नयाँ सन्देश

सानभी मास्के
मिलन घरको बगैँचामा बसेर पत्रिका पढ्दै थिए । अचानक उनको दिमागमा आफूले भोलि गर्ने कामको योजनाहरु खेल्न थाले । उनी कामको बारेमा सोचिरहेका थिए । अचानक उनको फोनमा घण्टी बज्यो । स्क्रिनमा एक महिलाको नाम देखेर उनले चासोका साथ फोन उठाए ।
फोनमा महिलाले भनिन्, “सडकमा एक बालिका अलपत्र अवस्थामा बसिरहेकी छिन् । लौन, हजुरले केही सहयोग गर्नुपर्यो ।”
यो कुरा सुनेर मिलनको हृदय एकाएक झर्कियो । बालबालिकाको सुरक्षा नै उनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यस्तो कुरा सुनेपछि उनी हतार हतार घटनास्थलतिर गए । घटनास्थलमा पुगेपछि उनले त्यहाँको अवस्था हेरे । उनलाई यो कुरा प्रहरीलाई खबर गर्नुपर्छ भन्ने लाग्यो र प्रहरीलाई घटनाबारे उजुरी दर्ता गरे ।
मिलन साहारा बालगृहका संस्थापक हुन् । जहाँ बुबा–आमा नभएका करिब पचास बालबालिका आश्रय लिएर बसेका थिए । यो बालगृह उनकै मेहेनत र समर्पणले चलिरहेको थियो । उनी कहिल्यै कसैको चन्दा सहयोगको आशा गर्दैनन् । बरु आफ्नो पसिना र परिश्रमले नै ती बालबालिकाको शिक्षा र अन्य आवश्यकताहरु पूरा गर्ने प्रयास गर्थे । मिलनका लागि यी बालबालिकाहरु जीवनका महत्त्वपूर्ण अंश हुन् ।
एक दिन शनिबार मिलन बालबालिकालाई केही नयाँ कुरा सिकाउँदै थिए । बालबालिकाहरु तल्लीन भएर उनको कुरा सुन्दै थिए । त्यसैबेला एक महिला त्यहाँ देखा परिन् । बालबालिका खुसी भए । ती महिलाको नाम प्रतीक्षा थियो । मिलन पनि आफ्नो साथी प्रतीक्षालाई देखेर उत्साहित भए । प्रतीक्षा एक उच्च घरानाकी शिक्षित केटी हुन्, जो अमेरिकाबाट भर्खर नेपाल आएकी थिइन् । उनी मिलनलाई भेट्नका लागि नै भनेर नेपाल आएकी थिइन् । प्रतीक्षाले बालगृहमा बालबालिकाहरुलाई चकलेट र खेलौना बाँडिन् र मिलनसँग कुराकानी गर्न थालिन् ।
त्यस बालगृहमा पवन नाम गरेको बालक थिए । उनी पाँच वर्षका थिए । उनलाई सुर्खेतबाट त्यहाँ ल्याइएको थियो । जब प्रतीक्षाले पवनलाई देखिन्, तब उनलाई पवनको विशेष माया लाग्यो । पवन निरन्तर रोइरहेका थिए । बालगृहमै रहेकी अर्की बालिकाले उनलाई फकाउने निकै प्रयास गर्दै थिइन् । उनलाई चौरमा डुलाउँदै र घुमाउँदै फकाउने प्रयास गरिरहेकी थिइन् । केही गर्दा पनि नमानेपछि प्रतीक्षाले पवनलाई बोकेर डुलाइन् । उनले बोक्ने बित्त्किै पवन चुप लागे ।
मिलन र प्रतीक्षा गफ गरेर बसिरहेका थिए । त्यसै बेला बालगृहका बालक दिक्षित छतबाट खसेको खबर लिएर मिलनको सहयोगी त्यहाँ आइन् । यो कुरा सुनेर मिलन निकै आत्तिए । मिलन र प्रतीक्षा हतारिएर दिक्षितलाई हेर्न गए । दिक्षित, केवल तीन वर्षका थिए । उनी चङ्गा उडाउँदै गर्दा छतबाट खसेर बेहोस भएका रहेछन् । यो घटनाले मिलनलाई निकै चिन्तित बनायो । प्रतीक्षाले दिक्षितलाई उठाएर गाडीमा राखेर अस्पताल लगिन् ।
दिक्षितको टाउकोमा गहिरो चोट लागेको थियो । चिकित्सकले उनलाई तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताए । मिलनलाई निकै छटपटी हुन थाल्यो । दिक्षितको चोटको राम्रो उपचार नभएको खण्डमा उनी अपाङ्ग पनि हुन सक्छन् भनेर डाक्टरले भनेका थिए । बालगृहका अरु बालबालिका सामान्य अवस्थामा छन् । दिक्षितलाई के गर्ने भन्ने सोचमा मिलन छटपटाइरहेका थिए । उमेर बढ्दै गर्दा दिक्षितको भविष्य के होला भन्ने प्रश्नले उनलाई थप तनाब दिएको थियो ।
