Skip to main content

सङ्गत

एन्जल सतार

कक्षा : नौ (गण्डकी)

लक्ष्मीलाई आजको दिन किन किन कालो बादलले ढाकेको जस्तो भइरहेको थियो । लक्ष्मी आफ्नो कोठाको एउटा कुनामा बसेर रोइरहेकी थिइन् । एक महिना अघि उनकी सबैभन्दा मिल्ने साथी अनुले यो संसार छोडेर गएकी थिइन् । साथीको वियोगले उनलाई धेरै पीडा दिएको थियो ।

लक्ष्मी आफ्नी साथीसँग धेरै नजिक भएको कारणले उनको यो दुःखद खबर सहन सकिनन् । विद्यालयमा पनि उनी टोलाएर बस्न थालिन् । लक्ष्मीको यस्तो हालत देखेर उनको कक्षाकी साथी रीता नजिक आइन् र उनलाई सान्त्वना दिइन् अनि सधैँ उनकी साथी बन्ने बाचा गरिन् ।

लक्ष्मीको बाल्यकालमा एउटा नराम्रो घटना घटेको थियो । उनी आफ्नै. काकाको छोराबाट हिंसामा परेकी थिइन् । यो कुराले उनलाई सधैँ सताइरहन्थ्यो । अनुको वियोगपछि उनले आफ्ना सुखदुःख कोहीसँग साट्न पाएकी थिइनन् । आफ्नो मनमा गाँठो परेर बसेका कुरा कसलाई सुनाउँ भन्ने लक्ष्मीलाई लागिरहेको थियो । लक्ष्मीले रीतालाई आफ्नो नयाँ साथी बनाइन् र आफ्ना मनका सबै कुरा सुनाइन् । त्यसपछि उनको मन केही हलुका र शान्त भएको थियो ।

केही दिनसम्म उनीहरुको मित्रतामा सबै कुरा राम्ररी चलिरहेको थियो तर बिस्तारै लक्ष्मीले आफ्ना सहपाठीहरुले उनको बारेमा कुरा गरेको सुन्न थालिन् । ती कुराहरु उनले रीतालाई मात्र भनेकी थिइन् ।

दिनहरु बित्दै गए । लक्ष्मीको पढाइ दिनदिनै खस्किँदै गयो । शिक्षकहरुले पनि लक्ष्मीका बारेमा कुरा गर्न थाले । लक्ष्मीलाई के भइरहेको छ, किन उनको पढाइ दिनदिनै खस्किँदै छ ? भनी खोजी गर्न थाले ।

आफ्नो कुरा यसरी फैलँदै जानुको कारण के हो भनेर जान्न लक्ष्मीलाई खुल्दुली भयो । यो कुराको खोजी गर्दै जाँदा रीताले नै सबै कुराराहरु साथीहरुलाई सुनाएको भन्ने कुरा थाहा पाइन् । रीता नराम्रो सङ्गतको प्रभावमा परेकी रहिछन् । रीतालाई चिन्न नसकी साथी बनाएर आफ्ना सबै कुरा बताएकोमा लक्ष्मीले ठूलो गल्ती गरेको महसुस गरिन् । कक्षामा रीतासँगै बस्दा उनको पढाइ खस्कन थाल्यो । उनको प्रभावले नकारात्मक वातावरण सिर्जना भयो । उनको मानसिक स्वास्थ्य पनि धेरै खस्कियो ।

रीता कसरी त्यस्तो सङ्गतमा पुगिन् भनेर उनी सोच्न थालिन् ।आफूलाई आपत् परेका बेला त्यति सहयोग गर्ने साथी खराब सङ्गतमा परेको कुरा लक्ष्मीलाई सपनाजस्तै लागिरहेको थियो । आफूलाई बचाउनको लागि भए पनि लक्ष्मीले रीतासँगको मित्रता तुरुन्तै तोडिन् तर यो कुराले उनलाई झनै पीडा दिन थाल्यो ।

विद्यालयमा लक्ष्मी एक्ली भइन् । उनी एक्लै एउटा कुनामा एकोहोरो टोलाउँदै बस्न थालिन् । उनको पढाइ झनै खस्कियो । लक्ष्मीको यस्तो हालत देखेर उनकी आमालाई चिन्ता हुन थाल्यो र एकदिन लक्ष्मीलाई आफ्नो छेउमा बोलाउँदै सोध्नुभयो, “मेरी प्यारी छोरी के भयो तिमीलाई ? तिमी आजकल खुसी देखिँदैनौ । किन साथी गुमाएकाले तिमीले यसो गरेकी हौ ?”

