Skip to main content

छाउपडी

सव्या ढुङ्गाना

कक्षा : पाँच (भेरी)

सुदुरपश्चिममा एउटा खलङ्गा नाम गरेको सुन्दर गाउँ थियो । सहरबाट टाढा रहेको त्यस गाउँका रातो र सेतो माटोले पोतिएका साना साना घर र नजिकैको हरियो जङ्गल र कलकल बगिरहेको नदी हेर्दा मन नै लोभिन्थ्यो । गाउँमा धनीमानीका रुपमा मुखिया थिए भने अरु मध्यम वर्गीय र निम्न वर्गीय मानिसहरुको बसोबास थियो ।

सहरबाट टाढा त्यस गाउँमा कुरीति र कुसंस्कारले जरो गाडिरहेको थियो । त्यस गाउँमा मध्यम वर्गीय परिवारमा गीता, उसको भाइ, बुबा र आमा बस्थे । गीता भर्खरै दश वर्ष पुगेकी थिई भने उसको भाइ आठ वर्षको थियो । गीता घरधन्दामा आफ्नी आमालाई सघाउनुको साथै पढ्न पनि जान्थी ।

एक दिन घाँस काटेर घर फर्किने क्रममा उसलाई अचानक ढाड र पेट दुख्यो । उसलाई घर पुग्दा एकदमै गाह्रो भइसकेको थियो । उसले यो कुरा आफ्नो आमालाई भनी । गीताले आफू पहिलो पटक रजस्वला भएको थाहा पाई ।

उसकी आमाले उसलाई घरबाट केही परको गोठमा लगेर राख्नुभयो । गीताको मनमा धेरै प्रश्नहरु आइरहेका थिए । त्यतिकैमा उसकी आमाले उसको लागि चाहिने कपडा ल्याइदिनुभयो र अब तिमी नौ दिनसम्म यही बस्नुपर्छ भन्नुभयो । उसलाई धेरै डर लागेको थियो ।

गीताले आमालाई म यहाँ एक्लै बस्न सक्दिनँ र जङ्गलको नजिकै भएकोले मलाई डर लाग्छ भनेर रोई । आमाले चलिआएको चलन हो, हाम्रो समाजको नियम नै यस्तै छ । मैले पनि पहिलो पटक रजस्वला हुँदा यसरी छुट्टै गोठमा बसेर बारेकी थिएँ, यस्तै गरेर समाजका नियमलाई मान्नैपर्छ, नत्र समाजको नियमको विरुद्ध हुन्छ भन्नुभयो र अब तिमीले बुबा र भाइलाई पनि हेर्नु हुँदैन भन्नुभयो । त्यतिबेला गीतालाई आमाको न्यानो साथ र काखको आवश्यक्ता थियो जुन गीताले पाउन सकिन ।

गीता भक्कानिएर रुन थाली र भन्न थाली, “मलाई हजुरसँगै घरमा लैजानु, मलाई यहाँ एक्लै बस्न डर लाग्छ“ तर उसकी आमाले उसको कुरा सुन्नुभएन र चुपचाप त्यहाँबाट निस्कनुभयो ।

बाटामा एकातिर आफ्नी छोरीप्रतिको माया र अर्कोतिर समाजको नियम । दोधारमा परी अनेक थरी कुराराहरु मनमा खेलाउँदै गीताकी आमा घरमा पुग्नुभयो । आमालाई भेट्नेबित्तिकै गीताको भाइले गीताको बारेमा सोध्यो, “दिदीलाई कता छोडेर आउनुभएको हो मलाई त दिदीसँग खेल्न मन छ ।”

आमाले तिमी सानो छौ तिमीले सबै कुरा बुझ्न सक्दैनौ । दिदी अब नौ दिनसम्म घरमा आउँदिन र विद्यालय पनि जाँदिन भनी सम्झाउनुभयो । आमा र भाइको कुरा हुँदै गर्दा गीताका बुबा पनि घर आइपुग्नुभयो । आमाले सबै कुरा बुबालाई भन्नुभयो । गीताका बुबा अब छोरी नौ दिनसम्म घरदेखि अलग्गै बस्नुपर्ने कुरा सम्झेर सोचमग्न हुनुभयो ।

भोलिपल्ट बिहान स्कुल जाने बेला भइसकेको थियो । गीताकी साथी मिनाले “गीता छिटो आऊ स्कुल जान ढिला भइसक्यो भनेर बोलाउन थाली । मीनाको आवाज सुनेर गीताकी आमाले मीनालाई सबै कुरा भन्नुभयो । मीनाको परिवार अलि शिक्षित र बुझ्ने थिए । मीना गीताभन्दा उमेरमा ठुली थिई । सबै कुरा सुनेर मीनाले गीताकी आमालाई यसरी गीतालाई यस्तो अवस्थामा घरबाट टाढा राख्नु हुँदैन भनेर सम्झाइन् तर गीताकी आमा छोरीको माया लागेपनि समाजको नियम सम्झेर चुपचाप बस्नुभयो ।

