Skip to main content

आत्मविश्वास

इशान ढकाल

कक्षा : नौ (गण्डकी)

रमेश एक सानो गाउँको युवक थियो । उसको गाउँमा प्रायः मानिसहरु खेतीपाती गरेर जीविकोपार्जन गर्थे । रमेशलाई भने बाल्यकालदेखि नै फुटबलको मोह थियो । ऊ आफ्ना साथीहरुसँग मिलेर सधैं फुटबल खेल्थ्यो । उनीहरुको खेल मैदान गाउँको एउटा खुला चउर थियो, जहाँ सबैजना एकसाथ भेला हुन्थे र खुब रमाइलो गर्थे ।

रमेशको परिवार गरिब थियो । बाबु आमाले मेहनत गरेर परिवारको खर्च धान्ने काम गर्थे । रमेशले पनि खेतमा काम गर्नुपर्ने हुन्थ्यो तर फुटबलको माया उसलाई कहिल्यै छुटेन । बेलुका सबै काम सकिएपछि रमेश साथीहरुलाई बोलाएर खेल्न जान्थ्यो ।

एकदिन गाउँमा एकजना कोच आए । उनी सहरबाट गाउँका बालबालिकालाई फुटबलको बारेमा सिकाउन आएका थिए । यो कुरा थाहा पाएर रमेश र उसका साथीहरु निकै खुसी भएका थिए । ती कोचले रमेश र उसका साथीहरुलाई एउटा खेलको आयोजना गर्न लगाए ।

रमेश र उसका साथीहरुले गाउँमा एउटा खेलको आयोजना गरे । ती कोच पनि उक्त खेल हेर्न आए । उनी ती खेलाडीहरुको खेल हेरेर धेरै खुसी भए र उनले भने, “तिमीहरु सबैमा धेरै सम्भावना छ । कडा मिहिनेत गर, भविष्यमा राम्रो खेलाडी बन्न सक्छौ ।”

रमेशको मनमा आशा पलायो । उसले कोचको हरेक कुरा ध्यानपूर्वक सुनेर त्यसको पालना गर्न थाल्यो । त्यस दिनबाट बिहानै उठेर दौडिन थाल्यो । दिनभर खेतीमा काम गथ्र्याे र बेलुका फुटबल खेल्न जान्थ्यो । साथीहरु पनि रमेशको जोश देखेर प्रेरित भए ।

एकदिन कोचले घोषणा गरे, “शहरमा ठूलो प्रतियोगिता हुँदैछ । म तिमीहरुलाई त्यहाँ लैजान चाहन्छु । तयारी गर ।”

गाउँमा खुसीको लहर फैलियो । रमेश र उसका साथीहरुले अझ धेरै मिहिनेत गर्न थाले । सबैजना सपनामा तैरिन थाले । प्रतियोगिता नजिकिँदै थियो । प्रतियोगिताको दिन आयो । रमेशको टोली सहर गयो । रमेशले कहिल्यै सहर देखेको थिएन । ठूला भवनहरु, व्यस्त सडकहरु र चम्किला बत्तीहरुले उसलाई अचम्ममा पारे । तर ऊ फुटबल खेल्न आएको थियो । त्यसैले खेलमै ध्यान केन्द्रित गर्यो ।

खेल सुरु भयो । पहिलो खेलमा रमेशको टोलीले राम्रो प्रदर्शन गर्यो । त्यो खेलमा रमेशले उत्कृष्ट गोल गर्यो । दर्शकहरुले ताली बजाए । रमेशलाई खुशी लाग्यो । कोचले पनि प्रशंसा गरे ।

अन्तिम खेल भने निकै कठिन थियो । अर्को टोली निकै बलियो थियो । रमेशको टोलीले पनि हिम्मत हारेन । अन्तिम मिनेटमा स्कोर बराबर थियो । रमेश बल लिएर अगाडि बढ्यो । विपक्षी खेलाडीहरुले उसलाई रोक्न खोजे तर रमेशले चलाखीपूर्वक बललाई गोलपोष्टमा हान्यो ।

गोल! रमेशको टोलीले जित्यो । सबैजना रमेशलाई बधाई दिन आए । कोचले भने, “रमेश, तिमीमा ठूलो प्रतिभा छ । म तिमीलाई सहरको क्लबमा खेल्न मौका दिन्छु ।”

रमेशका आँखा रसाए । उसले आफ्नो सपना पूरा हुने सङ्केत पायो । उसले कोचको प्रस्ताव स्वीकार गर्यो । गाउँ फर्केर रमेशले यो खुशीको खबर सबैलाई सुनायो । बाबु आमाले उसलाई आशीर्वाद दिए । साथीहरुले बधाई दिए । रमेशले अब सहर जाने तयारी गर्न थाल्यो ।

सहरमा पुगेर रमेशले कडा मिहिनेत गरिरह्यो । उसले धेरै नयाँ कुरा सिक्यो । क्लबमा धेरै प्रतियोगिताहरु खेल्यो । उसको खेल हेर्न धेरै दर्शकहरु आउन थाले । रमेशको नाम चारैतिर फैलिन थाल्यो । अन्ततः एकदिन उसलाई राष्ट्रिय टोलीबाट निमन्त्रणा आयो । रमेशलाई नेपाली राष्ट्रिय टोलीमा खेल्न बोलाइयो । यो कुरा सुनेर रमेशको खुशीको सीमा रहेन । उसले आफ्नो देशका लागि खेल्न पाउँदा गर्व महसुस गर्यो ।

रमेशले राष्ट्रिय टोलीका लागि धेरै खेल खेल्यो । उसको प्रदर्शन उत्कृष्ट रह्यो । उसले धेरै पुरस्कारहरु जित्यो । गाउँमा सबैजना उसलाई आदर्श मान्न थाले । रमेशले कहिल्यै आफ्नो गाउँ र साथीहरुलाई भुलेन । ऊ समय समयमा गाउँ आउँथ्यो र साथीहरुलाई फुटबल सिकाउँथ्यो । रमेशको सफलता सबैका लागि प्रेरणा बन्यो । रमेशले मेहनत, धैर्यता र आत्मविश्वासले सफलता पाउन सकिन्छ भन्ने सिकायो । उसले सबैलाई देखेका सपनाहरु पछ्याउन प्रेरित गर्यो । रमेशको कथा एउटा सानो गाउँको युवकको महान् यात्राको कथा बन्यो ।

रमेशले सपना देख्न छोड्नु हुँदैन भन्ने प्रमाणित गर्यो । रमेशको फुटबल यात्रा सधैं प्रेरणादायी रह्यो ।

रमेशको कथाले गाउँमा नयाँ उत्साह र उमङ्ग ल्यायो । उसका साथीहरु पनि फुटबलमा संलग्न भए । गाउँका बालबालिकाहरुले रमेशलाई आदर्श मान्न थाले र फुटबल खेल्न प्रेरित भए । रमेशले गाउँमा फुटबल प्रशिक्षण केन्द्र खोलेर युवाहरुलाई सिकाउन थाल्यो ।

उक्त केन्द्रमा साना बालबालिकाहरुले फुटबलको प्रारम्भिक तालिम लिने मौका पाए । रमेशले गाउँका लागि नियमित प्रतियोगिताहरु आयोजना गर्ने, खेल सामग्रीहरु उपलब्ध गराउने र कोचहरुको व्यवस्थापन गर्ने विशेष योजनाहरु पनि बनायो । रमेशको यो प्रयासले देशले राम्रा खेलाडी पाउन थाल्यो । उसको मिहिनेत लगनको सबैले तारिफ गरे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children