लक्ष्मीले आफ्नो पीडा लुकाउन खोजिन् तर सकिनन् अनि आमाको काखमा टाउको राखेर रुन थालिन् र भनिन् “आमा मलाई मदत गर्नुहोस् म यो अवस्थाबाट बाहिर निस्कन सक्दिनँ जस्तो लाग्छ । यस्तो लाग्छ कि म नर्कमा छु र मानिसहरुले मलाई ज्वालामुखीतिर धकेलिरहेका छन् । मेरो मानसिक स्वास्थ्यसँगै मेरो पढाइ पनि खस्कँदै छ । मलाई के गर्ने थाहा छैन ।”

उनले आफ्नी आमालाई रीतासित भएका सबै कुरा बताइन् । लक्ष्मीका व्यक्तिगत कुराहरु बाहिर आएकाले स्कुलमा सबैले उनलाई जिस्क्याउने गरिरहेका थिए । यी सबै कुरा सुनेर आमाले आँखाबाट आँसु झार्दै भन्नुभयो, “मेरी प्यारी लक्ष्मी । तिमीले मलाई यी सबै कुरा किन नभनेकी ? यस्ता कुरा आमालाई चाँडै भन्नुपर्छ छोरी । नडराऊ म तिम्रो साथमा छु ।”

आमाले उनलाई सम्झाउँदै भन्नुभयो, “रीता तिम्रो जीवनमा आउनु र छोडेर जानुले तिमीलाई पीडा दियो । जीवनमा साथीको महत्व धेरै हुन्छ तर साथीको बानी थाहा नभइ आफ्ना सबै व्यक्तिगत कुरा भन्नु हुँदैन । मैले तिमीलाई खराब सङ्गतसँग जहिले जोगिनु भनेकी थिएँ । मानिसको जीवनको हरेक अध्यायले पाठ सिकाउँछ छोरी । अब चिन्ता नलेऊ ।”

आमाका कुरा सुनेर लक्ष्मीले भनिन् “आमा मैले हजुरलाई यी सबै कुरा बेलैमा नभनेर गल्ती गरेँ । अब मलाई बचाउनुहोस् । म पढ्न चाहन्छु र आफ्नो खुट्टामा आफैँ उभिन चाहन्छु ।”

“ठीक छ, यो तिम्रो जीवन हो । अरूले के सोच्छन् त्यसको वास्ता नगर । जीवनमा कयौंँ समस्याहरु आइरहन्छन् । म तिम्रो साथमा छु । कहिल्यै यो नसोच कि तिमी एक्ली छौ” आमाले भन्नुभयो ।

”आमा! सधैँ मेरो साथमा रहनु भएकोमा धन्यवाद। म तपाईँबिनाको मेरो संसार कहिल्यै कल्पना गर्न सक्दिन” लक्ष्मीले भनिन् ।

लक्ष्मीकी आमाले लक्ष्मीको रेखदेख गर्न थाल्नुभयो । उनको नजिकको साथीजस्तै बनेर उनका हरेक कुराहरु सुनिदिने गर्न थाल्नुभयो र मनोपरामर्शका लागि पनि लानुभयो । बिस्तारै लक्ष्मी आफ्नो दैनिकीमा फर्किन थालिन् । पढाइ पनि राम्रो गर्न थालिन् ।

त्यो दिनबाट उनले राम्रोसित नचिनी साथी बनाउन नहुने रहेछ भन्ने कुराको महसुस गरिन् । यदि कहिलेकाहीं अनजानमा नराम्रो वातावरणमा परियो भने तुरुन्तै त्यसबाट बाहिर निस्कनुपर्छ र आफूमा विश्वास गर्नुपर्छ भन्ने कुरा बुझिन् ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children