त्याग

उज्वल भक्त श्रेष्ठ
आमा एक महान् नारी हुन् । जुन कुरा संसारका सबै मानिसलाई थाहा भएको कुरा हो । आज म एउटा आमाको कथा सुनाउँछु जसले आफ्नो जीवनमा धेरै कठिनाइ र सङ्घर्षहरु झेलेर पनि परिवारको लागि ठुलो बलिदान दिइन् र आफ्ना छोराछोरीलाई उचित शिक्षा र स्वास्थ्यको महत्त्व सिकाइन् ।
मेरो घरसँगैको छिमेकमा एउटी आमा थिइन् । उनको नाम शारदादेवी थियो । ती आमा अशिक्षित थिइन् । तर जीवनका हरेक क्षेत्रमा उनी अब्बल र संस्कारी नारी थिइन् । शारदादेवी नुवाकोट जिल्लाको रानीपौवामा जन्मिएकी थिइन् । उनी एक व्यापारी परिवारमा जन्मिएकीले बाल्यकाल देखि नै चतुर थिइन् । उनी तामाङ, नेपाली र नेवारी भाषा राम्रोसँग बुझ्थिन् । शारदादेवीको यही भाषा सम्बन्धी ज्ञान र व्यापार गर्ने सीपले उनलाई समाजमा सम्मानजनक स्थान दिलायो ।
शारदा देवीको विवाह काठमाडौँको कीर्तिपुर क्षेत्रमा भएको थियो । त्यहाँ उनका श्रीमान एक सामान्य व्यापारी थिए । विवाहपछि शारदा देवीले आफ्नो परिवारको आर्थिक प्रगति र विकासको लागि निरन्तर मिहिनेत गर्न थालिन् । उनले छोराछोरीको उज्वल भविष्यको लागि जीवनभर धेरै सङ्घर्ष गरिन् ।
शारदादेवीका दुई छोरा र दुई छोरी थिए । उनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरुको शिक्षा र उज्वल भविष्य थियो । उनले सधैँ आफ्ना छोराछोरीहरुलाई भनिरहन्थिन्, “नपढे जिन्दगी कालो अक्षर भैँसी बराबर हुन्छ । शिक्षा नै जीवनको सबैभन्दा ठूलो धन हो ।”
उनले आफ्ना छोराछोरीलाई एम.ए सम्मको शिक्षा दिलाउनका लागि आफ्नो जीवनको धेरै मूल्यवान समय र श्रम खर्च गरिन् । उनी कहिल्यै हार नमान्ने आमा थिइन् । उनी हरेक काममा लगनशील थिइन् । उनले आफ्ना सन्तानलाई जीवनका कठिनाइ र बाधाहरुको सामना गर्ने तरिका सिकाउँदै सङ्घर्षको महत्व पनि बुझाउँथिन् ।
शारदा देवीको व्यापार गर्ने तरिका उत्कृष्ट थियो । उनले आफ्नो परिवारका लागि सधैँ नयाँ अवसरहरुको खोजी गरिरहन्थिन् । उनलाई विभिन्न प्रकारका काममा हात हाल्न मन थियो । उनी जब कुनै नयाँ सामान किनमेल गर्न जान्थिन्, त्यतिबेला उनको परिपक्कता र बाठोपनले सबैलाई अचम्मित पाथ्र्यो । चाहे त्यो नेवार समुदायसँगको व्यापार होस् वा तामाङ समुदायसँगको शारदा देवीलाई कसैले झुक्याउन सक्दैनथे । उनले केही सामाग्री किन्दा वा विक्री गर्दा निकै सोचविचार गरेर मात्र गर्थिन् । सबैले उनलाई माया र सम्मान गर्थे ।
शारदादेवीका लागि जीवन कहिल्यै सजिलो थिएन । सङ्घर्ष र मिहिनेत उनका साथी थिए । तर उनले सधैंँ भन्ने गर्थिन, “आफ्नो सीपलाई चिनेर अगाडि बढ्नुपर्छ । भगवानले सबैलाई केही न केही सीप सिकाएर धर्तीमा पठाएका हुन्छन ।”
यही विश्वासका साथ उनले आफ्नो परिवारको पालनपोषण गरिन् र आफ्नो छोराछोरीलाई उच्च शिक्षा दिलाउन कुनै कसर बाँकी राखिनन् ।
जीवन आपूmले सोचे जस्तो हुँदैन । एकदिन साँझको समयमा खाना खाएपछि शारदा देवी अचानक बिरामी भइन् । उनी शौचालय जान लाग्दा टाउको भारी भयो र बेहोस भइन् । उनलाई द्धट इम्पेरियल वल्र्ड स्कुल तुरुन्त अस्पताल लगियो । डाक्टरहरुले ब्रेन हेमरेज भएको कुरा पत्ता लगाए । यस घटनाले सबैलाई दुःखी बनायो ।
उनको परिवारका सदस्य र सम्पूर्ण छिमेकमा यो खबर फैलियो । शारदादेवीको स्वास्थ्य दिनप्रतिदिन बिग्रिँदै गयो । उनको शरीरको एक भाग चल्न सकेन । उनी प्यारालाइज भएकी थिइन् तर शारदा देवीको आत्मविश्वासमा कहिल्यै कमी भएन । उनले चिकित्सकको मार्गदर्शनअनुसार थेरापी र उपचार जारी राखिन् ।
समयसँगै उनको अवस्था राम्रो हुँदै गयो । उनका हात र खुट्टा बिस्तारै चल्न थालेका थिए । उनी सधैँ भन्थिन्, “मैले दोस्रो जीवन पाएकी छु । अब मेरो जिम्मेवारी अझै धेरै छ ।”
उनको सङ्घर्ष र परिश्रमको परिणामस्वरुप एक वर्षको अवधिमा उनले पुनः केही हदसम्म आफ्नो शारीरिक अवस्थामा सुधार ल्याइन् । उनलाई थाहा थियो कि स्वास्थ्य र शिक्षा नै जीवनका सबैभन्दा मूल्यवान् चिज हुन् । शारदा देवीका लागि अब उनको स्वास्थ्य सबैभन्दा महत्तवपूर्ण कुरा बनिसकेको थियो । शारदा देवी सधैँ आफ्ना सन्तानलाई सन्देश दिन्थिन्, “शिक्षा र स्वास्थ्य नै जीवनका सबैभन्दा ठूलो सम्पत्ति हुन् ।” उनलाई थाहा थियो कि यदि शारीरिक र मानसिक स्वास्थ्य राम्रो छ भने मात्र एउटा व्यक्तिले जीवनका सबै समस्या पार गर्न सक्षम हुन्छ ।
उनका छोराछोरीले उनलाई सधैँ मदत गरे । सधैँ आमाको माया गरेर ख्याल राखे । शारदादेवीका लागि परिवारको माया र साथ नै सबैभन्दा ठूलो शक्ति थियो । उनले आफ्नो अन्तिम दिनसम्म भनिरहन्थिन्, “मैले जीवनमा धेरै सङ्घर्ष गरेको छु, तर म अहिले खुसी छु कि मैले आफ्नो सन्तानलाई राम्रो शिक्षा, स्वास्थ र जीवनभर असल संस्कार दिने अवसर पाएँ ।”
शारदा देवी एकहत्तर वर्षको उमेरमा यस संसारबाट बिदा भइन् । उनको जीवनका सङ्घर्ष र सफलतालाई आज पनि उनका छोराछोरी र समाजका सबै सदस्यले सम्मानपूर्वक सम्झन्छन् ।