मायाको योजना

गृष्मा कर्माचाय
माया अत्यन्त जिज्ञासु केटी थिइन् । उनी वातावरणमा रहेका चिजबिजप्रति आकर्षित थिइन् । उनमा वातावरणीय समस्याहरुका बारेमा बुझ्ने गहिरो जिज्ञासा पलाएको थियो । मायाले विद्यालयमा जलवायु परिवर्तन र वातावरण प्रदूषणका बारेमा केही पढेकी थिइन् तर आफूले वातावरणका क्षेत्रमा के गर्न सकिन्छ भन्ने कुरा उनलाई प्रस्ट थिएन ।
एकदिन उनले यिनै जिज्ञासाको समाधानका लागि आफ्नो हजुरबालाई भेट्ने निर्णय गरिन् । उनका हजुरबा एक अवकाशप्राप्त विज्ञान शिक्षक हुनुहुन्थ्यो । उहाँ अरुलाई वातावरण जोगाउन हौसला र प्रेरणा दिने गर्नुहुन्थ्यो । उहाँले एउटा राम्रो बगैँचा बनाउनु भएको थियो । बगैँचामा विभिन्न प्रकारका फूल र बिरुवा थिए जसलाई उहाँले प्रेमपूर्वक स्याहार गर्नु भएको थियो ।
मायाले हजुरबालाई भेटेर जलवायु परिवर्तन र प्रदूषणका बारेमा बुझ्न चाहेको कुरा राखिन् । हजुरबा यति सानै उमेरमा मायाको यस्तो जिज्ञासा देखेर खुसी हुनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन भनेको विश्वभरिको तापक्रम र मौसममा देखापरेको डरलाग्दो परिवर्तन हो । हाल यो विश्वमा नै ठूलो समस्या बनेर आएको छ । जलवायु समयसमयमा प्राकृतिक रूपमा परिवर्तन हुन्छ तर मानवीय गतिविधिले यसलाई तीव्र बनाएको छ ।”
हजुरबाले थप स्पष्ट पार्नुभयो, “जब हामी कोइला, तेल र ग्याँस जलाउँछौँ, तब त्यसले वायुमण्डलमा कार्बनडाइअक्साइड र मिथेनजस्ता ग्यास उत्पादन गर्दछ, जसले पृथ्वीको तापक्रम बढाउँछ । यसैलाई पृथ्वीको तापमान बढेको भनिन्छ ।”
मायाले सोधिन्, “पृथ्वीको तापमान बढ्नाले पृथ्वीमा कस्तो असर पर्छ हजुरबा ?”
हजुरबाले जवाफ दिनुभयो, “यसको परिणामस्वरूप हिउँ पग्लने, समुद्र सतहको वृद्धि हुने, ठूलो आँधीबेहरी र सुनामी आउने जस्ता समस्याहरु आउछैन । यसले मानिसलाई मात्र नभएर पृथ्वीमा रहेका हरेक जीवित प्राणी तथा वनस्पतिलाई असर गर्छ ।
मायाले दुःखी हुँदै भनिन्, “मलाई थाहा थिएन हजुरबा यो यति गम्भीर विषय हो भनेर ।” हजुरबाले भन्नुभयो “प्रदूषण भनेको वातावरणमा हानिकारक रसायन, प्लास्टिक र विषाक्त पदार्थहरुको प्रवेश हो, जसले प्राकृतिक जीवन प्रणालीमा ठूलो क्षति पुर्याउँछ ।”
हजुरबाले मायालाई हेर्दै थप्नुभयो, “पहिलेका मानिसहरुलाई आफूले गरेका क्रियाकलापले वातावरणमा कति गहिरो असर पुर्याउँछ भन्ने कुरा थाहा थिएन । संसारमा उद्योगधन्दाको तीव्र वृद्धि र प्रविधिको विकास ह्वात्तै बढ्यो । यसको उचित रूपले प्रयोग नहुँदा अहिले व्यापक रूपमा प्रदूषण बढिरहेको छ ।”
मायाले उत्साहित हुँदै भनिन्, “त्यसो भए हामी यसमा के गर्न सक्छौँ ?
