स्वीकारे र समाजमा एउटा उदाहरण प्रस्तुत गरे, जसले गाउँको नराम्रो परम्परामा परिवर्तन ल्यायो ।
अन्ततः अनुप र उसका बुवाले गाउँमा ‘प्रत्येक बालबालिको भविष्यलाई सुरक्षित र सशक्त बनाउन शिक्षा सर्वोत्तम साधन हो’ भन्ने कुराको चेतना दिए । यद्यपि अनुपको घरमा दुःखको छाया सधैँ रहे तापनि त्यो गाउँका छारीहरुको आगामि भविष्य सुन्दर हुने भयो ।