Skip to main content

सहरको रहर

साक्षी भण्डारी

कक्षा : दश (भोटेकोशी)

हिमांशुको घर मोरङको सानो गाउँमा थियो । ऊ आफ्ना आमाबुबा र दुई जना भाइहरुसँग बस्थ्यो । उसका बुबा त्यस गाउँका अध्यक्ष थिए । सानै उमेर देखि ऊ पढाइमा धेरै ध्यान दिन्थ्यो । गाउँको विद्यालयबाट दश कक्षा पास गरेर सहर गई पढ्ने उसको रहर थियो ।

हिमांशुले एस.ई.ई. परीक्षा दियो । उसले आमाबुबासित सहर गएर पढ्ने कुरा गर्न थाल्यो । उसका आमाबुबालाई उसलाई सहर पठाउन मन थिएन । तर हिमांशुले धेरै जिद्दी गरेका कारण उनीहरुले नाइँ भन्न सकेनन् । चैत्रमा हिमांशुको परीक्षा सकियो अनि वैशाख सुरू हुने बित्तिकै उसले सहर जाने कुरा आमाबुबालाई सुनायो ।

हिमांशु सहर जाने भए पछि आमा धेरै चिन्तित हुनुभयो । आमाका आँखा रसाउन थाले । त्यति नै बेला बाबाले भन्नुभयो, “अब मेरो छोरो ठूलो भएछ । मलाई थाहा थियो, तैँले एक दिन गाउँ छाड्ने नै छस् भनेर । त्यसैले मैले तेरो दाइसँग कुरा गरेको छु । तँ त्यही बसेर पढ् । म तँलाई हरेक महिना पैसा पठाइदिन्छु ।”

“आहा ! तपाईंले त मेरो लागि सबै कुराको बन्दवस्त गरिदिनु भएछ । धन्यवाद बाबा ।” यति भनेर हिमांशुले बाबालाई अङ् गालो हाल्यो । यता आमालाई दुःखी देखेर उसले आमालाई पनि अङ्गालो हाल्यो । आमाले पनि छोरालाई रुँदै अङ्गालो हाल्नुभयो ।

हिमांशुले भन्यो, “नरुनु न आमा! म कलेजको पढाइ सकेर घर फर्किहाल्छु नि । झन मेरो कलेजले लामो बिदा पनि दिन्छ । म बिदामा तपाईँहरुलाई भेट्न आइहाल्छु । म घर छोडेर गएको जस्तो नि हुँदैन । दुई दुई जना छोराहरु पनि छन् त । धेरै चिन्ता नगर्नु है ।”

आमाले रुँदै “हुन्छ ।” भन्नुभयो र कोठामा जानुभयो ।

हिमांशुलाई नराम्रो लाग्यो तर पनि ऊ कोठामा गएर सहर जाने तयारी गर्न थाल्यो । अर्को दिन आमाले छोरालाई खानको लागि धेरै कुरा झोलामा हालिदिनुभयो । घर बसाइको अन्तिम दिन भएकाले ऊ आफ्नो साथीभाइहरुसँग गाउँ घुम्न गयो । साँझ घर आएर परिवारसँग समय बितायो । सधैँ एघार बजे सुत्ने हिमांशु आज आठ बजे नै सुत्यो ।

बिहानै चार बजे उठेर हिमांशु सहर जान तयार भयो । बिहान पाँच बजे उसलाई लिन गाडी आयो । आमाले रुँदै छोरालाई बिदाइ गर्नुभयो । बाबा र भाइहरुले पनि आँसु खसाए । ऊ पनि रोयो ।

सहरसम्मको यात्रामा हिमांशु धेरै उत्सुक थियो । बस पार्कमा गाडी रोकियो । हिमांशु र उसको दाइको भेट भयो । उनीहरुले हाँस्दै अङ्गालो हाले र दाइको गाडीमा चढेर घर गए ।

दाइको घर ठूलो थियो । सहरमा बसेको बीस वर्षपछि उहाँले आफ्नै घर बनाउनु भएको थियो । घरमा भाउजू र साना छोराहरुलाई भेट्यो । भाउजूले उसको लागि एउटा कोठा तयार बनाइदिनुभएको थियो । हिमांशुले खुसी हुँदै आमाले पठाएको कोसेली भाउजुलाई दियो ।

दाइले हिमांशुलाई भन्नुभयो, “ल ! आज तँ थाकिस् होला । राति पनि हुन लाग्यो । खाना खाएर सुत् अनि भोलि सबै जना घुम्न जाऔँला ।” हिमांशु खुसी भयो र खाना खाएर सुतिहाल्यो ।

भोलि बिहानै उठेर हिमांशु छतमा गयो । दाइको घरबाट सहरका ठूला ठूला घरहरु देखिन्थे र शिवपूरीको डाँडो पनि देखिन्थ्यो । भाउजू पूजाआजा गरेर खाजा बनाउँदै हुनुहुन्थ्यो । सबै जना सँगै बसेर खाजा खाए र बाहिर जान तयार भए ।