“हजुरबाले मुस्कुराउँदै भन्नुभयो, “हामी सबैले साना साना तरिका अपनाउन सक्छौंँ । “प्लास्टिकको प्रयोग कम गर्ने, उपभोग गरिरहेका वस्तुहरु तथा इन्धनको प्रयोग कम गर्ने, रूखहरु रोप्ने, लुगाकपडा आदि कम प्रयोग गर्ने, पुनः प्रयोग गर्न मिल्ने वस्तु पुनः प्रयोग गर्ने गरेर हामी ठूलो परिवर्तन ल्याउन सक्छौँ ।”
मायाले उत्सुकतापूर्वक हजुबासित भनिन्, “ऊर्जा कम प्रयोग गरेर पनि हामीले वातावरण प्रदूषण रोक्न सक्छौँ हैन हजुरबा ?”
“तिमीले एकदम सही भन्यौे माया । अर्को महत्वपूर्ण कुरा भनेको ऊर्जा संरक्षण हो । हामी कोठाकाट बाहिर निस्केपछि बत्ती बन्द गर्ने, कम ऊर्जाबाट चल्ने उपकरण प्रयोग गर्ने र गाडी चलाउनुको सट्टा हिँड्ने वा साइकल चलाउने गर्दा पनि मद्दत पुग्छ,” हजुरबाले भन्नुभयो ।
मायाले आशा र उत्साहका साथ सोचेर भनिन्, “हजुरबा तपाईँ हामीलाई रुखबिरुवाहरु महत्वपूर्ण छन् भन्ने कुरा गर्नुहुन्छ । यस बारेमा पनि केही बताइदिनुस न ।”
हजुरबाले भन्नुभयो, “रूखबिरुवा पृथ्वीको स्वास्थ्यका लागि अनिवार्य छन् । रुखविरुवाले कार्बनडाइअक्साइड लिन्छन् र अक्सिजन छोड्छन् । हामीले फेर्ने हावा स्वच्छ राख्नका लागि रुखबिरुवाहरु रोप्नुपर्छ ।”
माया आफ्नो हजुरबाको बगैँचातिर हेर्दै सोचिरहेकी थिइन् । उनले आफ्नो बगैँचामा धेरै फूललहरु र बिरुवा रोप्ने छिन् । उनले विद्यालयमा पनि बगैँचा निर्माण गर्न सकिने कुरा हजुरबासित राखिन् । मायाको कुरा सुनेर हजुरबाले हर्षित हुँदै भन्नुभयो, “विद्यालयमा बगैँचा बनाउनु र विद्यालयको वातावरण हरियाली बनाउनु त झन राम्रो कुरा हो माया । हामीले सबैलाई वातावरणको ख्याल राख्न सिकाउनु पर्छ । जलवायु परिवर्तन र प्रदूषणसँग लड्ने हाम्रो सबैभन्दा शक्तिशाली उपकरण नै शिक्षा र चेतना हो । विद्यालयमा यस्ता कुराहरुलाई प्राथमिकतामा राख्नुपर्छ ।”
घाम अस्ताउन लागेको थियो । माया चुपचाप हजुरबाका एकएक शब्दहरुलाई सुन्दै थिइन् । समय धेरै वितिसकेको हुनाले उनी हजुरबालाई धन्यवाद दिएर घर फर्किन् । त्यसपछि मायाले आफ्नो दैनिक जीवन परिवर्तन गर्न थालिन् । उनले पुनः प्रयोग गर्न मिल्ने बोतल प्रयोग गर्न सुरु गरिन् । परिवारलाई पुनः प्रयोग गर्न मिल्ने चिजहरु प्रयोग गर्न लगाइन् । उनले हजुरबाको मदतले एउटा सानो बगैँचा पनि बनाइन् ।
मायाले विद्यालयको वातावरण हरियाली बनाउन विद्यालयमा एउटा प्रस्ताव राखिन् । उनको प्रस्ताव राम्रो लागेर प्रधानाध्यापकले विद्यालयमा ‘इको क्लब’ गठन गरिदिनुभयो । यो क्लबले वातावरणीय सफाई र दिगो परियोजनाहरुको आयोजन गर्यो र विद्यालयमा प्लास्टिकजन्य वस्तु प्रतिबन्ध लगायो साथै विद्यालयको वातावरण पनि हरियाली बनायो ।