आमाले छिटो छिटो खाना तयार गरी छोरीलाई खाना पुर्याउन जानुभयो । दश वर्षकी कलिली गीतालाई रातभरि निद्रा लागेनछ । उनले कमजोर शरीर र मन साथै जङ्गली जनावरका आवाज सुनेर डराउँदै रात बिताइँछिन् । आमाले छोरी खाना लिऊ भन्ने आवाज सुनेपछि उनको आँखाबाट आँसु रोकिएन । उनले आमालाई रातभरिको अनुभव रुँदै बताई । आमा खाना खुवाएर भारी मन लिएर दिउँसोको खाजा लिएर आउने वाचा गर्दै त्यहाँबाट निस्कनुभयो ।

यसरी नै आमाले लगेको खाना र खाजा अलिअलि खाँदै कमजोर शरीर र मन भएपनि बाहिर निक्लने दिन गन्दै उसका दिनहरु बित्दै थिए । बेलाबेलामा विद्यालय छुट्टी भएपछि उसकी साथी मीना पनि उसँग गोठबाहिर बसेर कुराकानी गर्थी । जसले गर्दा, उसलाई केही राहत मिलेको थियो । उता गीताको भाइ दिदीसँग बस्न र खेल्न नपाएर न्यास्रिसकेको थियो ।

एकदिन मीना विद्यालय छुट्टी भएपछि गीतालाई भेट्न गई । उसले गीतालाई बोलाई । जति बोलाएपनि गीताको कुनै जवाफ आएन । ऊ डराएर रुन थाली । हतार हतार गीताकी आमालाई बोलाउन गई । आमा आत्तिएर गोठभित्र छिर्नुभयो । गोठभित्र गीता सर्पको टोकाइले बेहोस भएर लडिरहेकी थिई । हतार हतार आमा र मीना भएर गितालाई स्वास्थ्य चौकी लगे, त्यतिकैमा उसको बुबा पनि आउनुभयो ।

डाक्टरले उपचार सुरु गरे । डाक्टरले तपाईंहरुले बेलैमा यहाँ ल्याउनु भयो । ढिलो भएको भए हामीले उसको ज्यान बचाउन सक्थेनौँ भने । उसलाई बिषालु सर्पले टोकेको थियो । गीताका बुबाआमाले मीनालाई धन्यवाद भन्नुभयो । मीनाले समाजको यस्तो कुरीतिले गर्दा गीताको झन्डै ज्यान गएको र यस्तो कुरीतिको विरोध गर्नुपर्छ र यस्तो कुरीति आजैदेखि हटाउनुपर्छ भनी । उसले कति छोरीहरुको यस्तो प्रथाले गर्दा ज्यान समेत गएको र कत्ति दुःखहरु भोगेको कुरा बताई । यत्तिकैमा डाक्टरले उनीहरुलाई भित्र बोलाए । गीताको होस आइसकेको थियो ।

गीता आफ्नो अगाडि बुबाआमा र साथीलाई देखेर भक्कानिएर रोई । बुबाआमाले गीतासँग माफी माग्नु भयो । गीतालाई बुबाआमाले घर लिएर गए । गीताको भाइ गीतालाई घरमा देखेर खुसी भयो । छाउपडीमा नबसेर गीता घर फर्केको कुरा गाउँभरि फैलियो । गाउँका मुखियाकहाँ पनि त्यो खबर पुग्यो ।

मुखियाले गाउँका ठुलाबडा र गीताको बुबालाई सँगै राखेर त्यस विषयमा छलफल गरे । छाउपडीमा नबसेर गीता घर फर्केको कुराको धेरैले विरोध गरे तर कतिले यस्तो प्रथालाई बिस्तारै हटाउनुपर्छ, किनकि हाम्रा छोरीहरु यस्तो प्रथाले गर्दा पीडित भएका कुरा उठाए तर आफ्नो निर्णयमाथि गीताको बुबालाई भने कुनै पछुतो थिएन । उनी छलफलमा आफ्नो विचार राखेर घर फर्किए ।

गीता आफू ठिक भएपछि विद्यालय जान थाली । स्वास्थ्य सहायक, मीना र गीता मिलेर गाउँमा छाउपडी प्रथाको बारेमा जनचेतना फैलाउन थाले । बिस्तारै गाउँका मानिसका आँखा खुल्न थाले । गाउँमा परिवर्तनका लहरहरु देखिए । केही वर्षमा गाउँबाट छाउपडी प्रथा नै उन्मूलन भयो । सुन्दर गाउँ खलङ्गामा नारीहरुमा छाएको खुसी र उनीहरुको उन्मुक्त हाँसोले झन सुनमा सुगन्ध नै छरियो । अन्य गाउँहरुले पनि उदाहरणको रुपमा यही गाउँलाई लिन थाले ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children