परिवर्तन

एन्जेला विष्ट
अछाम जिल्लाको एउटा सानो गाउँमा एउटा परिवार बस्थ्यो । त्यो परिवारमा चारजना सदस्यहरु बुबा, आमा, हजुरआमा र शान्ता नाम गरेकी बालिका थिए । शान्ता यो परिवारकी एकमात्र छोरी थिइन् । शान्ता परिवारको मायालु वातावरणमा हुर्कँदै थिइन् । आउँदो माघमा उनी तेह्र वर्ष पूरा भएर चौध वर्षमा लाग्दै थिइन् । उनको शरीरमा बिस्तारै परिवर्तन आउँदै थियो ।
समयसँगै एकदिन अचानक उनले आफ्नो लुगामा रगतको टाटो देखिन् । उनले आफ्नो पहिलो महिनावारी सुरु भएको महसुस गरिन् । शान्तालाई यो कुरा सबैलाई भन्न लाज र डर लाग्यो । उनी एक्कासी चिच्याएर, “आमा, आमा!“ भन्दै रुन थालिन् ।
आत्तिएकी आमा छोरीको नजिक दौडेर आउनुभयो र “के भयो छोरी ? किन रोएकी ?” शान्ताले डर र लाज भरिएको अनुहार लगाउँदै भनिन्, “आमा, मेरो महिनावारी भयो जस्तो छ, अब के गर्ने होला ?” यति भनेर उनी झन् ठुलो स्वरमा रुन थालिन् । आमाले शान्तालाई सम्झाउँदै भन्नुभयो, “यो त सामान्य कुरा हो नि छोरी । सबै महिलामा महिनावारी हुने गर्छ । यसमा डराउनु पर्दैन ।”
त्यत्तिकैमा शान्ताकी हजुरआमा पनि आइपुग्नुभयो । हजुरआमा शान्ताको रुवाइ देखेर नातिनीलाई के भयो भनेर आत्तिनुभएको थियो । शान्ता महिनावारी भएको कुरा सुनेपछि उहाँले शान्तालाई एकदमै कडा स्वरमा भन्नुभयो, “अब तिमीले घरका कुनै सदस्यलाई छुनुहुन्न, मन्दिरका पूजा सामग्री पनि छुनुहुन्न है । अब तिमीले छाउ गोठमा जानुपर्छ । एघार दिनसम्म त्यहीँ बस्नुपर्छ ।” शान्ता हजुरआमाका ती कठोर बचनहरु सुनेर डराइरहेकी थिइन् अनि उनी झन् रुन थालिन् ।
आमाले भने हजुरआमालाई सम्झाउनुभयो “आमा यी सबै धेरै पहिलेका कुराहरु हुन् । त्यही पनि हामी मानिसले यसलाई मान्दै आएका हौँ । यस्ता कुराहरु कुनै ग्रन्थमा लेखिएका छैनन् । त्यसैले हामीले यस्ता अन्धविश्वासका कुराहरु छोड्दै जानुपर्छ । यसले हाम्रो संस्कृतिलाई संस्कृति नै धमिल्याउँछन् भने यस्ता नियम मान्न आवश्यक छैन ।”
हजुरआमाले भन्नुभयो, “तिमीलाई थाहा छैन । यो हाम्रो परम्परा हो । हाम्रो भगवानले भनेको नियम हो । हामीले यसलाई पालना नगरे देवता रिसाउँछन् र हामीलाई नराम्रो हुन्छ ।
”आमा पनि हजुरआमाको कडा भनाइसँग केही गर्न सक्नुहुन्नथ्यो । मनमा भारी महसुस गर्दै शान्तालाई छाउ गोठ पठाउन तयार हुनुभयो । शान्तालाई घरबाट अलि पर बनाइएको छाउगोठको एक सानो अँध्यारो कोठामा लगेर राख्नुभयो र आफू निकै दुःखी हुँदै एक्लै घर फर्किनुभयो । त्यो कोठा निकै अन्धकार र डरलाग्दो थियो । शान्ताले त्यो कालो अँध्यारो कोठामा समय बिताउनु परेको थियो । शान्तालाई त्यहाँ बस्न निकै डर लागिरहेको थियो ।
हजुरआमा भने शान्तालाई एघार दिनसम्म त्यही कोठामा राख्नुपर्ने भनेर अडिग हुनुहुन्थ्यो । शान्ताले छाउ गोठमा कसरी दिन रात कटाइन् होला भन्ने कुरा आमाबाहेक कसैले पनि बुझ्न सकेनन् । हजुरआमाको कडाइ र सामाजिक कुरीतिका कारण शान्ता त्यस्तो मानसिक र शारीरिक पीडामा परिन् । यो घटना अब उनको जीवनमा निकै गहिरो सम्झनाको रुपमा बस्यो । एघार दिनपछि मात्र हजुरआमाले शान्तालाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।