यसैबिच प्रतीक्षाले मिलनलाई सल्लाह दिए कि उनीहरुले दिक्षितको भविष्यलाई सुरक्षित गर्न विशेष उपचारको व्यवस्था गर्नुपर्छ । मिलनले यस विषयमा गहिरो अध्ययन गरे । उनले चारैतिरबाट सहयोग जुटाएर दिक्षितको उपचारमा कुनै कसर बाँकी राखेनन् तर दिक्षित पूर्णरुपमा ठिक हुन सकेनन् । उनको शरीरको देब्रे पाटो राम्रोसँग चल्न सकेन । यो देखेर मिलन निकै दुःखी भए । उनले विशेष क्षमता भएका बालबालिकाको हितमा पनि काम गर्ने योजना बनाउन थाले ।
एक दिन मिलन लम्जुङको विचौरमा पुगे । त्यहाँ बिन्दु नामकी सत्ताइस वर्षकी महिला थिइन् । जसलाई बौद्धिक अपाङ्गता भएको कारण समाजले तिरस्कृत गरेको थियो । बिन्दुको दुर्दशा देखेर मिलन चकित भए । उनको यस्तो अवस्थाको फाइदा उठाएर समाजका केही व्यक्तिहरुले उनको शारीरिक शोषण गरेका थिए । बिन्दु गर्भवती पनि भएकी थिइन् । समाजले भने उनैलाई गलत नजरले हेर्दै थियो । यो घटनाले मिलनको मनमा चोट पुर्यायो । उनले आवाज उठाएर यो विषयमा समाजमा जागरुकता ल्याउने प्रयास गरे । उनले दाषीमाथि कडा कारबाही होस् भनेर पुलिसथानामा गएर उजुरी हाले ।
यद्यपि यो कदमले उनको जीवनमा समस्या निम्त्यायो । त्यस गाउँका ठुला भनाउँदा मानिसहरुलाई त्यो अनाथ महिलालाई सहयोग गरेको मन परेको थिएन । उनीहरुले षडयन्त्र गरेर मिलनलाई नै दोषी ठहराए । उनले बिनाकारण प्रहरीको निगरानीमा रहनु प¥यो । मिलन यो सबै घटनाबाट मानसिक रुपमा थकित भए । दश रात जेलमा बिताएपछि उनलाई निर्दोष ठहर गरियो ।
जेलबाट बाहिर निस्केपछि मिलनले आफूलाई पुनः समेट्नको लागि हिम्मत जुटाउन थाले । उनले बालगृह र तालिम केन्द्रको अवस्था सुधार्नका लागि नयाँ योजनाहरु बनाउन थाले । विशेष तालिमका माध्यमबाट मिलनले अपाङ्गता भएका बच्चाहरुलाई जीवनमा सँगै चल्न र सङ्घर्ष गर्नका लागि आवश्यक कौशल प्रदान गर्ने प्रयास गरे । संगिता नामकी एक बौद्धिक अपाङ्ग भएकी बालिकाले उनकै तालिमकेन्द्रबाट सिप सिकेर क्रिकेटमा उत्कृष्टता हासिल गरिन् ।
मिलनको दृढता र सङ्घर्षका कारण संगिता मात्र होइन अन्य बालबालिका पनि विभिन्न क्षेत्रमा सफलता हासिल गर्न सफल भए । अर्पण, ईश्वर र हरि जस्ता बालबालिकाहरु पनि चित्रकारी र अन्य गतिविधिहरुमा उत्कृष्टता हासिल गर्न सफल भए । यी सबैको सफलताले मिलनलाई अझ अगाडि बढ्न प्ररणा दियो ।
एक दिन मिलन नेपाल टेलिभिजनमा समाचार हेर्दै थिए । अचानक एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई “हिरो अफ दि इयर“ घोषणा गरेको कुरा सुने । यो पुरस्कार पाउँदा उनको आँखाबाट खुशीका आँसु झर्न थाले । यो पुरस्कार पाएपछि उनले आफ्नो कर्मको राम्रो कदर भएको महसुस गरे । यो पुरस्कार पाइरहँदा उनले समाजमा अपाङ्गता भएका व्यक्तिहरुको लागि समान अवसरको सृजना गर्ने प्रेरणा पनि पाइरहे ।
मिलनको सङ्घर्ष र दृढता समाजका लागि एक उदाहरण बनेर रह्यो । उनले प्रमाणित गरे कि मानिसलाई क्षमता र इच्छा अनुसारको काम दिने हो भने उनीहरु आत्मनिर्भर हुन्छन् । मिलनको यो यात्रा जसले जीवनको कठिनाइहरु र चुनौतीहरुको सामना गर्दै पनि आशा र सङ्घर्षको सन्देश फैलायो । यस प्रकार मिलन र उनका बालबालिकाहरुको सङ्घर्षले एक नयाँ सन्देश र आशा ल्यायो ।