हिमांशु एकदमै उत्सुक थियो । उसको मनमा धेरै कुराहरु खेलिरहेका थिए । घरबाट निस्किने बित्तिकै उसको आँखा चारैतिर दौडिए । उसले गाउँ र सहरमा धेरै भिन्नता पायो । गाडिबाट निस्केपछि हिमांशुलाई धुलाले उकुसमुकुस बनायो । गाउँको सफा हावामा हुर्केको उसले सहरको फोहोर हावालाई सहन सकेन । दाइले दिएको मास्क लगाएर हिँड्यो । उनीहरु मन्दिर गए र खाना पनि बाहिर नै खाए अनि चलचित्र पनि हेर्न गए । घर पर्किदा राती भइसकेको थियो र हिमांशु थाकिसकेको थियो । ऊ विस्तारामा पल्टिने बित्तिकै निदायो ।

एक हप्तासम्म दाइ भाउजूले हिमांशुलाई घुमाए । सहर त स्वर्गजस्तै होला सोचेको थियो तर गाउँजस्तो स्वर्ग कतै पनि रहेनछ भन्ने कुरा उसलाई महसुस भयो तर ऊ गाउँ फर्किन सक्दैनथ्यो । दुई दिन पछि उसको कलेज सुरु हुन्थ्यो । ती दुई दिन उसले तयारीमा बितायो । आफूलाई चाहिने कापी, कलमहरु किन्यो र कपडाहरु पनि तयार गर्यो ।

कलेजको पहिलो दिन सुरु भयो । ऊ खुसी हुँदै कलेज गयो । उसले साथीहरुलाई आफ्नो परिचय दियो तर सबै जना हाँस्न थाले । हिमांशु पनि उनीहरुसँगै हास्यो तर उसलाई थाहा थिएन कि उनीहरु उसलाई नै हेरेर हाँसिरहेका थिए । हिमांशुले साथी बनाउन प्रयास गर्यो तर कोही पनि उसका साथी बनेनन् । ऊ धेरै दुःखी भयो । उसले एक्लै खाना खायो । कलेजको पहिलो दिन सोचेको जस्तो भएन । घर फर्केपछि आफ्नी भाउजूलाई सबै कुरा सुनायो ।

उहाँले हिमांशुलाई भन्नुभयो, “तिमीलाई अरूले जेसुकै भनुन । तिमीलाई के हुन्छ र ? एकअर्काका कुरा त मान्छेले सधैँ काट्ने गर्छन् । उनीहरुको नकरात्मक सोचलाई नसुनेझैँ गरेर आफू अगाडि बढ्नुपर्छ । मैले भनेजस्तो सजिलो नहोला । तर पनि आफूलाई अगाडि बढाऊ र अरूको नराम्रो कुरालाई साथ नदेऊ ।”

हिमांशुले भाउजूको कुरा मनमा खेलाइरहयो । राति सुत्नुभन्दा अघि उसले अरूको कुरा नसुनी आफ्नो मनको कुरा मात्रै सोच्छु भनी बाचा गर्यो ।

दोस्रो दिन पनि हिमांशुलाई देखेर सबै जना हाँसे । तर यसले उसलाई केही फरक परेन । कलेजमा पढाइ गर्न गाहो भए पनि हिमांशुले प्रथम भएर देखायो । पहिलो परीक्षा सकिएपछि केही दिनका लागि कलेज बिदा भयो । बिदामा उसले घर जाने विचार गर्यो।

छोरो आउने सुनेर आमाले धेरै मिठो खाना बनाउनु भएको रहेछ । उनीहरु खाना खाएर कुराकानी गर्न थाले । उसले सहरको बारेमा धेरै कुरा गर्यो । उसले “सहर मैले सोचा सोचे भन्दा कति फरक रहेछ । त्यहाँका मानिसले मलाई गाउँले भनेर हेपे र त्यहाँको हावा त कति फोहोर रहेछ । कहिले घर गएर स्वच्छ हावा अनुभव गर्न पाउँछु भन्ने लागेको थियो । सहर त्यस्तो केही पनि होइन रहेछ । हाम्रो गाउँघर जस्तो रमाइलो ठाउँ कतै पनि छैन । कहिले कलेज सकिन्छ र सधैँको लागि घर फर्किन्छु भन्ने भएको छ,” भन्ने कुरा आमाबुबालाई सुनायो ।

“मैले भनेको नमानेर गइस अनि दुःख भोग्नु पर्यो,” भनेर आमाले भन्नुभयो । छोरो हाँस्यो र भन्यो “के गर्नु आमा । सबै कुरा सोचेको जस्तो हुँदैन रहेछ ।”

यसै गरी कान्छोले सहरमा दुई वर्ष बितायो र फर्किनुभन्दा पहिला भाउजू र दाइलाई धन्यवाद दियो । उसले गाउँ पुग्ने बित्तिकै लामो सास फेर्यो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children