शान्ताले सँगै बसेकी आमा र अन्य परिवारका सदस्यहरुसँग यो कुरीति र परम्पराको बारेमा खोल्दै कुरा गरिन् । समयसँगै शान्ताले यो कुरा बुझ्न थालिन् कि यो एउटा प्राकृतिक जीवन चक्र हो । यो हरेक महिलाहरुको जीवनमा हुनैपर्ने कुरा थियो । तर अझै पनि यसको कारण महिलालाई कति मानसिक यातना र पीडा सहनु पर्छ भन्ने कुरा उनले निकै गहिरो रुपमा महसुस गरिन् ।
शान्ताले आफ्नी हजुरआमाको मन परिवर्तन गराउन निरन्तर कोसिस गर्दै थिइन् । उनले हजुरआमासँग भनिन्, “हजुरआमा यदि म त्यो छाउगोठमा बसेको बेला सर्पले मलाई टोकेको भए के हुन्थ्यो होला ? हजुरलाई मेरो माया लाग्दैन ? यदि म मरेको भए भगवानले मलाई बचाउनुहुन्थ्यो र ? माथिल्लो घरकी दिदी पनि छाउगोठमा बस्दा सर्पले डसेर मरेकी हैनन् र ?“ शान्ताको कुरा सुनेर हजुरआमा अलि अलमलमा पर्नुभयो । आफ्नी सानी नातिनीको कुरा सुनेर हजुरआमा अचम्ममा पर्नुभयो र सोच्न थाल्नुभयो ।
त्यसपछि, शान्ताले अगाडि थप्दै भनिन्, “आजभोलि त यस्तो कुराहरुलाई समाज र कानुनी दृष्टिकोणले अपराध मान्ने गरिएको छ । शान्ताका यस्ता गहिरो कुराहरुले हजुरआमाको मनमा गहिरो असर पुर्यायो । हजुरआमालाई पनि यो कुरा हो कि जस्तो लाग्यो ।
अर्काे पटक फेरी शान्ताको महिनावारी भयो । यो बेलामा भने हजुरआमाले धेरै कडा गर्नुभएन । अब छाउ गोठ नगइकन घरभित्रै अलग्गै बस भन्नुभयो । हजुरआमामा आएको परिवर्तन देखेर शान्ता भित्र भित्रै खुसी हुँदै थिइन् ।
यसरी समय बित्दै गयो तर शान्ताले हनुरआमालाई सम्झाउन भने छाडिनन् । आमाले पनि शान्ताको कुरामा सही थाप्दै छड इम्पेरियल वल्र्ड स्कुल भन्नुभयो, “साँचो कुरा भनेको त यो प्राकृतिक चक्र हो र यसलाई हामीले अपनाउनु पर्छ । कुनै देवी देवतासँग यसको सम्बन्ध छैन ।”
शान्ताले यो कुरीतिको विरुद्ध एक दृढ अठोट लिएर आफ्नो परिवारलाई यसबारे साँचो ज्ञान दिन थालिन् । उनले भनिन्, “अबदेखि कुनै महिलाले महिनावारी भएको बेला छाउ गोठमा जानु पर्ने आवश्यकता छैन । यो त एक सामान्य कुरा हो र यसमा केही नराम्रो छैन ।” म घरमा बस्दा र गोठमा एक्लै बस्दामा के नै फरक भयो र ? देउता रिसाउनुभयो र ? यस्तै यस्तै कुरा गर्दै उनले सम्झाउने प्रयास गरिरहिन् । शान्ता खुसी थिइन् कि अब उनको परिवार विशेष गरेर हजुरआमाले पनि यस कुरालाई बुझ्न थाल्नुभयो ।
हजुरआमाले अब भने नातिनीको हरेक कुराहरु मान्न थाल्नुभयो । महिनावारी भएन भने सन्तान अगाडि बढाउन पनि सम्भव नहुने रहेछ भन्ने कुरा पनि हजुरआमालाई बुझाउन सकेकोमा शान्ता निकै खुसी हुन थालिन् । उनी अब समाजमा पनि सामाजिक कुरीति विरुद्ध आफ्ना विचारहरु फैलाउन थालेकी थिइन् ।
शान्ताले देखाएको साहस र ज्ञानले धेरैलाई जागरुक गर्यो । यसले उनको गाउँमा कुरीतिहरु विरुद्ध एक भएर लाग्नुपर्छ भन्ने कुरामा परिवर्तन गर्यो । शान्ता खुशी थिइन् कि उनले आफ्नो परिवारको मन परिवर्तन गर्न सफल भइन् । कुरीतिको विरोध गर्ने एउटा सानो कदम उठाइन् । यस घटनाले शान्ताको जीवनमा एउटा ठुलो परिवर्तन ल्यायो । हजुरआमाले पनि यो साँचो कुरामा विश्वास गर्दै आफ्नो पुरानो धारणाबाट मुक्त भएर नयाँ सोच र नयाँ दृष्टिकोणको साथ आफ्नो परिवारको जीवनमा सामूहिक परिवर्तन ल्याउन योगदान दिनुभयो।